प्रविधि, शिक्षा र बालमनोविज्ञान

बच्चाहरुलाई डिजिटल डिभाइसको लत लगाएर हामी के गरिरहेका छौँ? (भिडियाेसहित)

कोभिड–१९ महामारीले प्रभाव पारेको धेरै पक्षमध्ये शिक्षा क्षेत्र पनि एक हो। संक्रमण जोखिमले विद्यालय बन्द हुँदा विद्यार्थीहरु सिकाइका लागि मोबाइल, ट्याब अनि कम्प्युटरको डेक्सटप र ल्यापटप स्क्रिनमा सीमित भएका छन्।

विभिन्न अनुसन्धानले बालबालिकाको उमेर अनुसार स्क्रिनको समय १ देखि ४ घण्टा तोकिदिएको भए पनि दिनभरिको अनलाइन कक्षाले उक्त मापदण्डलाई मान्न सक्दैन।

डिजिटल डिभाइससँग निरन्तर संगतले बालबालिकाको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ र यसको दीर्घकालीन असरहरु के के हुन सक्छ भन्ने बारेमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिल देव उपाध्यायसँग कुराकानी गरेका छौँ ।

१) बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य भन्नाले के बुझिन्छ?

बच्चा जन्मदा उनीहरुको मस्तिष्क सिक्ने अवस्थामा हुन्छ । मानव मस्तिष्कमा नसा कोष (न्यूरोन्स) हरुलाई जोड्ने डेनड्राइर्स हुन्छ। बच्चाहरुले जति सिक्दै जान्छन् न्यूरोन्स र डेनड्राइर्स बढ्दै जान्छ।

बच्चाहरुले जन्मेको बेलादेखि पहिलो ७ वर्षभित्रमा धेरै कुराहरु सिक्छन्। सिक्ने क्रमको बारेमा कुरा गर्दा बच्चाले सबैभन्दा धेरै सिक्ने उसको आमाबाट हो। त्यसपछि परिवारका अरु सदस्य अनि उसले खेल्ने साथीहरु हुन्छन्। उसको सिकाईमा वरपरको वातावरण प्रमुख तत्व मानिन्छ।

बच्चाहरुलाई यसो गर उसो गर भनेर सिकाए सिक्छ भन्ने ठान्छौँ, तर वास्तवमा बच्चाको मनस्थितिले अरुले जे गरिरहेको छ, त्यसलाई देखेर राम्ररी र चाँडै टिप्छ, अनुभव गरेर बढि सिक्छ। जस्तो आगोले पोल्छ भन्ने कुरा आगोले छोएसी जान्छ, हिँड्दा लड्छ भन्ने कुरा २–४ पल्ट लडेपछि थाहा पाउँछ, दुख्ने रहेछ भनेर।

त्यसैले बच्चाको मनोवैज्ञानिक स्वास्थ्य उसको वरपर रहने व्यक्तिहरुको व्यवहारमा भर पर्छ। बच्चालाई माया गरेर हुर्काएको छ भने उ मायालु हुन्छ तर उसलाई गाली गरेर, हप्काएर, कुटपिट गरेर हुर्काइन्छ, रोएको मतलब गरिन्न, भोकाएकोमा खाना दिइन्न भने उसलाई नराम्रो प्रभाव पर्छ।

२) भनेपछि यो हामीले गर्ने व्यवहारसँग सम्बन्धित हुन्छ हैन त ?

हो, बच्चाको जीवनशैली भन्दा पनि हाम्रो जीवनशैलिसँग सम्बन्धित हुन्छ। बाबुआमाको जीवनशैली कस्तो छ ? माया गर्छन् की गर्दैनन् ? पिट्छन् कि पिट्दैनन् ? खाना कस्तो खान दिन्छन्, कत्तिको समय दिएर बच्चाको कुरा सुन्छन् र खेल्छन् भन्ने कुराले प्रभाव पारिरहेको हुन्छ।

पहिला पहिलाको चलनमा संयुक्त परिवार हुन्थ्यो। बच्चा हजुरबा हजुरआमा, परिवारका अन्य सदस्यसँग हुन्थ्यो, जसले गर्दा बच्चा बढि रमाउथ्यो। तर हिजोआज परिवारको अवधारणा फरक हुँदै आएको छ। एकल परिवार हुन्छन्। बाबा आमा त्यो पनि दुवै जना काम गर्न जाने, ३ वर्षको हुने बित्तिकै नर्सरीमा लगेर भर्ना गरिन्छ।

यसका केही सकारात्मक पक्षहरु पनि छन्, जस्तो बच्चाले अरु केटाकेटीहरुसँग खेल्न पाउँछ। नयाँ कुरा सिक्न पाउँछ। तर केही भने मेरा बाबुआमाले मलाई छोडेर कहाँ गए, किन ढिला आए। अरु घर गइसके म किन अहिलेसम्म यहाँ छु भनेर आत्तिन थाल्छन्। यसले उसलाई नकारात्मक प्रभाव पर्न सक्छ।

३) नकारात्मक प्रभाव भन्नाले?

जीवनशैली फेरिनु सामान्य नियम हो तर यसले बालबालिकाको हुकाईमा कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरा अभिभावकले विचार गर्नुपर्छ। जस्तो हिजोआज बच्चा भुलाउन मोबाइल दिने चलन छ। हुन त आमालाई घरको काम गर्नुपर्ने हुन्छ।

बच्चाले मोबाइल चलाउन जान्यो, लक खोल्यो अथवा अरु केही ग¥यो भने चलाउन जान्यो भनेर धेरै नै खुशी हुने गर्छौँ हामी। त्यो आफ्नो ठाउँमा छ तर मोबाइलको नकारात्मक प्रभावलाई हामी नजरअन्जाद गरिदिन्छौँ।

मोबाइलको रेडियसन, अनि स्क्रिनमा धेरै हेर्दा आँखामा पर्न जाने समस्या, मोबाइलमा धेरै ध्यान दिँदा प्राकृतिक रुपमा सिक्नु पर्ने कुरालाई बेवास्ता गर्ने गुणहरुको विकास हुन्छ। यसो हुँदै जाँदा बच्चाहरु मोबाइलमा मात्रै भुल्ने, दोहोरो संवाद नगर्ने, अरुसँग नखेल्ने हुन्छन्।

चिकित्सकीय भाषामा ‘एटेन्सन प्रब्लम’ भन्छन्। अर्थात यस्तो अवस्थामा बच्चाले चाहेर पनि ‘फोकस’ गर्न सक्दैन।

अनि मोबाइलमा रमाउने बानी भएपछि उसलाई कसैले मोबाइल चलाउँदा चलाउँदै बोलाए पनि रिसाउने झर्को मान्ने हुन्छ। यसरी हुर्केका बच्चा परिवारका सदस्यसँग रमाउने, कुराकानी गर्ने खालको हुँदैनन् । बच्चालाई माटो, पानीसँग खेल भन्दा पनि मन पराउँदैनन्। विशेषगरि शहरी क्षेत्रमा यस्तो खालको समस्या देखिएको छ।

एक्लै रमाउने गर्दा सानो बेलामा आमालाई काम गर्न सजिलो होला तर त्यसले दीर्घकालीन रुपमा के असर पारिरहेको हुन्छ भन्ने कुरा अभिभावकले त्यतिबेला अनुमान गर्न सक्दैनन्। पहिलाको खेलौना आफ्नै किसिमका हुन्थे तर निश्चित खेलौना भएकै कारण बाँडेर खेल्ने गर्थे अहिले खेल्ने तरिका फरक भएको छ।

पहिलाको खेलाई जहाँ घाँसमा खेल्न पाइन्थ्यो, माटोमा लडिबुडि गर्न मिल्थ्यो। शरीरमा माटो लागेर खासै असर गर्दैैन, माटो पखाल्यो भने गईहाल्छ। हिँड्दा लड्यो भने आफै उठ्न दिनुपर्छ भनिन्छ ताकि लडेर उठ्न सकिन्छ भन्ने विश्वास उसमा विकास हुन्छ। तर यसमा बालबालिकालाई लड्यो भनेर ‘कठै !’ भन्दै कोही उठाउन जान्छ भने उसले आफै उठ्ने आँट गर्दैन। त्यसैले बालबालिकाको मनोवैज्ञानिक विकासमा हामीले कस्तो खालको व्यवहार गरिरहेका छौँ भन्ने कुरा सम्बन्धित रहन्छ।

जस्तै कुनै काम नगराउनको लागि बच्चाहरुलाई गाली गर्ने अथवा भूत आएर लैजान्छ भन्नु गलत हुन्छ । किनकी त्यसले बच्चाको दिमागमा एक किसिमको डर पैदा गरिदिन्छ। किनकी उसलाई भूत कस्तो हुन्छ भन्ने पनि थाहा हुँदैन। कहाँ लैजान्छ भन्ने पनि थाहा हुँदैन।

४) तपाईँले सानै उमेरमा मोबाइल लगायत स्क्रिनसँग परिचित गराउँदा एकोहोरो हुने, नबोल्ने व्यवहार हुन्छ भन्नुभयो। अनि यसको दूरगामी असर चाँही के हुन्छ होला ?

अलिअलि जान्ने भएपछि अथवा ठूलो भएपछि बच्चामा इन्टरनेट एडिक्सन देखिएको छ। यो वयश्कहरुमा पनि देखिएको छ। अर्को, कम्प्यूटर गेममा व्यस्त हुने र यस्ता गेममा बदमासहरुबाट उम्कने, उनीहरुलाई मार्ने गरिन्छ। ८ देखि १२ वर्ष सम्मका बच्चाहरु पपजी खेलिरहेका छन्। जसले बच्चाको दिमागमा ‘हिंसा’ गर्ने प्रवृति विकास गरिहेको छ। यसले मस्तिष्कलाई अशान्त पारिदिन्छ।

५) शारीरिक खेलकुद चाहिँ पूर्ण सुरक्षित हुन्छ त ?

केही खेलहरु बाहेक अरुमा ‘एग्रेशन’ कम हुन्छ, तर यो शारीरिक रुपमा फाइदाजनक हुन्छ। फुटबल खेलमा एग्रेशन हुन्छ तर शरीरको शक्ति बढि खर्च हुने गर्छ। शरीर बलियो हन्छ, रेफ्रिले हेरिरहेको हुन्छ गर्न नहुने काम गरेमा सजाय दिइन्छ। तर इन्टरनेटमा हुने खेलहरुमा यो कुरा संम्भव छैन। त्यहाँ नियन्त्रण गर्ने कोही हुँदैन।

त्यसैले दिमागमा क्रोध जम्मा भईरहेको हुन्छ। कम्प्यूटर गेमको कुरा केटा बच्चामा बढि लागु हुन्छ।

९ देखि १० वर्ष भएपछि धेरैजसो बालिकाहरु फेसबुक र टिकटक चलाउने, आफूलाई राम्रो देखाउन प्रयास गर्ने, फेसबुक र टिकटकमा कतिले लाइक गरेका छन् भनेर हेर्ने, प्रशंसा के छ भनेर ध्यान दिने गर्छन्। सामाजिक सञ्जालप्रतिको आकर्षणले धेरै समय त्यसमा मानिसलाई व्यस्त बनाइरहेको हुन्छ।

त्यो भन्दा जटिल समस्या भनेको किशोर अवस्थामा पुगेपछि अश्लिल भिडियोसम्म पुग्न सक्छन्। मोबाइल प्रयोगकर्ताको उमेर कति हो भन्ने मोबाइललाई थाहा हुँदैन। सानैबाट मोबाइलमा अभ्यस्त बाबालिकाले आफ्नो पहुँच कसरी पुर्‍याउने जानेका हुन्छन् ।

यसप्रकारका सामग्री हेर्न थालेपछि, मोबाइलमा गेम खेल्न थालेपछि रातको धेरै समय बच्चा सुत्दैन, जसले निन्द्रा नपुग्ने, विद्यालय जाने समय ढिला हुने, पढाई बिग्रने, अरु नै चिजमा चाख बढ्दै जाने हुन्छ र यसले उसको भविष्य नै जोखिममा पर्छ।

इन्टरनेट फेरि हानिकारक मात्र भन्न खोजिएको हैन, राम्रोसँग प्रयोग गर्न जानियो भने यसबाट हामीलाई फाइदा पुग्छ। आध्यात्मिक चिन्तन, राम्रा पुस्तकहरु इन्टरनेटमा हेर्न सकिन्छ।

६) बच्चाले इन्टरनेटलाई फाइदाको रुपमा कसरी प्रयोग गर्न सक्छन्?

परिवारको निगरानीमा अथवा शिक्षकको साथमा अनलाइन कक्षा लिइरहेका बालबालिका यसको उदहारण हुन्। अनलाइन क्विज, डान्स, गायन प्रतियोगिता भइरहेका छन्।

तर खाना खाँदा पनि मोबाइल, आइप्याडमा नै हेर्नु पर्‍यो, जे गर्दा पनि त्यही चाहियो अनि मान्छे चाहिएन भने त्यसले बेफाइदा ग¥यो। बच्चा आफै आफूलाई फाइदा पुग्ने विषयवस्तु खोजेर हेर्न जान्दैन।

७) भनिन्छ बच्चाले गल्ति गरेको बेलामा गरिने व्यवहारले पनि पछिसम्म प्रभाव पार्छ ?

बिर्सनै नहुने कुरा के हो भने, यदि कुनै बच्चाले बदमासी गर्छ भने उसलाई आफूले गरेको बदमासी बुझाउन र अगाडि त्यसो नगरोस् भन्नको लागि विचार पु¥याएन भने त्यसले दीर्घकालीन असर ल्याउँछ। सानोमा हामीले गर्ने व्यवहार भनेको उनीहरुमा रोपेको बिउ हो।

हामीले बच्चाको गल्तिलाई कहिले पनि प्रोत्साहान गर्नु हुँदैन। गल्ति भयो भने गर्न हुन्न, गलत हो भनेर सम्झाउँछौँ भने बुझ्नलाई उसले अलि समय लिन्छ, तर बुझ्छ।

गल्ति गर्दा कुटेर, मारपिट गर्‍यौँ भने उसले अर्कोपल्ट डरले नगर्ला तर कालान्तरमा उक्त बच्चामा भित्र भित्रै क्रोध, रिस जम्मा भइरहेको हुन सक्छ। यस्ता बालबालिका पछि ‘एग्रेसिभ’ व्यवहारका हुन सक्छन्।

जस्तो जापानिजहरु आफ्नो सभ्य व्यवहारका लागि पनि विश्वभर चिनिन्छिन्। बच्चाहरु पनि सानैबाट सभ्य व्यवहार गरिरहेका हुन्छन्। मैले भ्रमणको समयमा बच्चाहरुले कसरी यस्तो व्यवहार गर्न जाने भनेर सोधेको थिए।

त्यहाँ बच्चालाई सानैबाट ३ चिज सिकाइने रहेछ,

१. हामीले आफ्नो देशलाई माया गर्नुपर्छ,

२. अरुको सामान नसोधी लिनुहुन्न, सोध्दा नम्र हुनुपर्छ, चोर्नु हुँदैन,

३. झुटो बोल्नु हुँदैन।

जुनसुकै व्यवहार पनि सानैबाट सिकाइयो भने लामो समयसम्म रहिरहन्छ। तर पछि गएर उसलाई परिवर्तन गरौँ भन्यौँ भने संभव हुँदैन।

वैज्ञानिकहरुले गरेको एक अध्ययनले के देखाएको छ भने मानिसको दिमागले १ सेकेन्ड भन्दा कम समयमा नै के मन पराउने के मन नपराउने भन्ने बारेमा निर्णय गरिसकेको हुन्छ, अगाडिको चिजसँग रिसाएर एक्सन लिने हो की के गर्ने निर्णय १ सेकेण्ड भन्दा कम समयमा नै भइसकेको हुन्छ। त्यही चिज नै गडेर बस्छ, उसको दिमागमा यदि त्यो कुरा छापिएको छ भने उसले गल्ति गरेपछि ‘सरी’ भन्छ तर सुध्रिँदैन।

८) बच्चाको राम्रो व्यवहार विकासमा अभिभावकको के भूमिका हुन्छ ?

सन्तान जन्माउनु ठूलो कुरा हैन, तर जान्न के जरुरी छ भने कसरी राम्रो अभिभावक बन्ने ? बच्चा जन्माइसकेपछि कसरी राम्रोसँग हुर्काउने, कसरी नबिग्रियोस भनेर सिकाउने, चनाखो हुने बानी अभिभावकमा हुनुपर्छ। बच्चालाई स्कूल पठाएर राम्रो अंक ल्याउ, राम्रो जागिर खाउ, टन्न पैसा कमाउ मात्रै भन्नु गलत हो। उसलाई राम्रो मानिस कसरी बनाउने भन्ने कुरामा अभिभावकले ध्यान दिन जरुरी हुन्छ।

बच्चालाई यस्तो व्यवहार सिकाउन आमाको बढि भूमिका हुन्छ। नेपालका सन्दर्भमा आमाभन्दा बुवा शिक्षित हुन्छन्। त्यसैले बुवाले आफ्नो जिम्मेवारी राम्ररी बहन गर्नुपर्छ। राम्ररी हुकाईएन भने बच्चाहरुमा धेरै किसिमका मनोवैज्ञानिक असरहरु पर्छ।

इन्टरनेट एडिक्सनको बारेमा थोरै कुरा गरौँ,
मैले सुरुमा नै भनेको थिए, बच्चाहरुको दिमागको न्यूरोन्समा सम्पर्क स्थापित गर्ने डेन्ड्राइर्स हुन्छ। हामीले सानो उमेरदेखि सिकाएका कुराहरु दिमागको कनेक्सनमा रहिरहन्छ, एकपल्ट नगर भन्दैमा त्यो परिवर्तन हुँदैन। त्यो कनेक्सन एडिक्सनमा परिणत हुन्छ।

यो उदाहरण चुरोट खानेहरुमा पनि लागु हुन्छ। सिक्दाको अवस्थामा थाहा नभए पनि पछि जब चुरोट हानिकारक छ भन्ने थाहा हुन्छ तब किन उनीहरुले छोड्न सक्दैनन् ? बारम्बारको सेवनले दिमागमा कनेक्सन बनेको हुन्छ जसलाई सहजै छोड्न सकिँदैन।

यस्तै बालबालिकाले पनि सिकेका कुराहरुको कनेक्सन्सहरु बलियो भएपछि उनिहरुको बानी परिवर्तन गराउन सहज हुँदैन। सामाजिक सञ्जालमाहरु जस्तो टिकटक, फेसबुकमा राखिएको सामग्री कतिले मन पराए, कस्ता कमेन्ट लेखे, किन रियाक्सन कम आयो भन्ने कुराले मनोवैज्ञानिक रुपमा प्रभाव पारिरहेको हुन्छ ।

केही अध्ययनहरुले किशोरअवस्थामा दिनको ४ घण्टाभन्दा धेरै इन्टरनेट चलाउनु हुँदैन भन्छ तर ५–६ घण्टा भन्दा बढि समयमा पनि छोड्न नचाहने, घरमा इन्टरनेट गयो भने रिसाउने प्रवृत्ति बालबालिका, किशोरकिशोरीमा हुन्छ।

अर्को चम्किलो स्क्रिनले छिटो नै एडिक्सन गराउने अध्ययनले देखाएको छ।

रातभर नसुती इन्टरनेटमा समय बिताउने बानी भएमा तनावको स्थिति सिर्जना हुन्छ, तनावले उनको दैनिकी बिगार्छ । तनाव बिस्तारै एन्जाइटिमा परिणत हुन्छ र कालान्तरमा डिप्रेशनसम्म पुग्न सक्छ। विवाहित जोडिमा सम्बन्धमा समस्या आउँछ।

इन्टरनेट एडिक्सनको उदाहारण – म सँग एक बुवा दुई जवान छोरा लिएर आउनुभएको थियो । छोराहरुलाई इन्टरनेट गेममा लत बसेको रहेछ। सम्पन्न परिवारका ती छोरा गेममात्रै खेलिरहने भए, घर बाहिर पनि निस्केनन्, काम त परको कुरा।

अर्को चाँही बच्चा मोबाइलमा मात्र रमाएर बस्न थाल्यो, क्याम्पस जान नमान्ने स्वभाव उसमा विकास भयो। उसलाई नखेल भन्दा रिसाउने, झगडा गर्न खोज्ने स्वभाव विकास भयो।

यस्ता किशोर, युवामा मनोवैज्ञानिक समस्या त हुन्छ। उनीहरु आफ्नै रिस पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा हुन्छन्, जसलाई परिवारले पनि नियन्त्रण गर्न सक्दैन । यस्तो व्यवहार एक्कैपल्ट आउँदैन, बालपनदेखि नै यसको जड रोप्दै रोप्दै गइरहेका हुन्छौँ, किशोर अवस्थामा यस्तरी हुर्कन्छ।

९) इन्टरनेटबाट टाढा बस्ने कुुरा तर्कसम्मत छैन, स्क्रिन र डिजिटल डिभाइस मानव जीवनको अहम हिस्सा बनिसकेका छन्। यस्तो अवस्थामा कस्तो बानी अवलम्वन गर्दा नकारात्मक असर पनि नपर्ला र उचित उपयोग पनि होला?

केही औपचारिक सिकाइको लागि इन्टरनेटको प्रयोग गर्नुपर्छ तर सबैथरी यही गर्नु ठीक हैन। यस्ता साधनलाई हामीले चलाउने हो, यसले हामीलाई चलाउनु हुँदैन।

मनोरञ्जनको लागि सकेसम्म यस्ता साधनहरु कम प्रयोग गर्न प्रयास गर्ने ।

टाढा बस्न संभव छैन, तर यसलाई मिनिमाइज गर्न सकिन्छ ।

बच्चालाई पनि अनलाइन कक्षा बाहेक प्राकृतिक वातावरणमा घुमाउन जोड दिने। बच्चाहरुलाई सिकाउने कुरामा ‘कथा भन्ने’ शैली सबैभन्दा राम्रो मानिन्छ। त्यसैले बच्चाहरुलाई धेरै कथा सुनाइन्छ। अक्षर लेखाउनु पर्छ।

विद्यालयमा बच्चाहरुलाई खेल्ने वातावरण थियो तर कोभिडले अहिले समस्या पारिहरको छ। त्यसैले उनीहरुसँग धेरै समय खेल्ने कोशिस गरौँ।
हरेक चिजको सकारात्मक र नकारात्मक पक्षहरु छन्, राम्रो पक्षलाई धेरै ख्याल गर्नुपर्छ। रातको समयमा इन्टरनेट बन्द गर्ने र राम्ररी सुत्ने बानी बसाल्नुपर्छ।

धेरै चलाए मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ । त्यसैले सुत्नु भन्दा एक घण्टा अगाडि यस्ता डिभाइसबाट टाढा रहनुपर्छ।

समाजमा केही बच्चाहरु धेरै राम्रा हुन्छन्, केही अपराध गर्ने मनस्थितिका । हाम्रो भूमिका के हो भने, हामीले राम्रो अभिभावकत्व ग्रहण गरेर बालबालिकालाई राम्रो व्यवहार सिकाउनुपर्छ। किनभने एक पल्ट बानी भइसकेपछि त्यसको दिमागमा बलियो नेटवर्क बनिसकेको हुन्छ।

त्यसलाई छुटाउन सुधार गृहमा नै लगेर राखेपनि गारो हुन्छ। दिमागको नेटवर्क तोड्न नियमित बानी परिवर्तन गर्दा कम्तीमा पनि एक महिना लाग्छ। बच्चालाई राम्रो बनाउन गर्भमा आएदेखि जन्मेर हुर्काउने समयमा बाबुआमा र परिवारका सदस्यको ठूलो भूमिका हुन्छ।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्