मेलम्चीमा असार १ मा बाढी आउनुका ५ कारण

फाइल तस्बिर।

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा डेढ महिनाअघि आएको बिनासकारी लेदो तथा गेग्रानसहितको बाढी आउनुमा विभिन्न मौसमी तथा भौगर्भिक घटनाक्रमको एकीकृत कारक रहेको एक अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनमा गएको असार १ गतेको बाढी आउनुमा भारी वर्षा, हिउँ, भू–क्षय, पहिरोसँगै सानो आकारको हिमतालको संगठित प्रभाव गरी पाँच कारण रहेको देखिएको हो।

रिमोट सेन्सिङ्ग तथा तल्लो क्षेत्रको स्थलगत अध्ययनमार्फत भएको अध्ययनको प्रतिवेदन अनुसार मेलम्ची नदीको आसपास र किनारका विभिन्न क्षेत्रमा भएका मानवीय गतिविधिका कारण निम्तिएका समस्याहरु तथा जलवायुजन्य गतिविधिका कारण भीषण स्वरुपको बाढी आएको हो।

प्रतिवेदनमा भनिएको छ, ‘मेलम्चीमा असार १ तथा त्यसपछिका दिनमा आएको विपदका लागि एक मात्रा कारण नभई नदी किनार तथा त्यसको माथिल्लो क्षेत्रमा मानवीय तथा जलवायुजन्य तत्व र प्रक्रिया कारक देखिएका छन्।’

माथिल्लो क्षेत्रमा भएको भारी वर्षाका कारण विपदको सुरुवात भएको र त्यसले नदीको मार्ग क्षेत्रमा व्यापक खतरा निम्त्याएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययनमा संलग्न इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक डा. अरुणभक्त श्रेष्ठका अनुसार मेलम्ची विपदका लागि भारी वर्षा तथा हिमपातसहितको मौसमी गतिविधि, उच्च क्षेत्रमा रहेको सानो आकारको हिमताल, ब्रेमथाङमा रहेको पुरानो पहिरो, मेलम्चीघ्याङमा बनेको नयाँ पहिरो, नदीको बहाव थुनिनु र पछि फुट्नु तथा नदी किनारमा भएका भू–क्षयसहितको संगठित प्रभाव रहेको देखियो ।

मेलम्ची विपदका लागि कुन–कुन घटनाले सहयोग गरे?


अध्ययन प्रतिवेदन अनुसार मेलम्ची तथा इन्द्रावती नदीको जलाधार तथा बहाव क्षेत्रमा परेको भारी वर्षा प्रमुख कारक देखिएको छ । जल तथा मौसम विभागको सर्माथाङमा रहेको जल मापन केन्द्रका अनुसार दुई नदी क्षेत्रमा जेठ २६ गतेदेखि नै पानी पर्न थालेको थियो । जेठ २७ गतेको मापनमा सो क्षेत्रमा प्रतिघण्टा २२ मिलिमिटर पानी परेको थियो भने भोलिपल्ट त्यो ३७ मिलिमिटर प्रतिघण्टा पुगेको थियो । जेठ ३१ र असार १ गते प्रतिघण्टा वर्षादर १० मिलिमिटर मापन भएकोमा जेठ २७ गतेको कुल वर्षा १०० मिलिमिटर भन्दा बढी मापन भएको छ । ६ दिनको अवधिमा सर्माथाङमा रहेको केन्द्रमा २०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको थियो । मनसुन सुरु हुनु पूर्व अर्थात प्री मनसुनको मार्च र मेको अवधिमा सामान्य भन्दा १२९ प्रतिशत बढी वर्षा भएकाले सो क्षेत्रमा अत्यधिक वर्षाको प्रभाव देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै इसिमोडले माथिल्लो याङ्ग्री खोलाको नजिक ‘गन्जा ला’मा स्थापना गरेको अटोमेटिक वेदर स्टेशनको तथ्यांकले बाढी आउनु भन्दा चार दिन पहिले सो क्षेत्रको वायुको तापक्रम अत्यधिक बढेको र त्यसका कारण हिउँ ठूलो मात्रामा पग्लिन पुग्यो । यास तथा ताउते आँधीको अप्रत्यक्ष प्रभावले माथिल्लो क्षेत्रमा हिउँ परेको थियो । हिउँ पग्लिने क्रम जारी रहेका बेला तल्लो तथा माथिल्लो क्षेत्रमा भारी वर्षा हुँदा जोखिमको तह बढाएको देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भारी वर्षा तथा हिउँ पग्लिएको पानीका कारण माथिल्लो क्षेत्रमा रहेको मोरेन तथा गेग्रानहरु बग्न थालेको र त्यसले तल्लो क्षेत्रमा भू–क्षयसहितका गतिविधि निम्त्याएको देखिएको छ ।

अध्ययनको क्रममा निकै सानो आकारको हिमताल फुटेर अत्यधिक वर्षा तथा हिउँ पग्लिएका कारण सुरु भएको विपदलाई सहयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । पेमदाङ खोलाको मुहान क्षेत्रमा रहेको सानो आकारको हिमताल अहिले देखिएको छैन । प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२० को नोभेम्बर १ को स्याटेलाइट तस्बिरमा पेमदाङ खोलाको मुहान क्षेत्रमा २७ सय ६१ वर्ग मिटर क्षेत्रफलको हिमताल देखिन्छ । सन् २०२१ को मे १२ को तस्बिरमा सो तालको सतह हिउँले ढाकिएको र आंशिक रुपमा जमेको अवस्थामा थियो । तर बाढी पछि अर्थात सन् २०२१ को जुन २३ को तस्बिरमा ताल देखिएको छैन । भी आकारको बहाव मार्ग स्पष्ट रुपमा देखिएको छ ।’

यसको अर्थ माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा तथा हिउँ पग्लिएर आएको पानीका कारण आएको बाढीले ‘ठूलो आकारको घर’ जत्रो हिमताललाई पनि बगाएको देखिने अनुसन्धानकर्ताले बताएका छन् । हिमतालसँगै त्यसको वरपर रहेका मोरेन, गेग्रान तथा थिग्रानहरु बग्दा तल्लो तटीय क्षेत्रमा क्षति भएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानकर्ता श्रेष्ठले भने, ‘हिमताल निकै सानो थियो, जोखिममा रहेको थिएन । तर माथिबाट आएको पानी तथा गेग्रानले त्यसलाई फुटाएको हो । हिमताल मात्रै एउटा कारक होइन ।’

समान वातावरणीय अवस्था रहेका कारण यस्तै खालको गतिविधि याङ्ग्री खोलाको मुहान क्षेत्रमा पनि भएको हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् । तर विस्तृत विवरणका लागि थप अनुसन्धानको खाँचो रहेको उल्लेख छ ।

मेलम्ची विपदको आकार ठूलो बनाउनमा हिमताल भन्दा ५.८ किलोमिटर तल तथा पेमदाङ र मेलम्ची खोलको संगमस्थल भन्दा १.८ किलोमिटर तल रहेको ब्रेमथाङको पुरानो पहिरोको बाँधलाई माथिबाट आएको ठूलो आकारको गेग्रान बहावले हिर्काउँदा सक्रिय भएको पहिरो पनि कारक देखिएको छ ।

यस्तै मेलम्ची खोलाको बायाँ किनार, मेलम्चीघ्याङको पूर्वी क्षेत्रमा नयाँ पहिरो गएको र सो पहिरोको प्रभाव पनि माथिबाट आएको गेग्रानसहितको बाढीमा परेको देखिएको हो । ठूलो मात्रामा गेग्रान तथा लेदोसहित आएको बाढीले बहावको क्रममा नदी किनारमा भू–क्षय गएको तथा यसअघिका बाढीले ल्याएर थुपारेको सामग्रीहरुलाई पनि बगाउँदा हेलम्बु तथा मेलम्ची क्षेत्रमा प्रभाव बढी परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

२०७२ सालमा गएको भूकम्पका कारण कमजोर बनेको भौगर्भिक अवस्थामा अहिलेको अत्यधिक वर्षा, हिउँ पग्लने तथा हिमताल फुट्नेसहितका गतिविधि सहज भएको हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

मौसमी तथा जलवायुजन्य, उच्च हिमाली क्षेत्रको हिउँ तथा हिमतालजन्य गतिविधिसँगै मानवीय गतिविधिका कारण कमजोर बनाइएका भौगोलिक अवस्थितिहरुलाई एकसाथ वा क्रमवद्ध रुपमा एकअर्कालाई सहयोग गर्ने ‘इभेन्ट’ ले मेलम्ची विपद निम्त्याएको देखिएको हो । माथिबाट आएको गेग्रानसहितको बाढी नदीको बहाव मार्ग कम हुँदा वा बहाव मार्गमा संरचनाहरु बनाइएका कारण क्षति भएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विस्तृत अध्ययन आवश्यक


अनुसन्धानकर्ता अरुण भक्त श्रेष्ठले मेलम्ची विपदको विस्तृत कारण तथा भविष्यमा हुन सक्ने यस्ता घटनाको सम्भावित जोखिम आँकलनका लागि बिस्तारित तहको स्थलगत अध्ययनको खाँचो रहेको बताए । उनका अनुसार अध्ययनलाई बिस्तार गरेर तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण फेरिएको मौसमी गतिविधि र त्यसका प्राभवहरुको मूल्यांकन एवम् जोखिम न्यूनिकरण तथा व्यवस्थापन उपायहरुको खोजीका लागि अध्ययन गरिनु पर्छ ।

उनले भने, ‘विपदका घटनाहरुको स्वरुप फेरिँदै गएको छ । मेलम्ची विपदले पनि त्यहि देखाउँछ । पहिले मध्य पहाडी क्षेत्रमा विपदको जोखिम हुने गरेको थियो । अहिले माथिल्लो हिमाली क्षेत्रबाटै विपदका घटनाको सुरुवात हुँदा जोखिमको तह बिस्तार भएको छ । हिन्दु कुश हिमालय क्षेत्रमा प्रतिकार्य योजना तथा विपद जोखिम न्यूनिकरणका उपायहरु समयानुकुल परिमार्जनका लागि अध्ययन र सोही अनुसारको तयारीको खाँचो यी घटनाले देखाएका छन् ।’

मेलम्चीमा असार १ गते गएको बाढीका कारण पाँच जनाको मृत्यु भएको तथा २० जना घाइते भएको तथ्यांक राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग छ । यस्तै ३३७ घरमा पूर्ण क्षति भएको छ भने ५२५ परिवार विस्थापित भएका छन् ।

इसिमोडले गरेको अध्ययनले डेढ महिनाअघि गएको बाढीको कारण केही हदसम्म थाहा भए पनि गएको शनिबार भेमथाङहुँदै गएको सोही प्रकृतिको बाढीको कारण भने स्पष्ट छैन । त्यसबारे अध्ययनको तयारी भइरहेको सरकारी निकायहरुले बताएको छन् । इसिमोडले पनि पछिल्लो घटनाको अध्ययनको तयारी गरेको जनाएको छ ।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्