अफगानिस्तानमा संकट

तालिबानको निशानामा प्रमुख शहर, भीषण युद्ध जारी

ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा रहेको तालिबान बिद्रोही र अगान सैनिकबिच भीषण युद्ध भइरहेको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबिच युद्ध भइरहेको हो ।

अहिलेसम्म तालिबानले कुनै पनि प्रान्तको राजधानीमा आफ्नो कब्जा जमाउन सकेको छैन । तर लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो प्रान्तीय राजधानी बन्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी तथा अफगान सैनिकले हवाई आक्रमण गरिरहेको भए पनि लश्कर गाहमा तालिबान लडाकुले निरन्तर भिडन्त गरिरहेका छन् । तालिबानले एक टेलिभिजन स्टेशन नियन्त्रणमा लिएको दाबी गरिएको छ ।

शहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा बिस्थापित भएका छन् । शहरको सबै क्षेत्रमा भिडन्त भइरहेको स्थानीय अस्पतालमा कार्यरत चिकित्सकले बिबिसीलाई बताएका छन् । तालिबान लडाकुको सामनाका लागि सयौँ सैनिक परिचालित छन् ।

पछिल्ला महिनाहरुमा तालिबानले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि तालिबानको गतिविधि बढेको हो ।

हेल्मण्ड प्रान्त अमेरिकी तथा बेलायती सैनिकको अभियानको प्रमुख क्षेत्रमा पर्छ । हेल्मण्ड प्रान्तमा तालिबानले पकड बनाएमा अफगान सरकारका लागि गम्भीर धक्का हुनेछ ।

लश्कर गाहमा तालिबानले जित हात पारेमा सन् २०१६ यता सरकारको नियन्त्रणबाट बाहिर जाने पहिलो प्रान्तीय राजधानी हुनेछ । अहिले तालिबानले लश्बर गाहसहित तीन प्रान्तीय राजधानीलाई निशाना बनाइरहेका छन् ।

तालिबान लडाकुले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहर नियन्त्रणमा लिने प्रयासमा भिडन्त गरिरहेका छन् । शनिबार भएको रकेट आक्रमणमा कान्दाहरको विमानस्थल निशानामा आएको थियो । दक्षिणी शहर कान्दाहरसँगै तालिबानले पश्चिमी शहर हेरातमा पनि भिडन्त गरिरहेका छन् ।

सरकारी सैनिकले तालिबानको बढ्ता रोक्न नसकिरहेका बेला अफगान राष्ट्रपति अश्रफ घानीले यसमा अमेरिका दोषी रहेको आरोप लगाएका छन् ।

अमेरिकाले अचानक आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेका कारण तालिबानले नियन्त्रण कामय गर्न सकेको आरोप उनको छ । उनले संसदमा भनेका छन्, ‘अहिलेको हाम्रो अवस्थाको कारण एकाएक लिइएको सैनिक फिर्ता गर्ने निर्णय हो ।’ उनले अमेरिकालाई सैनिक फिर्ता लैजानुको गलत परिणाम हुने चेतावनी दिएको बताएका छन् ।

अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा हवाई आक्रमण भने जारी राखेको छ । सोमबार राभर लश्कर गाहमा त्यस्तो आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बढ्दै गएको हिंसालाई मध्यनजर गरेर अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले सोमबार थप एक हजार अफगान शरणार्थी लिने घोषणा गरेको छ । अमेरिकी सैनिकलाई सहयोग गरेका अफगानहरुलाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइने भएको हो ।

अमेरिका र बेलायतले पाकिस्तानसँगको सीमा क्षेत्रको बजार नियन्त्रणमा लिने क्रममा सर्वसाधारणको आम हत्या गरेर तालिबानले युद्ध अपराध गरेको आरोप लगाएका छन् । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले अस्वीकार्य घटनाहरुको खबर आएको बताएका छन् ।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्