मित्रबन्धु पौडेलसँग अन्तर्वार्ता

‘कर्मचारीलाई संस्थामा जोगाइराख्न राम्रो खाना’

डा. मित्रबन्धु पौडेलले स्विट्जरल्यान्डको स्विस म्यानेजमेन्ट स्कुलबाट ‘इम्प्लोई रिटेन्सन’मा  ‘इमोसनल इन्टेलिजेन्स’को भूमिकाबारे पीएचडी गरेका छन्। एलए कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. पौडेल साहित्य र समसामयिक लेखनमा पनि रुचि राख्छन्। उनीसँग देशसञ्चारले लिएको अन्तर्वार्ता:

० इमोसनल इन्टेलिजेन्सको कन्सेप्टबारे बताइदिनुस् न?

— यसको कन्सेप्टबारे बुझ्नुभन्दा पहिला इमोसन्सबारे जान्नु जरुरी हुन्छ। ‘इमोसन’ ल्याटिनबाट आएको शब्द हो। यसको अर्थ हो ‘मुभ अवे’ अर्थात् अगाडि बढ्नु। इमोसनल इन्टेलिजेन्सबारे कुरा गर्दा एडवर्ड थ्रोनडाइकले १९२० मा सोसल इन्टेलिजेन्सको कन्सेप्ट ल्याए। त्यहाँबाटै इमोसनल इन्टेलिजेन्सको ओरिजिन सुरु भा’को मानिन्छ। त्यसपछि रेभरोन बारोन भन्ने अर्का एक जना इमोसनल इन्टेलिजेन्समा काम गर्ने व्यक्ति हुनुहुन्छ, उहाँका अनुसार संवेगात्मक भाव चार्ल्स डार्विनको सुरुवाती दिनमै उनको सिद्धान्तसँग आभारभूत रूपमा आउँछ। सर्भाइभल र एडप्टेसनको जगमा इमोसन अडिएको छ। हवार्ड गार्डनरले पनि मल्टिपल इन्टेलिजेन्सको कुरा गर्नुभएको छ।

जस्तो मानिसमा हुन्छ लिंग्विस्टिक इन्टेलिजेन्स, म्युजिकल इन्टेलिजेन्स, लजिकल इन्टेलिजेन्स, पर्सनल इन्टेलिजेन्स। उहाँले यस्ता धेरै इन्टेलिजेन्सको कुरा गर्नुभएको छ, त्योचाहिँ मल्टिपल इन्टेलिजेन्स हो। इम्पेरिकल थ्योरीका आधारमा रिसर्च गरिएको छ। इमोसनल इन्टेलिजेन्समा तीन वटा सिद्धान्त छन्। र, मान्छेको इमोसनसँगको कुरामा मायर, स्यालोभी र क्यारोसुको चाहिँ एउटा धारणा छ एभिलिटी मोडल। इमोसन त्यसपछि इन्टेलिजेन्स, साइकोथेरापी अनि कग्निसन्सका कुरा उहाँहरूको मोडलमा आउँछ। मैले ड्यानियल गोलम्यानसँग कन्टेक्सलाइज गरेर रिसर्च गरेको छु।

गोलम्यानको मिक्स्ड मोडलजस्तो सेल्फ अवारनेसको कुरा गर्नुहुन्छ उहाँहरू। सेल्फ म्यानेजमेन्ट, सोसल अवारनेस, रिलेसनसिप म्यानेजमेन्ट ड्यानियल गोलमेनको दोस्रो मोडल हो। तेस्रो मोडल भनेको चाहिँ बारोन मोडल हो। यो मोडलमा इन्ट्रापर्सनल, इन्टरपर्सनल, स्ट्रेस म्यानेजमेन्ट, एडपटाबिलिटी र जनरल मुड गरी पाँच वटा स्केललाई मेन्सन गरिएको छ।

० यहाँले इम्प्लोइ रिटेन्सनमा इमोसनल इन्टेलिजेन्सको भूमिकाबारे विशेषज्ञता नै हासिल गर्नुभएको छ। यसको पृष्ठभूमि के हो?

— कुनै पनि अर्गनाइजेसनमा इम्प्लोइहरू फ्रिक्विन्ट्ली छोडिराख्या हुन्छ। यसका धेरै कारण हुन सक्छन्। जस्तोः मालिकसँग विचार नमिल्दा, लिडरको कार्यशैलीबाट चित्त नबुझेर काम छाड्न सक्छन्। काम गरिरहेको ठाउँभन्दा अन्त राम्रो सेवासुविधा पायो वा राम्रो अवसर आयो भने छाड्न सक्छ। तर, अर्गनाइजेसनमा राम्रा इम्प्लोइहरूले छाड्नु भनेको अर्गनाइजेसनलाई ठूलो घाटा लाग्नु हो।

त्यसैले कुनै पनि संस्थाको कार्यसञ्चालनमा इम्प्लोइको निरन्तरता वाञ्छनीय हुन्छ। त्यसले निरन्तरता पाओस् भन्ने अपेक्षा गरिन्छ। कुनै पनि इम्प्लोइ कुनै पनि अर्गनाइजेसनमा ६ महिनासम्म बसेको छ भने त्यो सर्टटर्म रिटेनसन भयो, २—३ वर्षसम्म बसेको छ भने मिडिल टर्म रिटेन्सन भयो, ५ वर्षभन्दा पछिको लङटर्म रिटेन्सन भयो। योग्य मान्छे संस्थामा रहिरहनु राम्रो हुन्छ।

तसर्थ अरू फ्याक्टर जे–जस्तो भए पनि कुनै लिडरको इमोसनल इन्टेलिजेन्सको भूमिका के हुन्छ त रिटेन्सनमा भनेर मैले नेपालको कन्टेक्स्टमा स्टडी गरेको हो। र, यसका सन्दर्भमा मैले नेपालमा पनि ख्यातिप्राप्त विश्वविद्यालयका प्राध्यापक, भारत, जापान, अमेरिकालगायत विश्वविद्यालयका प्राध्यापक एवं यससँग सम्बन्धित लेखकसँग इन्डेप्थ अन्तर्वार्ता लिएँ। त्यसपछि उहाँहरूलाई राखेर फोकस ग्रुप डिस्कसन गरेँ र उहाँहरूको यसमा के हो त अनुभव भनेर रिसर्च गरेँ। त्यसपछि उहाँहरूको एक्सपेरियन्सलाई मैले लिपिबद्ध गरेर त्यसलाई जोड्ने काम गरेको हो।

नेपाल, भारत, अमेरिका, जापानलगायत देशमा काम गरिसकेका पार्टिसिपेन्टहरूसँगको सहकार्यमा ‘मेथोडोलोजिकल ट्र्यांगुलेसन’ गरेँ। यसमा १६ वटा तथ्य पत्ता लाग्यो। सेल्फ अवारनेस, सेल्फ म्यानेजमेन्ट, सोसल अवारनेस, रिलेसनसिप म्यानेजमेन्ट र इम्प्लोइ रिटेन्सन गरी मुख्यतः ५ वटा थिम र १६ वटा सबथिम जोडेर त्यसको फिनिसिङ निस्केको हो।

यसको जिस्ट के हो भने कुनै पनि लिडरमा इमोसनल इन्टेलिजेन्स हुनु जरुरी छ। र, मैले लिएका अधिकांश पार्टिसिपेन्ट शैक्षिक संस्थाहरूको बिजनेस लिडर हुनुहुन्थ्यो। कुनै पनि इम्प्लोइ बस्नु वा जानुमा लिडरको महत्वपूर्ण भूमिका हुन्छ भन्ने यसको निष्कर्ष हो।

० नेपालको प्रोफेसनल वर्ल्डमा चाहिँ इमोसनल इन्टेलिजेन्सको उपस्थिति कस्तो छ?

– यो विषय अलिकति नयाँ हो हाम्रो परिप्रेक्षमा। इमोसनल इन्टिलिजेन्सबारे बल्ल प्रचार प्रसार सुरु हुँदै छ। विश्वविद्यालयहरूमा पनि यस विषयमा रिसर्च गर्नेहरूको आकर्षण बढ्दै गएको छ। यो एउटा सवल पक्ष हो। अर्कोचाहिँ के छ भने, हाम्रो समाजमा अलि बढी पितृसत्तात्मक चेतले प्रश्रय पाएको छ। यस्तो ठाउँमा लिडरको मनोपली बढी हुने, लिडरले आफूलाई अथोरिटेरियन टाइपको सम्झने र त्यही अनुसार व्यवहार गर्नेजस्ता मनस्थितिबाट धेरैजसो संस्था गुज्रेको पाइन्छ।

तर, इमोसनल इन्टेलिजेन्सको सही अर्थ त्यो होइन। सबैभन्दा पहिले त हामी आ–आफैँले आफ्नो स्ट्रेन्थ र कमजोरीबारे जज गर्नुपर्छ। खराब र असल पक्ष के हो भन्ने छुट्ट्याउन सक्नुपर्छ। आफूसँगै काम गर्ने साथीको पनि इमोसन्स बुझ्न जरुरी हुन्छ र कसरी हेल्प गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।

आफूलाई लिडर सम्झेर कत्तिको करेक्ट गर्न सक्छु भन्नेतर्फ लाग्नुपर्छ। त्यसले आफूलाई सेल्फ रिफ्लेक्सन पनि दिन्छ। सेल्फ रियलाइजेसन हुनेबित्तिकै अरूको भावना पनि बुझ्न सकिन्छ। हाम्रो पूर्वीय संस्कृति तथा सभ्यता नै इमोसनल इन्टेलिजेन्सको जगमा छ। महाभारतमा पनि इमोसनल इन्टिलिजेन्सको प्रसंग पाइन्छ।

० म्यानेजमेन्ट र प्रोफेसनल वल्र्डमा इम्प्लोइलाई रिटेन्सन गर्न यहाँका थप केही टिप्स छन् कि?

— रिटेन गर्दा खेरी जस्तो अरू ठाउँमा नभाको तर न्युरो साइन्टिस्टहरूको भनाइबाट खाना पनि महत्वपूर्ण छ। पौष्टिक खाना भयो भने त्यसले ब्रेनलाई ह्यापी बनाउँछ। र, ह्यापी ब्रेनले काम पनि राम्रो गर्छ। अनि अर्को स्पोर्टस् पनि महत्वपूर्ण छ। स्पोर्टस्ले ब्रेनलाई प्रशस्त मात्रामा ह्यापी बनाउँछ। र, जब अक्सिजनको लेभल कम हुँदै जान्छ त्यसले स्ट्रेस दिन्छ। त्यसलाई रिलिभ गर्न पनि स्पोर्टस्को अहं भूमिका हुन्छ।

तेस्रो कुरा हो, पेयरिङ प्रोटाकोल। यो भनेको जस्तो ड्रिङक्स र म्युजिकको कम्बिनेसनमा तपाईंले लामो समयसम्म त्यो एक्सपेरिमेन्ट गरिराख्नुभयो भने एउटा खण्डमा म्युजिक नभईकन त्यो पार्टिकुलर ड्रिङक्स लिनुभयो भने तपार्इंको ब्रेनले त्यो म्युजिक फिल गरिराखेको हुन्छ। र, त्यसले एउटा आनन्द दिन्छ। चौथो कुरा, इन्भारोमेन्टल इनरिचमेन्ट हो। यी कुरा नयाँ तरिकाले एक्सपेरिमेन्ट गर्न सकिन्छ। मेरो रिसर्चचाहिँ एजुकेसनसँग सम्बन्धित भएको हुनाले मेरो टिप्स भन्नुपर्दा बिजनेस स्कुलको युनिभर्सिटीको जुन लिडर हुनुहुन्छ, उहाँले चाहिँ इमोसनल इन्टेलिजेन्सको कुराबारे यथेष्ट जानकारी हुन जरुरी छ।

साथै, लिडरले जहिले पनि आफूसँग कार्यरत इम्प्लोइहरूको इफोर्ट वा योगदानलाई कदर गर्नुपर्छ। लिडरले आफूलाई करेक्ट गर्न पनि जरुरी छ, गल्ती हुन्छ मान्छेबाट तर उसले टाइम्ली करेक्ट गर्‍यो भने पनि रियलाइज हुन्छ। जस्तो क्यापासिटी बिल्डिङ गर्ने, तपाईंलाई कुनै ट्रेनिङ, तपाईंको आवश्यकताअनुसार ट्रेनिङ पनि अर्गनाइजेसनले उपलब्ध गरायो भने पनि प्रोत्साहन मिल्छ। न्युरो साइन्टिस्ट र साइकोलोजिस्टहरूसँग पनि क्लोज कन्ट्याक्टमा बसेर उहाँहरूका कुरा काउन्सिल या ट्रेनिङमा पनि समावेश गराउँदा राम्रो हुन्छ।

लिडरले जहिले पनि मिस्टेकलाई एडमिट गर्नुपर्छ, कुनै कुरा प्रमिस गर्‍या छ भने त्यो कमिट पनि गर्नुपर्‍यो। कुनै पनि इम्प्लोइको कन्सर्न छ भने त्यसलाई इग्नोर गर्नुहुन्न। अर्गनाइजेसनको भिजन र मिसनसँग मिल्नेगरी र इम्प्लोइको पनि आफ्नो पर्सनल भिजनलाई त्यो अर्गनाइजेसनले हेल्प गर्नुपर्छ। अर्गनाइजेसनको ग्रोथसँगै इम्प्लोइको ग्रोथमा पनि ध्यान दिनुपर्ने हुन्छ।

० इम्प्लोइहरूको भिजनलाई प्राथमिकता दियो भने कस्तो—कस्तो फाइदा पुग्छ?

—एक त इम्प्लोइहरूको भिजनसँग अर्गनाइजेसनले अलाइन गर्‍यो भने इम्प्लोइ ह्यापी हुन्छ। इम्प्लोइको क्यापासिटी बिल्डिङलाई इनहान्स गर्ने पोलिसी छ भने इनडिभिजुअल भिजनसँग त्यो मिल्यो नि त हैन, त्यो मिलेपछि  त्यो संस्थामा बस्नुहुन्छ नि ! अनि त फ्रिक्विन्ट्ली तपाईंले काम पनि छाड्नुहुँदैन होला। तर, कसरी हामीले वर्क लाइफलाई ब्यालेन्स गर्न सक्छौँ ती कुरा पनि ध्यानमा राखियो भने इम्प्लोइ कुनै पनि संस्थामा लामो समयसम्म टिक्न सक्छ।

० अन्तिममा यहाँको केही सुझाव छ?
—हाम्रो सन्दर्भमा यो नयाँ विषय हो। त्यसकारण मैले त क्वालिटिभ रिसर्च गरेँ तर मिक्स्ड मेथडबाट पनि गर्नुभयो भने इमोसनल इन्टेलिजेन्स र रिटेन्सनको सन्दर्भमा हामीले विदेशीको मुख ताक्नु पर्दैन। हामी आफैँ पनि यस क्षेत्रमा अनुसन्धान गरेर नयाँ किसिमको फाइनडिङ्स सेयरिङ गर्न सक्छौँ। यसतर्फ हामी सबै सचेत हुन जरुरी छ।

साउन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्