राजनीतिमा तेस्राे पुस्ता

‘यस्तो राजनीतिले हामी कहिँ पुग्दैनौँ’

उनले परिवारमा विद्रोह गरिन्। बोलिनन् मात्र गरेर देखाइन्। गाउँमा आफन्तहरुले गर्ने व्यवहारका विरुद्ध विद्रोह गरिन्। उनी सम्पन्न परिवारमा जन्मिएकी थिइन् तर गाउँमा त्यही सम्पन्न परिवारका व्यवहार देखेर विद्रोहमा लागिन्।

पञ्चा सिंहको परिवार कांग्रेस थियो। बुवा स्यानु सिंह स्थानिय विद्यालयमा हेडमास्टर। साथै कांग्रेसको राजनितिक संगठनमा सक्रिय थिए। बुवाले भन्ने गरेको ‘गिरिजाको मोरङ र मेरो सिमखेत’ उनी सम्झिइरहन्छिन्। कालिकोटको सिमखेत बुवाको जन्मे हुर्केको ठाउँ- जहाँ उनी पनि जन्मिइन र हुर्किइन्।

परिवार सम्पन्न नै थियो। पञ्चा सिंहले घरमा काम गर्नु परेन। सानै उमेरका चार सन्तान गुमाइसकेको परिवारले छोरीलाई कुनै कुराको कमी हुन दिएको थिएन।

त्यतिबेला सिमखेत नेपाली कांग्रेसको आधार इलाका थियो। उनीहरुकै दबदबा थियो।

पञ्चा आजित थिइन्। कांग्रेसको राजनीतिमा लागेका हुनेखानेहरुको व्यवहार देखेर। पञ्चा भन्छिन्, ‘उनीहरुको व्यवहार पञ्चायती शैलीको थियो। कसैको छोरी राम्रो भए आफ्नो बुहारी हुनैपर्ने। कसैको राम्रो बाली भए उनीहरुको घरमा टक्रयाउनै पर्ने।’ हजुरबुवा, बुवाहरुको त्यो संस्कृति पञ्चालाई मन परेन।

माओवादी द्वन्द्व चर्किसकेको थियो। हुर्कँदै गएकी उनी माओवादीका मुद्दाहरुबाट प्रभावित भइन्। पञ्चाले त्यतै लाग्ने निधो गरिन्।

कांग्रेसको गढ। कांग्रेसको रातनीतिमा भएको परिवारबाट अझ माओवादीमा जान्छु भन्दा स्विकार्ने कुरै थिएन। अनी परिवारमा कलह मच्चियो। ‘चार सन्तान गुमाइसकेका मेरो बुवाआमाले हुर्कँदै गरेकी छोरी बन्दुक बोकेर जनयुद्धमा लाग्दा राजनीतिक रुपमा असहमति त थियो नै, भावनात्मक रुपमा पनि ठूलो चोट पर्‍यो। परिवारमा सन्नाटा छायो,’ उनले भनिन्- ‘मेरो आमा बुवा डिप्रेसनमा जानु भयो।’

जनयुद्धको समयमा

पञ्चा सिंह चौध बर्षको उमेरमा माओवादीको बन्दुक बोकेर हिँडिन्। उनी जुम्ला पुगिन्। घर छोडेर हिँडेको केही पछि पञ्चा २०५८ जेठ २१ गते पार्टीमा पूर्णकालीन भइन् र अखिल (क्रान्तिकारी) को एरिया अध्यक्ष भइन्। सुरुमा पार्टीले विश्वास गरेन। ‘राम्रै परिवार, हेडमास्टरकी छोरी, कांग्रेस पृष्ठभुमि सुरुमा त पार्टीले मलाइ पत्याएन,’ हाँस्दै उनले भनिन्, ‘सुरुमा त यो भाग्छे भनेका थिए।’

अरुले छ महिनामै सदस्यता पाए तर मलाई दिएनन्। ‘मलाई रिस उठ्यो’, भावुक हुँदै उनले भनिन्, ‘कि त नल्याउनु थियो ल्याइसकेपछि विश्वास गर्नु पर्थ्यो।’ उनले अठोट लिइन केही गर्ने। ‘पछि हट्ने ठाउँ पनि थिएन मैले परिवारसँग गरेको विद्रोहबाट’, उनले भनिन्।

जनयुद्धको बेला संगठन निर्माणपछि जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा।

यता आमा कमला सिंह छोरी घर छोडेर हिडेको बाटो हेर्थिन्। फर्किएर आउँछे भन्ने आशमा। उनले सुनेकी थिइन् छोरी जुम्लामा छे भन्ने। उनको घर हुँदै जान्थ्यो जुम्ला जाने बाटो। घर अगाडि हिँड्ने हरेक बटुवासँग कुरा गर्थिन्। हुलिया बताउँदै सोध्ने गर्थिन्- ‘यस्तो हुलियाको माओवादी कसैले देख्नु भएको छ? देख्नु भएको छ भने त्यो मेरो छोरी हो। उसलाई खुवाइदिनू। उसलाई घरमा बास दिनू। मेरो छोरीको ख्याल गरिदिनू होला। मेरो छोरीले केही लगेको छ भने आउँदा जाँदा मलाई भन्नुहोला म दिन्छु।’ आमाले बटुवासँग गरेका यी कुरा पञ्चाले पछि थाहा पाइन्।

जनयुद्धकाे समयमा घरमा आएको बेला ठुलाेबुवा र अंकलहरुसँग पञ्चा सिंह।

पञ्चा कहिलेकाहिँ घर आउँथिन्। तर आमाको त्यो अवस्था र परिवारको दबाव सुन्नुभन्दा बाटो लाग्थिनु।

‘हरेक पटक परिवारले भन्ने कुरा एउटै हुन्थ्यो। आत्मसमर्पण गरेको भए हुन्थ्यो। पार्टी छोडेर पढाइ गरेको भए हुन्थ्यो। अझ छोरी हामीसँगै बसेको भए हामी खुसी हुन्थ्यौँ भन्ने आमा बुवाको मन,’ उनले भनिन्, ‘यी कुराको दवाव मलाई लामो समयसम्म रह्यो।’

२०६२ सालमा जुम्लाको जिल्ला अध्यक्ष हुँदा पदाधिकारी साथीहरुसँग।

तर पञ्चा पार्टीमा लागिरहिन् । उनी २०५८ असोजमा अखिल (क्रान्तिकारी) जिल्ला समिति सदस्य भइन्। २०५९ मा जिल्ला कमिटी कोषाध्यक्ष। २०६० मा जुम्ला +कालिकोटको अध्यक्ष। २०६४ को  १७औँ राष्ट्रिय सम्मेलन बाट केन्द्रीय सदस्य हुँदै २१औँ राष्ट्रिय सम्मेलन बाट सर्बाधिक धेरै भोट ल्याएर केन्द्रीय उपाध्यक्ष पद जितिन्।

पञ्चा सिंहले युद्धको राजनीति गरिन्। भूमिगत भइन्। आँखैअगाडि साथी ढलेको देखिन्। घाइते साथीलाई काँधमा हालेर उपचारका लागि लगिन्। उनका नेताहरुको टाउकाको मूल्य तोकिएको उनलाई थाहा थियो।

उनी केही मुद्दा मन परेर माओवादीमा लागेकी थिइन्। तर लक्ष्य पूरा भएको उनी मान्दिनन्। ‘कम्युनिष्टको अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवादको हो. त्यसैले हाम्रो अन्तिम लक्ष्य पूरा भएको जस्तो लाग्दैन’, उनले भनिन्।

हिजो र आजको तुलना गर्दा हिजोकै व्यवस्था ठिक थियो कि भन्ने ठाउँमा मान्छेहरु पुगेको उनलाई लाग्छ। ‘विकास छैन, दलहरु नै भ्रष्टाचारमा डुबेका छन्। यी कुराहरुले निराशा देखिन्छ,’ उनले भनिन्, ‘तर यी सुधार गर्दै जान सकिने कुराहरु हुन्।’

उनी भन्छिन्- ‘हामी अहिलेका युवाले नेताको दलाली गर्ने र दास मनोवृत्ति बनाएर राजनीति गर्ने विचार गर्‍यौँ भने यो देश अगाडि बढ्दैन।’

नेतृत्वले गल्ती गर्दा औँला ठड्याउने नैतिक धरातल हामीले बनाउनुपर्ने उनको धारणा छ। ‘हिजो हामी व्यवस्था परिवर्तनका लागि लड्यौँ। त्यतिबेलाका नेतृत्वले गरेका गल्तीहरु सच्याउन लड्यौँ। तर आज प्रचण्डले गरेका गल्तीका विरुद्ध आवाज नउठाउने भन्ने हुँदैन’, उनले भनिन्।

‘गलत प्रवृति सुधार्न युवा नै अघि लाग्नु पर्छ,’ उनले भनिन्, ‘यस्तो आन्दोलनमा हानिएका ढुङ्गा विशुद्ध ढुङ्गा मात्र होइनन्, बालिएका मसाल विशुद्ध मसाल मात्र होइनन्।यसैले हिजोका ठूलाठूला व्यवस्था हामीले परिवर्तन गर्‍यौँ।’

सबै नीतिहरुको मूलनिति भएका कारण राजनीतिमा भएका खराबीहरुको अन्य नभएसम्म कुनै कुरा राम्रो हुन नसक्ने उनको तर्क छ। यही भएका खराबीहरु सुधार्नका लागि हानिएका ढुङ्गा झट्ट हेर्दा अराजकता जस्तो देखिए पनि त्यसरी नबुझ्न उनको आग्रह छ।

हामी युवाहरु पदको लोभमा लागेको उनको आरोप छ। ‘आजको दिनमा प्रचण्डको अनुहार हेरेर मलाई यो ठाउँ चाहिन्छ भन्ने मनोविज्ञान मैले बनाउने हो भने म कहिँ पनि पुग्दिनँ’, उनले भनिन्। शेरबहादुर देउवाले मलाइ ठाउँ दिनुपर्छ, माधवकुमार नेपाल, केपी ओलीले ठाउँ दिनु पर्छ भन्ने मनोविज्ञानले कहिँ पुगिँदैन भन्ने उनको बुझाइ छ।

‘आजको दिनमा हाम्रो अवस्था हेरेर, अध्ययन गरेर देशलाई कहाँ पुर्‍याउने हो? आफ्नै ढंगले सोच्न पाउनु पर्छ र पार्टीले यो ठाउँ दिनुपर्छ,’ उनले भनिन्।

पञ्चा सिंहले परिवारसँग लडिन्। बन्दुक उठाएर सेनासँग लडिन्। महिला भएकै कारण पार्टी र पार्टी बाहिर हुने विभेदका विरुद्ध लडिन्। व्यवस्थाका विरुद्ध लडिन्। लडाइँको मैदानमा हुँदा लाग्थ्यो, यस्तो अवस्था कसैले भोग्नु नपरोस्। घर छोडेर जाँदा रिसाएको परिवार त अहिले खुसी छ तर जुन परिवर्तनका लागि उनीले बन्दुक उठाउने निर्णय गरेकी थिइन्, त्यो पुरा नहुँदा अहिले उनी आफै दु:खी छिन्।

त्यसैले उनी भन्छिन्, ‘अब आउने पुस्ताले खराब शासक झेल्न नपरोस्।’

साउन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्