दुर्गेश थापासँग जोडिएका ६ विवादहरु–प्रहरी चौकीदेखि संस्थानको बहिष्कारसम्म

काठमाडौँ – पछिल्लो दुई वर्षदेखि गायक तथा मोडल दुर्गेश थापाको नाम सञ्चार माध्यममा आउने बित्तिकै विवाद जोडिएर आइरहेको छ। गीतमा प्रयोग भएका शब्ददेखि विवादित अन्तर्वार्ताले उनलाई सधैँ आलोचना र चर्चाको केन्द्रमा राखेको छ।

सन् २०१९ को जुलाई १४ मा सार्वजनिक भएको ‘बिच्च बिच्चमा’ गीत भाइरल भयो। मौलिक पर्व तीजमा गाइने लोक गीतका शब्दलाई टपक्कै टिपेर आधुनिक बाजामा गाइएको गीत नयाँ स्वादको निस्कियो।

२०६८ सालतिर पहिलो पल्ट मोडल भई ‘जुनले मात्र देख्छ हाम्ले माया लाको’ बोलको गीतमा अभिनय गरि यो क्षेत्रमा कदम चालेका थिए दुर्गेशले। त्यसको झण्डै ३ देखि ४ वर्षपछि उनी आफैले गीत गाए, अभिनय गरे ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु।’ त्यसपछि उनको अभिनय यात्रा र गीत निकाल्ने क्रम जारी रहिरह्यो।

तर संघर्षका ८ वर्षमा उनी जुन गतिले अगाडि बढिरहेका थिए, ‘बिच्च बिच्चमा’ ले यसलाई नाप्नै नसकिने गरि अगाडि पुर्‍याइदियो। सीमित दर्शकको नजरमा रहेका दुर्गेशको परिचय फराकिलो बनाइदियो। अनि उनी ‘चर्चित’ कलाकारमा गनिन थाले। मुलधारका पत्रपत्रिका, अनलाइनको हेडलाइन र राष्ट्रिय टेलिभिजनमा उनका अन्तर्वार्ता आउन थाल्यो।

उनको गीत चर्चाको यति उच्च शिखरमा पुग्यो कि दुर्गेशको गीत नसुन्ने ‘को होला ?’ जस्तो भयो। बिच्च बिच्चमा यति धेरै चर्चित भयो, निर्माता तथा हाँस्य कलाकार दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्र ‘छ माया छपक्कै’ ले आफ्नो चलचित्र प्रदर्शनको मितिलाई जनमानस सम्म पुर्‍याउन ‘प्रमोशन’ का लागि यही भाकामा अर्कै शब्द भरेर गीत सार्वजनिक गर्‍यो।

गीतको भिडियोमा दुर्गेशको साथीहरुको सट्टा दीपक, दीपा, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकार दुर्गेशसँग देखा परे। उही लय, उही ताल अनि उही संगीत। दुर्गेशको युट्युब च्यानलमा अहिले पनि यो गीत छ।

अचम्म लाग्ने कुरा के हो भने, यी दुवै गीतको ‘भ्यूज’ २ लाख २४ हजारको मात्र फरक छ।

प्रमोशनको लागि गाइएको गीतको भ्यूज माथि पुग्नु र दुर्गेशको नाम विवादमा होमिन सुरु हुनु संयोग जस्तै लाग्छन्, किनकी यसपछिका उनका एकल स्वामित्वका गीत १,२ बाहेक सबै विवादमा परेका छन् अनि उनको अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्ति पनि विवादबाट अछुतो रहन सकेन।

विवाद १, ‘छ माया छपक्कै बिच्च बिच्चमा’


‘बिच्च बिच्चमा’ ओरिजिलन गीत, जो उक्त समयमा सर्वाधिक सकारात्मक चर्चामा थियो त्यसैको नजिक–नजिक प्रमोशनको लागि गाइएको गीत पुगेको छ।

दीपकराज गिरीको समूहमा भएका सबै कलाकार नेपाली चलचित्र, कलाकारिता क्षेत्रका शसक्त कलाकार हुन्। उनीहरु अभिनय र व्यावसायिक रुपमा नै सफल गनिन्छन्। उनीहरु संलग्न भई प्रचार गरेपछि गीत चल्ने नै भयो।

भ्यूज माथि पुगेको अर्को कारण हो, गीतको शब्द –

माग्ने, मुन्द्रे भन्टाङ भुन्टुङ, दिपकराज चाँही बुढो छ!
यसपाली त दीपाश्री ‘व्याउने’ कुरो छ!

गीतको पाँचौँ अन्तराको शब्द हो यो। यसलाई १० मिनेटको भिडियोमा दुईपल्ट बजाइएको छ। भिडियो डिस्क्रिप्सनमा नाम उल्लेख गरेअनुसार यसको शब्द दुर्गेशले नै लेखेका हुन्। तर यो उनकै प्रयत्न थियो की चलचित्र निर्माण टोलीको पनि योगदान थियो सूचना अज्ञात छ। तर चलचित्र प्रमोशनको लागि अनौठो शैली अपनाउने शैली दीपक दीपा टोलीसँग छ। गीत सार्वजनिक भएपछि ‘अविवाहित दीपा श्री निरौला व्याउने कुरा छ’ ले सर्वसाधारणको ध्यान खिच्यो, खिच्नु नौलो होइन।

धेरैले यसलाई जानि जानि गरिएको फन्डाको रुपमा व्याख्या गरे। गीतको आलोचना भयो तर भिडियोमा नै देखिएका चलचित्र निर्माता टोली र निर्देशक समेत रहेकी दीपाश्री निरौलालो गीत सार्वजनिक गर्ने बेलामा र पछि पनि खासै प्रतिक्रिया देखाएनन्।

चलचित्र प्रदर्शन हुनु अगाडि फन्डा गरेर प्रोमोशन गर्ने चलन पुरानै हो, यो गीत विवादमा आएपछि यसले अप्रत्यक्ष रुपमा चलचित्रको प्रदर्शन मिति प्रचारमा सहयोग पुगेको अनुमान जो कोहीले लगाउन सक्छ ।

विवाद २, ह्याप्पी तिहार चिसो बियर (प्रहरी चौकी सम्मको यात्रा)


त्यही वर्ष अशोजमा उनको तिहार गीत आयो ‘ह्याप्पी तिहार चिसो बियर’ । भाइरल गायकको सांगीतिक कोशेलीमा सबैको ध्यान हुन्छ नै। गाउँको भाकालाई आधुनिक बाजामा मिसाएर उनले गीत गाएपछि उनले सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउलान भन्ने अपेक्षा राख्नेहरु पनि थिए होला।

प्रहरी नियन्त्रणमै आफ्नो गीतका लागि माफी माग्दै गायक दुर्गेश थापा। तस्बिर: बर्षा शाह

तर गीत सार्वजनिक भएको केही दिनमा नै विवादित भयो। नेपाली बियर कम्पनीको ठूला ठूला होर्डिङ बोर्ड टाँगेर उनले बियर र गाँजालाई प्रमोशन गरेको धेरैले आरोप लगाए। मदिराको ब्राण्डलाई विज्ञापनका रुपमा त्यो पनि एकदमै शंवेदनशील तरिकाले गरिन्छ। संगीत, समाचार लगायत अन्य क्षेत्रमा मदिरा र नशालु पदार्थको प्रमोशन निषेध छ।

त्यो भन्दा ठूलो आलोचना त उनले मौलिक चाड तिहारलाई भड्किलो बनाएको भन्ने थियो। संस्कार र संस्कृतिमा प्रहार भयो भनेर मानिसहरु यति क्रूद्ध भए कि जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा नै दर्ता भयो।

२०७७ साल कात्तिक ५ गते प्रहरीले दुर्गेशलाई नियन्त्रणमा लियो। प्रहरीले गीत युट्युबबाट हटाएमा र सार्वजनिक रुपमा माफी मागेमा हिरासत मुक्त गर्ने भन्यो । प्रहरीले भनेको मानेपछि उनी मुक्त भए। अहिले त्यो गीतलाई दुर्गेशले बियर र गाँजाको नाममा ‘बिप’ गरेर आफ्नै युट्युब च्यानलमा अपलोड गरेका छन्।

विवाद ३, ‘बिच्च बिच्चमा ३’ गीतमा सारी र ब्लाउज लगाएर नाचेपछि


बसन्त थापाको शब्द र संगीतमा बनेको यो गीतको प्रस्तुति विवादमा पर्‍यो। गीतको एक अन्तरामा एक सांसदले भारतको पक्ष लिएको विषयलाई समावेश गरिएको छ।

उक्त अन्तराको प्रस्तुतिमा भिडियोमा देखिएका टोलीले महिलाको पहिरन, सारी र ब्लाउज लगाएका छन्।

दुर्गेशले यो पहिरन रमाइलो र फरक देखाउन प्रयोग गरेको बताएका थिए। तर उनलाई संस्कृति मासेको र महिलाको अपमान गरेको भनेर आलोचना भने खेप्नुपर्‍यो।

विवाद ४, ऋषि धमलाको अन्तर्वार्तामा चिप्लिएपछि


प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तवार्ताका क्रममा उनि चिप्लिए, त्यसपछि भने उनको चौतर्फी आलोचना भयो।

कार्यक्रम प्रस्तोता धमलाले दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको कुनै एउटा गीत गाउन भने, दुर्गेशले भने भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ गाइदिए।

कुरा यत्तिमा नै टुंगिएन, यम बरालको गीत मनपर्छ भनेका दुर्गेशले राम कृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाए।’ यो अन्तर्वार्तामा उनको स्वरको पनि आलोचना भयो। उनी विभिन्न ट्रोलको शिकार समेत भए।

अन्तर्वार्ता विवादमा परेपछि दुर्गेशले देशसञ्चारसँग भनेका थिए, ‘अन्तर्वार्ता दिन तयार थिइन, धमला जीको प्रश्न सोध्ने तरिका पनि त्यस्तै भयो, म फेरि चिप्लिए।’

विवाद ५, टिकटक लाइभमा मोडल गरिमा शर्मासँग बोलेको शब्द


असारको अन्तिम साता यो विषय चर्चामा आयो। टिकटक लाइभमा मोडल गरिमा शर्मासँग दुर्गेश थापाले लाइभ गेम खेलेका थिए।

जसमा यी दुई भूतपूर्व प्रेमी प्रेमिकाका रुपमा प्रस्तुत भइरहेका थिए। उनीहरु झगडा गरेजस्तो गर्दैगर्दा दुर्गेशले गरिमालाई मुख छोडे । यसपछि यो क्लिप भाइरल भयो।

यो विषयमा दुर्गेशले केही प्रतिक्रिया जनाएनन् तर उनकाे सार्वजनिक अभिव्यक्तिको आलोचना भएको थियो।

विवाद ६, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानको बहिष्कार


एक साता अगाडि ‘बिच्च बिच्चमा ४’ गीत सार्वजनिक भएपछि थापा आलोचनासहित सजायको भागीदार भएका छन्। यो पल्ट दर्शक, स्रोताकासाथ साथै उनकै क्षेत्रका व्यक्तित्वहरुसँग लफडा परिरहेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनले प्रयोग गरेको शब्द आपत्तिजनक भएको भन्दै उनलाई गीतको शब्द हटाउन ध्यानआकर्षण पत्र लेखेको थियो तर दुर्गेशले प्रतिष्ठानको प्रतिक्रियालाई वेवास्ता गरी गीत सार्वजनिक गरे। अहिले प्रतिष्ठानले उनलाई बहिष्कार गर्ने निर्णय गरेको छ।

त्यसपछि उनी प्रतिष्ठानको कदमको जवाफमा ‘बहिष्कार’ गीत ल्याउने तयारीमा छन्। पत्रकार ऋषि धमलाको अन्तर्वार्तामा चिप्लिएपछि उनलाई आलु जस्तो गायक भनेर ट्रोल गरिएको थियो, उनले त्यसको जपाफमा ‘आलु जस्तो गायक’ बोलको गीत ल्याएका थिए।

पछिल्लो केही गीतहरु भड्किलो बनाएको आरोप खेपिरहेका दुर्गेश एक पछि अर्को विवादमा फस्दै गइरहेका छन्।

झण्डै ५ महिना अगाडि शिवरात्री लक्षित गरेर सार्वजनिक गरेको गीतमा पनि बिच्च बिच्चमा गीतका गायक दुर्गेश दर्शकले भेटाएनन्। उनले गाएका केही गीत पुरानो भएपनि दर्शक, स्रोताको मनमा गढेर बसेको छ।

सबै गीत विवादित छैनन्


दुर्गेश बिच्चबिच्चमा १० सम्म ल्याउने सुनाउँछन्। बिच्च बिच्चमा दुर्गेशको ब्राण्ड जस्तै भइसकेको छ र जनमानसमा प्रिय। त्यसैले ‘बिच्च बिच्चमा–२ र ३’ पनि चर्चाको शिखरमा पुग्यो। २ मा कोरोनाले जिल्ल पार्‍यो, यो वर्ष तामझाम नगर, पोहोरकै साडी लगाउ जस्ता शब्दहरु थिए।

भिडियोमा रमाइलो गरेको देखाइयो। पुरानो ढर्रालाई नयाँपन दिन उनी शिपालु भन्ने कुरा यो गीतले प्रमाणित गरिदियो। गीतको शब्द बनाउन राम खत्री र राजन कार्कीलाई दुर्गेशले सघाएका थिए। दुर्गेश आफैले संगीत भरेको यो गीतले गाली पाएको छैन।

त्यसको दुई साता नपुग्दै दुर्गेशले ‘बिच्च बिच्चमा ३’ ल्याए। जसले चर्चासँगै सम्मान पनि पायो। कोरोनाको उपचारको लागि सरकारबाट भइरहेको बेवास्ता अनि कमीकमजोरीलाई गीतको शब्दले बखान गर्‍यो। यो गीतको शब्द बसन्त बस्नेतले लेखेका थिए।

त्यो समय दुर्गेशको यो कोसेलीलाई धेरैले सरकारको कमीकमजोरी देखाइदिएको हतियार सम्झे। युट्युबमा उनको प्रशंसा नै प्रशंसाका कमेन्ट छन्।

यो पल्ट संवेदनशील विषय उठाएका दुर्गेशलाई सरकारको विरोध गर्दा प्रहरी हिरासतमा पुगे डर छ कि छैन भनेर प्रश्न गर्दा उनले भनेका थिए, ‘सत्य कुरा भन्दा जेल लैजान्छन् भने जान तयार छु।’

यो गीतले सामाजिक स्वीकृत, राजनीति र जटिल स्वास्थ्य व्यवस्थाको बारेमा बोलेको भएर यो गीतको विरोध भएन।

साउन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्