हात्तीको दाँतसहित तीन जना पक्राउ

नेपालगञ्ज– बाँके प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार विहान ११ बजेतिर बैजनाथ गाउँपालिका वडा नं. ६, सम्झनाचोकबाट हात्तीको दुई थान दाँतसहित दाङ बबई गाउँपालिकाका दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिकाका टीकाराम सुनार र धनबहादुर सुनारलाई पक्राउ गरेको हो।

वन्यजन्तुको अंगको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएको प्रहरीले उनीहरुलाई बाटोमा हिडिरहेको बेलामा जाँच गरेको थियो।

त्यसक्रममा दलबहादुर सुनारले बोकेको कालो रंगको झोलाभित्र सेतो प्लाष्टिकले बेरेको हात्तीको दुई वटा दाँत फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

साउन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्