डेन्टिस्ट डा. अस्मिना दाहाल क्षेत्रीसँग कुराकानी

बालबालिकाको दाँत बाङ्गोटिङ्गो हुन नदिन डेन्टिस्टले सुझाएका यी उपाय

दाँतको एउटा मुख्य कार्य भनेको खानेकुरा चपाउनु हो। यदि खानेकुरा राम्रोसँग चपाएर खान सकियो भने हाम्रो शरीरलाई पर्याप्त मात्रामा पौष्टिक आहार पुग्ने गर्दछ। तर दाँत बिग्रेको कारणले पर्याप्त मात्रामा पौष्टिक आहार पुगेन भने शरीरको राम्रोसँग विकास हुन पाउँदैन। त्यसैले शरीरलाई स्वस्थ राख्नको निम्ति पनि मुख स्वस्थ राख्न निकै जरुरी छ।

त्यसै गरेर दाँतले हाम्रो मुस्कान पनि आकर्षक पार्छ। बोलीको प्रष्टतामा पनि दाँतको निकै नै महत्वपूर्ण भूमिका हुन्छ। यसैगरी कतिपयलाई दाँत बाङ्गोटिङ्गो तथा फाटिएको कारणले पनि चिन्तित बनाएको हुन्छ।

यसै सन्दर्भमा हामीले दाँत बाङ्गोटिङ्गो के कारणले हुन्छ तथा यसका समस्या र समाधानबारे हाल युनाइटेड डेन्टल केयर नयाँबजारमा डेन्टल सर्जनका रुपमा कार्यरत तथा आलोकनगरस्थित मम्स केयर पालिक्लिनिकको डेन्टल युनिट पनि सम्हाल्दै आएकी डा. अस्मिना दाहाल क्षेत्रीसँग कुराकानी गरेका छौँ।

१) दाँत बिग्रने या बाङ्गोटिङ्गो हुने मुख्य कारणहरु के–के हुन्?

— दाँत बिग्रनु या बाङ्गोटिङ्गो हुने कारणहरु धेरै हुन्छन्। केही कारणहरु भनेको बाल्यअवस्थादेखि नै लागेको औँला चुस्ने बानी, मुखबाट श्वास फेर्ने बानी, त्यस्तै गरेर समय पुग्नुभन्दा अगाडि नै दुधे दाँतहरु निकालियो भने या समय पुगिसक्दा पनि दुधे दाँतहरु झरेनन् भने दाँतहरु बाङ्गोटिङ्गो आउने, दाह्रा आउने समस्याहरु देखिन्छ।

त्यस्तै गरेर डेन्टल आर्च र दाँतको साइजमा भिन्नता भयो भने पनि दाँत बाङ्गोटिङ्गो देखिन्छ। डेन्टल आर्च भनेको दाँत बस्ने ठाउँ हो।

यदि डेन्टल आर्च सानो छ तर डेन्टल आर्चमा बस्ने दाँतहरु ठूला ठूला छन् भने त्यो डेन्टल आर्चमा दाँत अट्दैन। र दाँतहरु अगाडि पछाडि हुँदै नमिलेर बस्छन्। यसले गर्दा दाँतहरु बाङ्गोटिङ्गो देखिने, दाँतमा दाह्रा आएको जस्तो देखिने हुन्छ।

यो समस्या देखिने मुख्य कारण यदि बच्चाले डेन्टल आर्च बुवाको लिएको छ र दाँतको साइज आमाको लिएको छ भने यसरी साइजमा भिन्नता हुने कारणले बाङ्गोटिङ्गो देखिने हुन्छ।

यसको ठ्याक्कै विपरित पनि हुन सक्छ। यदि डेन्टल आर्च आमाबाट लिएको छ र दाँतको साइज बुवाबाट लिएको छ भने पनि यस्तो समस्या देखिन सक्छ।

२) पहिलो चरणमा बाङ्गोटिङ्गो आएका दाँतहरु दोस्रो चरणमा कस्तो आउने संभावना हुन्छ?

— पहिलो चरणमा आउने दुधे दाँतहरु नै बाङ्गोटिङ्गो छ भने पछि आउने दाँतहरु पनि बाङ्गोटिङ्गो हुने सम्भावना एकदम धेरै हुन्छ।

३) दाँत फाटिएर आउने कारणहरु?

यदि डेन्टल आर्च ठूलो छ तर आउने दाँतहरुको साइज सानो भयो भने दाँतहरु फाटिएको जस्तो देखिने हुन्छ।

४) बाङ्गोटिङ्गो दाँतले पर्न जाने असरहरु ?

— दाँत बाङ्गोटिङ्गो भएपछि फोहारहरु अडकिने चान्सहरु एकदम धेरै हुन्छ। अड्किएको फोहोरहरु सजिलै ननिस्कने र यसले गर्दा पछि गएर गिजामा समस्या देखिने, दाँतहरु किरा लाग्दै जाने हुन्छ।

अर्को समस्या भनेको अनुहारको मांसपेशीमा पनि असर गर्छ। कानको नजिकैको हाडको र्जोनीमा पनि असर गर्छ। यसले गर्दा पछि टाउको दुख्ने जस्तो जटिल समस्या पनि निम्तिन सक्छ।

त्यस्तै गरेर खुलेर बोल्न नसक्ने, खुलेर हाँस्न नसक्ने, र समाजमा आफ्नो सेल्फ स्टिम लो भएर जाने, यस्तो समस्याहरु देखिन्छ। र बोलीमा पनि प्रष्टता नआउने पनि हुने गर्छ।

५) यो समस्याको समाधानका लागि आजभोलि धेरैले ब्रेसेस पनि लगाएको पाइन्छ नि?

— यस विषयमा पहिलेभन्दा धेरै जनचेतना फैलिसकेको कारणले गर्दा आजकाल सानादेखि ठूला सबैले ब्रेसेस लगाएको पाइन्छ। तर अझ धेरै जनचेतना फैलिन भने आवश्यक छ।

६) यसको उपचार कसरी हुन्छ त?

— बाङ्गोटिङ्गो दाँतको उपचार विशेषज्ञ डाक्टरहरुले गर्नुहुन्छ। हामी उहाँलाई अर्थो डेन्टिस्ट पनि भन्छौँ। उपचार गरिने भनेको ब्रेसेस लगाइन्छ। ब्रेसेस भनेको ढिक्काहरु दाँतमा टाँसिएको हुन्छ र ढिक्काहरुलाई तारको मद्धतले जोडिन्छ। यी ढिक्का र तारको मद्धतले हामीले दाँतलाई मुभ गराउँछौँ।

७) ब्रेसेस कति किसिमको हुन्छ?

— ब्रेसेस धेरै थरिको हुन्छ। मेटालिक ब्रेसेस तथा सेरामिक ब्रेसेस। मेटालिक ब्रेसेस मेटलकै कलरको हुन्छ। सेरामिक ब्रेसेस भने दाँत कलरको हुन्छ।

त्यस्तै गरेर इन्भिजलाइन ब्रेसेस पनि हुन्छ। इन्भिजलाइन भनेको क्लिएर प्लाष्टिकले बनेको मुखमा राख्ने निकाल्ने खालको हुन्छ।

अर्को भनेको लिङ्गुअल ब्रेसेस हुन्छ। नर्मली लगाइने ब्रेसेस भनेको दाँतको अगाडि देखिने भागमा लगाइन्छ भने लिङ्गुअल ब्रेसेस चाहिँ नदेखिने भागमा जिब्रो पट्टी या माथिको तालुपट्टि भागमा लगाइन्छ।

र केस हेरेर उपचारकै क्रममा अपलायन्सहरु थपिन सक्छ।

८) उपचारको लागि कति समय लाग्छ?

— उपचारको लागि सामान्यतया लाग्ने समय भनेको डेढदेखि दुई वर्ष हो। र केस हेरेर टाइम थपिन पनि सक्छ। मेटालिक या सेरामिक ब्रेसेस लगाइरहनु भएको छ भने ट्रिटमेन्ट टाइमको दौरानमा तपाईंले हरेक एक–एक महिनामा फलोअप आउन जरुरी छ। इन्भिजलाइन लगाइरहनु भएको छ भने धेरै फलोअप आइरहन जरुरी छैन।

९) यस समस्याका लागि सामान्यतया कति समयमा डेन्टिस्टकोमा जान जरुरी छ?

—बाङ्गोटिङ्गो दाँतको कन्सलटेसनको लागि सबैभन्दा पहिलो डेन्टल भिजिट चारैतिर पहिलो बङ्गारा आइसके पछाडि एक पटक डेन्टिस्टको सल्लाह लिनुहोला।

सामान्यतया हाम्रो माथिको भाग थोरै अगाडि हुनेगर्छ र तलको भाग थोरै पछाडि हुने गर्छ। तर यदि कुनै–कुनै केसमा तलको भाग अगाडि छ भने यस्तो केसमा छिटोभन्दा छिटो करेक्सन गराउन जरुरी छ। यसको लागि पहिलो बङगारा आउन जरुरी छैन। यस्तो कन्डिसन तपाईहरुले नोटिस गर्ने बित्तिकै छिटोभन्दा छिटो डेन्टिस्टको सल्लाह लिनुहोला।

१०) सामान्यतया दाँत सफा गरिसकेपछि दाँत हल्लिने समस्या हुन्छ भनेर मानिसहरु दाँत सफा गर्न हिचकिचाउँछन् नि?

— मान्छेको बुझाइ के हुन्छ भन्दा दाँत सफा गरिसकेपछि दाँत हल्लिन्छ, दाँत कमजोर हुन्छ, दाँत खुकुलो हुन्छ, खिइँदै जान्छ भन्ने कुरा बुझेर बस्नुभएको हुन्छ।

तर यो कुरा बिलकुलै गलत हो। यसलाई प्रष्ट्याउन चाहन्छु। दाँत र गिजाको बीचमा फोहार जमेर बसेको हुन्छ। त्यो फोहोर निकालिसकेपछि अलिकति खालिपना महशुस हुन्छ, र त्यही खालीपनाले गर्दा थोरै दिन दाँत हल्लिएको जस्तो लाग्न सक्छ।

तर अलि दिनपछि दन्त चिकित्सकको सल्लाह अनुसार तपाईंले बिहान बेलुकी मनतातो पानीले कुल्ला गरिसक्नुभएपछि गिजाले विस्तारै दाँतलाई पकड्दै आउने गर्छ र दाँत बलियो भएर आउने गर्छ। त्यसैले दाँत सफा गर्‍यो भने कमजोर हुन्छ भन्ने कुरा बिल्कुलै गलत हो।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्