अटोमोबाइल क्षेत्रलाई पुनः गतिशील अवस्थामा पुर्‍याउन नाडाको आग्रह

काठमाडौँ– नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ।

भेटका क्रममा प्रधानमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै कोभिड १९ का कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पुर्‍याउन सरकारबाट विशेष पहल गरिदिन टोलीले आग्रह गरेको छ।

सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्यसमिति सदस्य, सार्वजनिक सवारीसाधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायी ठूलो मर्कामा परेकाले उनीहरूको राहतका लागि सरकारले अन्य व्यवसायीलाई उपलब्ध गराउँदै आएजस्तै आर्थिक राहत व्यवसायीलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरेका हुन्।

सो छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो–टीएस–५ लागू गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीलाई पर्याप्त समय उपलब्ध गराइदिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रहसमेत गरे।

छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल, एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायत सहभागी थिए।

साउन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्