महाकवि देवकोटाको घर भत्काइयो

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ।

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ। सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ। उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु। उहाँहरु जे गर्नुहुन्छ, राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ।’

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो। देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ।

साउन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्