अफगानिस्तानका रक्षा मन्त्रीको काबुलस्थित घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ ।

उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो ।

आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका हुन् ।

मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको सुरक्षा बलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अफगानिस्तानका प्रमुख शहरहरुमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबिच भिडन्त जारी रहेका बेला आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्काल हिंसा अन्त्य गर्न आह्वान गरे पनि भिडन्त जारी छ ।

रक्षा मन्त्रीको घरमा भएको आक्रमणमा चारजनाको ज्यान गएको सुरक्षा अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

इटालियन मेडिकल च्यारिटी इमर्जेन्सीले अरु ११ जना घाइतेलाई आफ्नो स्वास्थ्य केन्द्रमा ल्याइएको जनाएको छ । खबरमा चार आक्रमणकारी पनि मारिएको उल्लेख छ ।

आक्रमणपछि मन्त्री बिस्मिल्लाहले ट्वीट गरेर सबै कुरा राम्रो रहेको र चिन्ता नलिन भनेका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले रक्षा मन्त्री बिस्मिल्लाहको घरमा भएको आक्रमण तालिबान आक्रमणको सम्पूर्ण संकेत रहेको बताएको छ ।

साउन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्