अब फेसबुकमै उभ्याइँदैछ धार्मिक आस्थाका मन्दिरहरु

गत इस्टरका बेला ब्रुकलिनस्थित जिसस रोमन क्याथलिक चर्चबाटै फेसबुकका माध्यमबाट इसाइ धर्मावलम्वीमाझ पर्वोत्सव मनाउँदै रेभरेन्ड लरेन्स डि र्यान।

‘हिलसङ्ग चर्च’ले अमेरिकाको एटलान्टामा उसको भब्य शाखा खोलिनुभन्दा केही महिनाअघि पादरीमार्फत् आम इसाइसँग सुझाव माग्योः ‘महामारीको बखत कस्तो चर्च खोल्दा उचित रहला?’

जवाफ आयोः ‘फेसबुकबाट।’

सामाजिक सञ्जालका दिग्गजहरुले पादरी साम कोलियरलाई एउटा सुझाव पनि दिएका थिए। त्यो सुझावले फेसबुकलाई प्रयोग गर्ने हो भने आगामी दिनहरुमा चर्चका कामहरु कसरी अझ ब्यापक रुपमा अघि बढ्न सक्छ भन्ने प्रस्ताव पनि गरेको थियो।

त्यसपछि महिनौंसम्म फेसबुकका ‘डेभलपर’(सामाजिक सञ्जाललाई उन्नत तवरले प्रयोग गर्न कार्यक्रम विकास गर्ने) हरुले हिलसङ्ग चर्चसँग हप्तैपिच्छे भेटे र फेसबुकमा देखापर्ने चर्चको रुपरेखा कोरे। त्यसैगरि चर्चमा चढ्ने दक्षिणाका निम्ति केकस्ता ‘एप्स’हरु प्रयोग गर्दा उचित रहला भनेर खोजीनीति पनि गरे। प्रत्यक्ष प्रशारण गर्दा भिडियोको क्षमताबारे पनि बिस्तारमा बुझे।

गत जुन महिनामा हिलसङ्ग चर्चको भब्य उद्घाटन हुँदै थियो। त्यतिबेलै चर्चले एउटा प्रेस वक्तब्य जारी गर्दै आफुहरु ‘फेसबुकसँगको साझेदारीमा’ आउन लागेको जानकारी सार्वजनिक गर्‍यो। लगत्तै उक्त चर्चले आफ्ना कार्यक्रमहरुको विशेष प्रत्यक्ष प्रशारण पनि उक्त पेजबाट सुरु गर्न थाल्यो।

‘कतिपय कुरा उनीहरुले हामीलाई सिकाए भने कतिपय हामीले उनीहरुलाई सिकायौं,’ पादरी कोलियर भन्छन्, ‘यसरी आगामी दिनहरुमा अब फेसबुकमै खडा हुने चर्चहरुको रुपरेखा हामीले मिलेरै कोरेका छौं।’

पूँजी बजारमा हालै १ ट्रिलियन डलरको रेखा पनि नाघेको फेसबुक झट्ट हेर्दा धार्मिक गतिविधि गर्ने संस्थाहरुसँग सहकार्य गर्ने थलो कसरी बन्ला भन्ने प्रश्न उब्जन्छ। तर, यताका दिनहरुमा फेसबुकले सामाजिक र राजनीतिक क्षेत्रमा बढ्दै गएको आफ्नो प्रभावलाई थप बिस्तार गरेर धार्मिक फाँटमा पनि प्रवेश गर्न खोजिरहेको प्रष्ट देखिएकै हो। आस्थाका आधारमा खडा भएका समुदायमा आफ्नो उपस्थितिका लागि उसले केहि वर्षयता साझेदारीका अवसरहरु पनि खोजी गर्नथालेको थियो।

अर्कोतर्फ ठीक यतिबेलै कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा यी धार्मिक संघ संस्थाहरुले पनि आफ्ना गतिविधिहरुको विस्तारका लागि नयाँ उपायको खोजी गर्न थाले। यो मौकाकै ताकमा रहेको फेसबुकले उसको थलोलाई अझ बढी प्रयोग गर्नेहरुका माझमा लैजान यत्तिको उपयुक्त अवसरलाई छोपिहाल्नु उचित सम्झ्यो।

अब फेसबुक आफूलाई धार्मिक समुदायहरुको ‘भर्चुअल होम’ (आभास गृह)का रुपमा उभ्याउने ताकमा छ। त्यसै हिसाबले मन्दिर, मस्जिद, गिर्जाघरदेखि गुम्बासम्मले धार्मिक गतिविधिका लागि उसको सेवा प्रयोग गरुन् जहाँ पुजाआजादेखि लिएर सामाजिकीकरणका अनेक गतिविधि मन्दिरमा पुगेजस्तै हिसाबले अघि बढोस् भन्ने उसको ध्याउन्न छ।

त्यसो त मन्दिरमा पुगेरै पूजा गर्ने कामलाई अहिले नै यसरी आभासी (भर्चुअल) हिसाबले प्रतिस्थापन गरिहाल्नेछ भनेर चिताउनु हतार हुनेछ। इन्टरनेटको दुनियाँले जस्तै सुविधा अघि सारे पनि त्यसमा धार्मिक मानिसहरुको मन अहिले नै जाँदैन भन्ने कुरामा सामाजिक सञ्जालका समर्थकहरु पनि ढुक्क छन्।

अर्कातर्फ यतिबेलै थुप्रै आध्यात्मिक समुहले आधुनिकतालाई आत्मसात गर्दै अध्यात्मलाई कसरी बढीभन्दा बढी प्रभावकारी ढंगले विस्तार गर्न सकिन्छ भन्ने उपायको खोजी पनि गरिरहेकै छन्। उनीहरु फेसबुक यो प्रयोजनका निम्ति बढी उपयोगी हुने देख्छन्। यतिबेला संसारमा सबैभन्दा बढी मानिसले प्रयोग गरिरहेको र सर्वाधिक प्रभाव देखाइरहेको सामाजिक सञ्जालका रुपमा फेसबुक नै अगाडि छ।

आगामी दिनमा इन्टरनेटको प्रयोगबाट आफ्ना लक्ष्य अनि उद्देश्यलाई कसरी अगाडि बढाउँदा बढी लाभ मिल्नेछ भनेर प्रविधि र धार्मिक क्षेत्रका मानिसहरुले साझेदारी गर्न थालिसकेका छन्।

न्युयोर्कको मस्जिद इब्राहिमबाट गत अप्रिलमा फेसबुक मार्फत शुक्रबारे प्रार्थना चलाउँदै इमाम अब्देल हादी।

फेसबुकका निम्ति यो एउटा विश्वसनीयता बढाउने अवसर पनि हो। विशेष गरेर अमेरिकीहरुमाझ उनीहरुको गोपनीयताको सम्मान नगरेको विषयलाई लिएर फेसबुकको छवि केही धुमिल बन्न पुगेको थियो। गलत सूचना विस्तारको संकट र सामाजिक सद्भाव भंग गर्नमा मद्दत गरेको जस्ता आरोप पनि फेसबुकले खेपिरहेको छ। भर्खरै मात्र पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुकलाई कोरोना भ्याक्सिनका मामलामा गलत अफवाह फैलाउन मद्दत गरेको आरोप पनि लगाएका थिए।

‘फेसबुकलाई हामी यस्तो ठाउँका रुपमा विकास गर्न खोजिरहेका छौं जहा मानिसले एकान्तिक, विषाद वा न्याश्रो महसुस गरेका खण्डमा यहाँ प्रवेश गर्नेबित्तिकै उनीहरुलाई माया गर्ने मानिससँग भेट्न पाऊन्,’ कम्पनीको विश्वव्यापी आस्थासम्वन्धी सहकार्यमा सक्रिय डाइरेक्टर नोना जोन्स भन्छिन्, ‘म यो कुरा प्रष्ट पार्न चाहन्छु।’

गएको महिना मात्रै फेसबुकका कार्यकारीहरुले धार्मिक समूहहरुका बीच ‘भर्चुअल’ सम्मेलन मार्फत् आफूले गरेका प्रयासहरु प्रस्तुत गरेका थिए।

त्यस अवसरमा कम्पनीकी चिफ अपरेटिङ अफिसर शेरिल स्याण्डबर्गले फेसबुकमा मण्डलीहरु तयार पार्ने उपकरणहरुको प्रस्तुतिदेखि लिएर अनलाइन संशाधन केन्द्रजस्ता प्रयासहरुको बारेमा बताएकी थिइन्।

‘आस्थाका आधारमा संगठित हुने धार्मिक संगठन र सामाजिक सञ्जाल प्राकृतिक हिसाबले नै एकै हौं,’ स्याण्डबर्ग भन्छिन्, ‘हामीहरु दुवैथरिको उद्देश्य मानिसहरुलाई कसरी जोड्ने भन्ने नै हो।’

‘भर्चुअल रियालिटी’को यो दुनियाँबाट एक दिन मानिसले धार्मिक गतिविधिहरु ढुक्कसँग अघि बढाउनेछन् भन्ने आफुहरुको विश्वास रहेको उनले जानकारी दिइन्।

त्यसैगरी पुरानो पुस्ताले आफ्नो आस्थाका बारेमा नयाँ पुस्तालाई पनि यसै माध्यमबाट सजिलै ज्ञान हस्तान्तरण गर्ने शैक्षिक औजारका रुपमा पनि यो प्रयोग हुनसक्ने उनको विश्वास छ।

झट्ट हेर्दा धार्मिक समारोहजस्तै देखिने त्यो फेसबुकको सम्मेलनमा कतिपय धार्मिक नेताहरुले महामारीका बेला आफूलाई यो माध्यमले कसरी सजिलो बनाइदिएको थियो भनेर आफ्ना अनुभवहरु पनि प्रस्तुत गरेका थिए।

त्यतिबेलै क्यालिफोर्निया राज्यस्थित साउथ बे इस्लामिक एशोसिएसनका इमाम ताहिर अनवरले गएको वर्ष रमदानका बेलामा आफ्नो समुदायले फेसबुककै प्रयोग गरेर उल्लेख्य मात्रामा कोष जुटाएको अनुभव पनि साझेदारी गरे। अर्कातिर इसाइ समुदायका तर्फबाट बिसोप रोबर्ट बारोनले मानिसलाई हत्तपत्त अन्तबाट प्राप्त हुननसक्ने भित्री ज्ञान फेसबुकमार्फत कसरी प्रसारित हुनसक्छ भन्नेबारेमा बताए।

धार्मिक संघ संस्था र सामाजिक सञ्जालबीचको यो साझेदारी प्रयासले आफूलाई व्यवहारिक प्रश्नहरुमा मात्र सीमित नराखेर दर्शन र नैतिक पाटोहरुमा पनि प्रवेश गरेको भनाइ थियो।

मानव जातिले चेतनाको विकाससँगै सामुहिकतामा प्रवेश गर्नका निम्ति धर्मको बाटो अवलम्वन गरेको हो जसमा अब आएर सामाजिक सञ्जाल कम्पनीहरु पनि आफ्नो भूमिकाको खोजी गर्नथालेका हुन्। फेसबुकसँग झण्डै तीन अर्ब सक्रिय प्रयोगकर्ता छन्। यो भनेको विश्वभर फैलिएका दुइ अर्ब ३० करोड इसाइ वा १ अर्ब ८० करोड मुसलमानभन्दा पनि ठूलो संख्या हो।

यसरी सामाजिक सञ्जालमा जाँदा कतिपय मानिसले आफ्नो समूदायका आन्तरिक कुराहरु सार्वजनिक गर्ने क्रममा गोपनीयताका प्रश्नहरु पनि उठ्न सक्छ।

युनिभर्सिटी अफ एडिनबरामा धर्मशास्त्र र विज्ञानकी शिक्षिका साराह लेन रिचीका अनुसार अर्बौँ प्रयोगकर्ताहरुबाट फेसबुकले जम्मा गर्ने महत्वपूर्ण सूचनाहरुले ब्यापक सरोकार राख्छ।

गत वर्ष कोलोराडोस्थित मिफाम सेद्रा बुद्धिस्ट केन्द्रबाट फेसबुकमार्फत ध्यान कार्यक्रम चलाउँदै ल्होप्पोन रिम्पोचे।

‘व्यापारिक जगतले बोक्ने लक्ष्य र धर्मकर्ममा लागेकाहरुको लक्ष्य एकदमै बेग्लै हुन्छ,’ उनी भन्छिन्, ‘विशेषगरि धर्मकर्ममा लागेका बुढापाकाहरुले सोझो हिसाबले नित्यकर्म गर्दागर्दै पनि उनीहरुको आस्था कसरी अन्तै प्रयोग गरियो भन्ने भेउ पनि पाउँदैनन्।’

यस्तो अवस्थामा ठूला प्राविधिक सञ्चार गृह र मठ मन्दिरहरु बीचको साझेदारीले कसरी काम गर्ला भन्ने कुरा आफूले बुझ्न नसकिरहेको साराह बताउँछिन्।

यस विषयमा फेसबुकका प्रवक्ताले आफुहरुले धार्मिक समुदायबाट प्राप्त गर्ने तथ्यांकलाई पनि अन्य समुदायका तथ्यांकलाई जस्तै किसिमले व्यवहार गरिने बताइन्।

अर्थात् कसैको पनि भेद नखुल्नेगरी दुवै पक्ष बसेर विकास गरिने हिसाबले प्रविधि तयार पारिने प्रकृया यसमा पनि अपनाइनेछ।

फेसबुकले सन् २०१७ देखि विभिन्न आस्थावान समूहसँग पहुँच बढाउन सुरुगरेको हो। त्यसलगत्तैको वर्षदेखि विशेषगरी इसाइ धर्मसम्वद्ध विभिन्न समूहका नेताहरुसँग सम्पर्क पनि बढाउँदै लगेको छ। कतिपय करोडौंका संख्यामा सदस्यहरु रहेका धार्मिक समूहले प्रत्यक्ष प्रशारणमार्फत् धार्मिक गतिविधिलाई अघि बढाउन फेसबुकले प्रदानगरेका सेवाहरुको प्रयोग पनि गर्न थालिसकेका छन्। त्यसैगरि अन्य कतिपयले भने तत्काललाई प्रयोग गरेर हेर्ने हिसाबले पनि यसको उपयोग थालेका छन्।

अर्कातर्फ केही पादरीहरुले भने फेसबुकका कामले चर्चको ब्यापक भविष्य कतातिर जाला भनेर चासो पनि प्रकट गरेका छन्। चर्चमा कतिपय प्रार्थनाहरु भौतिक उपस्थितिमा मात्रै हुन्छन् भने कतिपय उपचारमुखी प्रार्थनाका बेला मानिसका हातै समात्नुपर्ने हुन्छ।

‘इन्टरनेटका चर्चले हाम्रा गाउँघरका चर्चलाई कहिल्यै पनि प्रतिस्थापन गर्न सक्दैनन्,’ एसेम्बलीज अफ गडका पादरी तथा कोषाध्यक्ष विल्फ्रेडो डे जिसस् भन्छन्, ‘फेसबुक भन्दा पनि हामी हरेकका फेसलाई एउटा अर्को बुकमा राख्न चाहन्छौं।’

अर्कातर्फ साम कोलियरजस्ता पादरी पनि छन् जो फेसबुक प्रयोगलाई समयअनुसारको आवश्यकता बताउँछन्।

‘एउटा महान लक्ष्य पुरा गर्नको निम्ति हाम्रो सामु यस्तो अवसर कहिल्यै आएको थिएन,’ उनी भन्छन्, ‘जिसस क्राइस्टको इच्छा अनुसारै ठूलो समूहमा पुग्न फेसबुकसँगको साझेदारी म जरुरी देख्छु।’

साउन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्