अँध्यारो सुरुङतर्फ अफगानीहरुको शरणार्थी पाइला

त्यस रात दुई युवतीलाई तालिबानका सदस्यहरुले घरबाट घिच्याउँदै सडकको किनारातर्फ लगेको देखेपछि हाजी साकीले अफगानिस्तान छाड्ने निधो गरेका थिए। तीन छोरीका बा साकीलाई त्यो दृश्य कुनै पनि बेला आफूमाथि पनि दोहोरिन सक्ने भय थियो।

त्यसैले भोलिपल्ट सबेरै एउटा कारमा परिवारका सबै सदस्यलाई कोचेर धुलाम्मे सडकका धमिला दृश्य छिचोल्दै उनले पाकिस्तानको बाटो समातेका थिए।

यो घटना बीस वर्षभन्दा पुरानो हो।

यसबीच उनीहरु झण्डै एक दसकअघि सपरिवार फेरि राजधानी काबुल सहर फर्केका थिए। अमेरिकाको नेतृत्वमा खटिएको सुरक्षा फौजले तालिबान शासकलाई परास्त गरेपछि उनीहरुले फेरि स्वदेशी माटोमा पाइला राखे।

६८ वर्षे साकीको निम्ति आज फेरि परिस्थिति भयावह बन्नपुग्यो। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गएपछि तालिबानले फेरि आफ्ना हातखुट्टा फैलाउन सुरु गरेको छ। साकी फेरि त्यो दुई दशकभन्दा पहिलेको भयावह रात सम्झेर झस्कन थालेका छन्। अब ठ्याम्मै अबेर नगरी मुलुक छाडी हाल्नुपर्छ भन्ने उनलाई परिसकेको छ।

‘मलाई मेरा जायजेथा छाडेर जानुपरेकामा चिन्ता छैन। अब फेरि सबैथोक प्रारम्भबाटै थालनी गर्नुपर्छ भन्ने कुराले पनि अँत्याएको छैन,’ आफू, श्रीमती, तीन छोरी र एक छोराका लागि भर्खरै टर्कीको भिसा आवेदन गरिसकेका साकी भन्छन्, ‘मलाइ एउटै कुराको डर छ, त्यो हो तालिवान।’

यतिबेला अफगानिस्तानमा जसै तालिवानले उसका हिंश्रक सैन्य गतिविधिहरु अघि बढाएको छ उसैगरि व्यापक संख्यामा मानिसहरुको उथलपुथल र पलायन पनि सुरुहुनथालेको छ। केही अध्ययनअनुसार मुलुकभरका आधाभन्दा बढी भूभाग अर्थात् झण्डै चार सयवटा जिल्लाहरुमा तालिवानले आफ्ना प्रभाव फैलाइसकेको छ। त्यस सँगसँगै फेरि या त अतिवादी शासन वा नभए जातीय हिसाबले विभाजित मिलिसियाहरु बीच रक्तपातपूर्ण गृहयुद्धका संभावना पनि चुलिँदै गएका छन्।

यो वर्षमात्रै यतिन्जेलसम्म तीन लाख ३० हजार अफगानी नागरिकहरु पलायन भइसकेका छन्। यीमध्ये आधाभन्दा बढि त अमेरिकाले मे महिनायता उसको सेना फिर्ता लैजान थालेपछि घर छाड्न बाध्य भएकाहरु रहेको संयुक्तराष्ट्र संघले जनाएको छ।

यसरी बिस्थापित भएकाहरु मध्ये धेरैजसो टेन्ट लगाइएका क्याम्पहरुमा आश्रय लिएर बसेका छन् भने ठूलो मात्रामा मानिसहरु सहरका आफन्तहरुको घरमा घुइँचो लाग्न थालेका छन्। यसरी आश्रय लिएका स्थानहरु भनेको अहिलेसम्म जसोतसो सरकारकै नियन्त्रणमा रहन सकेका मुलुक भित्रका स–साना हिस्साहरु हुन् जुन अनेक प्रान्तमा बाँडिएका छन्। त्यसैगरि थप हजारौँका संख्यामा अफगानीहरुलाई यतिबेला मुलुक छाड्नका निम्ति पासपोर्ट र भिसा लिइने कार्यालयहरुका अघिल्तिर लामबद्ध हुनथालेको देख्न सकिन्छ। अनि उत्तिकै संख्यामा मानिसहरु मानव तस्करका ट्रकहरुमा भिडका भिड चढेर जसरी हुन्छ सिमाना कट्नका निम्ति तम्तयार अवस्थामा भेटिन्छन्।

पछिल्ला साताहरुमा गैरकानुनी रुपले अफगानी सिमाना काटेर जानेहरुको मात्रा ३० देखि ४० प्रतिशत बढेको छ। यो वृद्धि मे महिनायता विदेशी सेनाले अफगानिस्तान छाड्न थालेयता देखिएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले जनाएको छ। अहिले हप्तैपिच्छे कम्तीमा ३० हजार मानिसले यसरी गैरकानूनी तवरबाट सिमाना काट्नेगरेका छन्।

यसरी अचानक ठूलो मात्रामा मानिसहरुको पलायनले निकट भविष्यमै भयावह शरणार्थी समस्याको संकेत गरिरहेको चेतावनी अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुले दिएका छन्। विस्थापितहरुका कारण मुलुकका सीमावर्ती भेगमा अहिले नै देखिन थालिसकेको हिंसाका घटनाहरुका आधारमा ती संस्थाहरुले छिमेकी मुलुक र युरोपका देशहरुलाई आसन्न खतराको पूर्व जानकारी पनि गराउन थालिसकेका छन्।

‘अफगानिस्तान फेरि अर्को गम्भीर मानवीय संकटको छेवैमा उभिन पुगेको छ,’ शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगका प्रवक्ता बाबर बालोचले भनेका छन्, ‘तत्काल शान्ति सम्झौतामा पुग्न ढिलाइ गरियो र हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सकिएन भने विस्थापितहरुको समस्या अझ भयावह ढंगले बढ्दै जाने देखिन्छ।’

अचानक सुरुभएको यो पलायनले अफगानिस्तानमा प्रारम्भिक कालकै चरम उथलपुथलका दिनलाई स्मरण गराउनथालेको छ। त्यो भनेको सन् १९७९ मा सोभियत संघले यस मुलुकमा हस्तक्षेप गरेपछि दसौं लाखका संख्यामा अफगानीहरु शरणार्थी बन्दाको क्षण हो।

त्यसको एक दसकपछि सोभियत संघ फिर्ता गएसँगै मुलुक चरम गृहयुद्धमा फँस्यो र पहिलेभन्दा अझ बढी मानिस बिस्थापित हुनपुगे। पलायनको त्यो क्रम सन् १९९६ मा तालिवान शक्तिमा आएको बेलासम्म पनि कायमै थियो।

अफगानिस्तान यतिबेला संसारमै सर्वाधिक शरणार्थी जन्माउने मुलुकमध्येमा पर्छ। तीस लाखभन्दा बढी अफगानीहरु आज अन्य मुलुकको शरणमा छन्। युरोपमा सिरियापछिकै दोश्रो सर्वाधिक शरणार्थी आवेदन दिनेहरुमा अफगानीहरु नै पर्छन्।

अफगानिस्तान साँच्चै नै फेरि अर्को रक्तपातपूर्ण खण्डमा प्रवेश गर्नलागेको छ। त्यसमाथि पनि दुर्भाग्य के छ भने यो यस्तो बेला भइरहेको छ जतिखेर विश्वभर आप्रवासीलाई हेर्ने दृष्टिकोण असाध्यै नकारात्मक मोडमा पुगेको छ।

युद्धग्रस्त मुलुकहरुबाट बढ्दो आप्रवाशन नियन्त्रण गर्न सन् २०१६मा स्वदेश फिर्ति सम्झौता गरेपछि युरोपले दसौँ हजारका संख्यामा अफगानी शरणार्थीलाई उनीहरुको देशमै फर्काएको थियो। त्यसैगरि लाखौंको संख्यामा थप अफगानीहरुलाई टर्कीले निकाला नै गरेको थियो। यसरी अफगानीलाई निकाल्नेमा उसका छिमेकी पाकिस्तान र इरान पनि थियो। यी यस्ता मुलुक हुन् जसले अफगानी शरणार्थीमध्ये ९० प्रतिशतलाई ब्यहोरेको छ र पछिल्ला वर्षमा ठूलो संख्यामा ती शरणार्थीलाई उनीहरुको देश फर्काउने काम पनि गरेका छन्।

यसै बीच वैध तथा अवैध रुपमा आप्रवासनका गतिविधिलाई पछिल्लो समय कोरोना भाइरसले झनै जटिल बनाइदिएको छ। विश्वभरका मुलुकहरुले उनीहरुका सिमानालाई बन्द गरिदिएका छन् भने शरणार्थीका निम्ति बनाइएका कार्यक्रमहरुलाई पनि स्थगीत राखेका छन्। बरु हजारौंका आप्रवासीहरुलाई युरोप लगायतका मुलुकहरुमा अत्यन्तै जोखिम मोलेर अवैधानिक तवरले प्रवेश गराउन उनीहरुले खेलेको भूमिकाले अवस्थालाई थप जटिलतातर्फ मोडिदिएको छ।

उता कुनै समय अमेरिकी सरकारका निम्ति काम गरेवापत ठूलो सुरक्षा खतरामा पर्न पुगेका अफगानीहरुलाई विशेष अध्यागमन भिसा कार्यक्रम पनि संयुक्तराष्ट्र संघमा थाँती परेको छ। करिब २० हजारको संख्यामा छनौटमा परेका त्यस्ता अफगानी र उनीहरुका परिवारको सुरक्षित आप्रवासन प्रकृया अफगानिस्तानकै प्रशासनिक कागजी झमेलामा अड्केर बसिरहेको अवस्था छ। यसै बीच हालै अमेरिकीहरुका निम्ति अनुवादको काम गर्ने एकजना अफगानीलाई तालिवानले निर्ममतापूर्वक हत्यागरेको समाचार सार्वजनिक भइसकेको छ।

तालिवान खतराकै बीच अमेरिकाले उसका सेना फिर्ता बोलाइसकेपछि कुनै समय आफुहरुलाई सहयोग गरेका अफगानीहरुको जीवन रक्षा गर्न यतिबेला राष्ट्रपति जो बाइडेनको प्रशासन स्वयं पनि चरम दबाबमा छ।

यतिबेला तालिबान, सरकार र विभिन्न मिलिसिया शक्तिहरुका बीच लडाइ चर्किएकै बेला र सर्वसाधारणको ज्यानजाने क्रम पनि बढिरहेको बेला ठूलो संख्यामा अफगानीहरु मुलुक छाड्न तम्तयार छन्।

हालैको एक विहान उल्लेख्य संख्यामा मानिसहरु काबुलको पासपोर्ट कार्यालय अगाडि भेलाभएका थिए। त्यसको केही घन्टा पनि नबित्दै पासपोर्ट लिन खोज्नेहरुको त्यो लाइन नागबेली पर्दै सहरकै तीनवटा ब्लकमा बिस्तार भइसकेको थियो। यसरी विस्तार भएको लाइनको छेवैमा एउटा सूचना पाटी देखिन्थ्यो जसमा लेखिएको थियोः ‘आफू र आफ्ना परिवारलाई आतंकित नपार्नुस्। आप्रवासनले तपाइँलाई समाधान दिँदैन।’
छेवैको त्यो सूचनालाई लाइनमा उभिएका मानिसहरुले दुत्कार्दै गरेको पनि देखिन्थ्यो।

‘मलाइ जुनसुकै हालतमा पनि पासपोर्ट चाहिएको छ,’ ४१ वर्षे अब्दुल्ला भनिरहेका थिए, ‘म यो मुलुकबाट पार पाउन आतुर छु।’
अब्दुल्लाले यो तितो त्यसै पोखेका होइनन्।

उनी राजधानी काबुल र दक्षिणपूर्वी व्यापारिक सहर घाजनीको बीचमा ट्याक्सी हाँक्ने काम गर्छन्। हालैको एक दिन उनको ट्याक्सीमा केही अफगानी सेना बसिदिए। सेनालाई रोक्ने पनि कसरी? त्यसरी सेनालाई ल्याउँदै गर्दा उनले राजधानी पुग्ने बेलामा बेतोडका साथ ट्याक्सी कुदाउनु परेको थियो।

मामला त्यतिले पनि सल्टिएन। दुइ दिनमै ट्याक्सी मालिकले अब्दुल्लालाई बोलाएर तालिवान लडाकुहरुले सुरक्षा फौजलाई बोकेर ओसार्ने एकजना ट्याक्सी चालकको खोजी गरिरहेको जानकारी दिए। ती तालिवान लडाकुले अब्दुल्लाकै ट्याक्सीको नम्बर बताइरहेको जानकारी पनि मालिकले दिएपछि उनको सात्तोपुत्लो उड्यो।

पासपोर्ट लिनको निम्ति लाइनमा बसिरहेका आतंकित अब्दुल्ला अब जसरी पनि मुलुक छाड्न कम्मर कसेर लागेका देखिन्थे।

‘वैधानिक हिसाबले मुलुक छाड्न असाध्यै धेरै पैसा तिर्नुपर्छ भने गैरकानुनी रुपले बाहिरिँदा खतरा उत्तिकै हुन्छ,’ भयभीत अब्दुल्ला भनिरहेका थिए, ‘जे जस्तो भएता पनि अहिलेलाई चाहिँ सबैखाले खतराभन्दा ज्यादा खतरा यो मुलुकमा बस्नु हुनथालेको छ।’

पछिल्लो समय अलिक पश्चिमतिर उल्लेख्य संख्यामा अफगानीहरु थुप्रिएको एउटा स्थान छ जारान्ज। निमरुज प्रान्तको यो स्थान गैरकानुनी तवरले मुलुक छाड्नेहरुका निम्ति केन्द्र बन्दैगएको छ। तस्करहरुले भ्यानमा लोड गरेर पठाएका मानिसलाई इरानको सिमानातिर लैजाँदै गरेको दृश्य यहाँ दैनिक देखिन्छ।

गएको मार्च महिनामा हरेक दिनजसो यस्ता मोटरहरु दुई सयको संख्यामा इरानी सिमानातिर कुद्थे। यो भनेको सन् २०१९ को तुलनामा तीन सय प्रतिशतले वृद्धि हुनु हो। आप्रवासीसम्वन्धि अध्येता डेभिड म्यान्सफिल्डका अनुसार यसपाला जुलाइ लागेपछि यो संख्यामा अझ बढोत्तरी भएर दैनिक ४ सय ५० मोटरहरु जारान्जबाट इरानी सिमानातिर जानथालेका छन्।

अफगानीमध्ये कतिपय हजारौं डलर खर्च गर्नसक्ने पनि छन्। उनीहरु चाहिँ विमान चढेर टर्की हुँदै युरोप पसिरहेका हुन्छन्। तर, धेरैले भने मानव तस्करहरुसँग आफूलाई लगिदिन्छु भनेको ठाउँ पुगिसकेपछि पैसा तिर्नेगरि सम्झौता गरेका हुन्छन्। यसरी तस्करको साथलागेर अफगानिस्तान छाडेकाहरुले बीचको केही अवधि इरानमा बसेर रोजगारी पनि गर्छन् र अनुकुलता हेर्दै अनि पैसा पनि जुटाउँदै अगाडिको बाटो तताउँछन्।

‘भिसा पाउनका निम्ति टन्न पैसो वा कुनै कारण चाहिन्छ,’ गैरकानूनी हिसाबले इरान जाने तयारीमा रहेका मोहम्मद अदिव भन्छन्, ‘जुन हामीसँग छैन।’

मुलुककै उत्तर पश्चिमी भागमा पर्ने आफ्नो सहर काला ए नवीलाई जुलाइको पहिलो साता तालिवानले रातारात घेराबन्दी गरेपछि अदिव घर छाडेर भागेका थिए।

त्यस बिहान उज्यालो हुन नपाउँदै फैलिएको बन्दुकका आवाजलाई एकै छिनमा छिमेकीहरुको रुवाबासीले पछ्याएको थियो। बिजुलीका तारहरु जमिनभरि छरिएका थिए। घर घरका ढोकाहरु भत्किएका थिए भने सडकमा जताततै रगतका टाटाहरु देखिन्थे।
‘यस्तोमा कसरी बाँच्न सकिन्छ?,’ अदिव भन्छन्, ‘हामीसँग कुनै विकल्पै भएन।’

अर्कातिर बितेको महिना १६ सय जना अफगानी शरणार्थीलाई प्रवेश दिएको ताजिकिस्तानका अधिकारीहरुले एक लाख अफगानीलाई आफुहरुकहाँ शरण दिने घोषणा गरिसकेका छन्।

तर, ताजिकिस्तानले जस्तो अफगानीहरुलाई स्वागत गर्न खुला हृदय अन्य छिमेकीहरुले देखाएका छैनन्। बरु उल्टो उनीहरुले सिमानामा सुरक्षा बढाउनुका साथै आफ्नो अर्थतन्त्रले शरणार्थीको थप ठूलो हिस्सालाई धान्न नसक्ने चेतावनी दिइसकेका छन्। मध्य युरोपेली राष्ट्रका नेताहरुले पनि सन् २०१५ को जस्तै समस्या नदोहोरियोस् भनेर सिमानामा सुरक्षा बढाउन आव्हान गरिसकेका छन्। त्यतिबेला लाखौंको संख्यामा सिरियाबाट शरणार्थीहरु युरोप प्रवेश गरेका थिए।

यता अफगानिस्तानमा भने मुलुककै लगभग आधाजस्तो जनसंख्यालाई यो वर्षभित्रै मानवीय सहायता उपलब्ध गराउनु अत्यावश्यक देखिइसकेको छ। संयुक्तराष्ट्र संघका अनुसार यो संख्या गत वर्षको तुलनामा दोब्बर बढी हो। अझ चार वर्ष अघिको अवस्थासँग तुलना गर्ने हो भने छ गुणाले बढेको राष्ट्रसंघ बताउँछ।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्