प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढतापूर्वक उभिन्छः अर्थमन्त्री शर्मा

फाइल फोटो।

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध रहेको बताएका छन्।

सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो। सो कार्याक्रममा बोल्दै उनले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताएका हुन्।

सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उनले स्पष्ट पारे। नागरिक अधिकारका लागि पनि सरकार प्रतिवद्ध रहेको उनले बताए।

उनले भने, ‘कुनै दलीय प्रतिस्पर्धा वा दलीय स्वार्थमा नभएर राष्ट्रिय स्वार्थमा एकतावद्ध हुनुको विकल्प छैन। सहकार्यको विकल्प छैन। र संविधानले निर्दिष्ट गरे अनुसारको समाजवादउन्मूख अर्थतन्त्र भनेको छ, त्यसमा केन्द्रीत भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा हामी सबैलाई महशुस भएको कुरा हो। त्यो आधारमा आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ। उभिनेछ। सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहन्छु।’

अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफूले अध्ययन गरिरहेको बताए। सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उनले स्पष्ट पारे।

कोभिड–१९ महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफू जानकार रहेको भन्दै अर्थमन्त्री शर्माले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले के गर्नुपर्छ सल्लाह, सुझाव दिन आग्रह गरे। सरोकारवालाहरुसँग छलफल गर्दै र सल्लाह, सुझाव लिँदै सरकारले ल्याउन लागेको राहत प्याकेजमा समेटिने उनले बताए।

साउन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्