महाकवि देवकोटाको घर भत्काइएको प्रति यसकारण मेरो असहमति-सरुभक्त श्रेष्ठ

आज बिहान अश्विनी कोइरालाले महाकवि देवकोटाको कविकुञ्ज सम्बन्धमा कविलेखकले स्टाटस किन हटाएका होलान् भनी प्रश्न गरेको भेटें ।हटाउनेहरूले भावुक भइयो नेपाल प्रज्ञा प्रतिष्ठानले दिएको तर्क ठीक भन्ठाने कि के , थाहाभएन ।

मैले पनि कमेन्टमा विचार पोखेको थिएँ । अहिले पनि मेरो विचार यही छ ।आफू अहिलेको नेप्रप्रको माउ संस्था नेराप्रप्रको अन्तिम कार्यकालको परिषद सदश्य भएको र अहिलेका प्रज्ञहरूभन्दा ( कुलपतिभन्दा पनि ) उक्त संस्थामा जेठो रहेकोले आफ्ना विचारलाई अरू प्रष्ट पारूँ र नेप्रप्रको ध्यान आकृष्ट पारूँ भन्ने मनसायले यी शब्दहरू लेख्दैछु ।

महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा हुन् भन्ने सबैलाई थाहा छ ।उनले २००० सालमा आफै निर्माण गरेर बसेको मैतीदेवीस्थित कविकुञ्जमा बसेर रचेका अनेक ग्रन्थमा आमुख लेख्दा ठेगानामा कविकुञ्ज उल्लेख गर्थे । यसको अर्थ , घरसित महाकविको भावना जोडिएको थियो ।

अहिले त्यस घरलाई संग्रहालयमा परिणत गर्ने भनी भत्काउदै गरेका तस्बिर सार्वजनिक भएका छन् । साथै , नयाँ बन्ने घरको नक्शा पनि सार्वजनिक भएको छ ।नयाँ घरको नक्शा कविकुञ्ज भन्दा भिन्न भएको देखिन्छ ।

नेप्रप्रले नयाँ घर बनाउँदा ” साविकको बाहिरी स्वरूप आउने गरि ” भनेको छ । यसको अर्थ , स्वरूपमा व्यापक परिवर्तन गरिने निश्चित भयो ।नेप्रप्रले नयाँ घरका विभिन्न तलामा के के कुरा राखिने भन्ने पनि सार्वजनिक गरेको छ ।यसबाट नेप्रप्र महाकविको ऐतिहासिक कविकुञ्जलाई विनाश गरि संग्रहालय बनाउने दिशामा अघिबढेको प्रष्ट बुझिन्छ ।

कविकुञ्ज विनाश गर्नु अपराध हो ।नेप्रप्रले भनेझै ” सवलीकरण गर्न नसकिने प्राविधिक ठहर भए , जीर्णाोद्वार गर्न नसकिने भन्ने  ( यसमा नियत माथि शङ्का गर्न सकिन्छ ।हाम्रै देशमा पनि हजाराैँ/साैयाैँ वर्ष पहिले बनेर ध्वस्तप्राय भएका मन्दिर , भवन आदि वैज्ञानिक विधिले जीर्णोद्धार गरिएका छन् । त्यसैले जीर्णोद्धार हुनैनसक्ने भन्ने तर्क हावादारी हो ।)

त्यस तर्कलाई मान्ने नै हो भने पनि कविकुञ्जलाई आधुनिक प्रविधिले निर्माण गरि बाहिरी र भित्री स्वरूप पहिलेकै स्वरूपमा ल्याउनु जरूरी छ ।पहिलेको स्वरूपमा निर्माण गरि महाकविले जे जे कुरा जसरी प्रयोग गर्थे त्यसरी राख्नु जरूरी छ । अनि मात्र कविकुञ्जले पूनर्जीवन प्राप्त गर्नेछ ।

कविकुञ्जमा संग्रहालय पनि होस् , अरू महत्व थपिन्छ ।तर कविकुञ्जको माैलिक संरचना विनाश गरि संग्रहालयमा मात्र जोड दिइयो वा नेप्रप्रले सुविधाको दृष्टिले आधुनिक र कलाको दृष्टिले नेपाली माैलिकता कायम हुने गरि अनि हेर्नआउनेहरूका लागि सुविधा हुनेगरी भनेर जवरजस्ती फरक संरचनाको घर वा भवन निर्णाण गरियो भने यो इतिहास र वाङमयलाई धोखा हुनेछ ।

म नेप्रप्रका कुलपति लगायत सबैलाई सचेत गर्न चाहन्छु ।उपकुलपति जगमान गुरूङ इतिहास , संस्कृति र पुरातत्वका ज्ञाता हुन् ।कम्तीमा उनलाई यस्तो अनर्थ गरिए भविष्यमा इतिहासको कठघरामा उभिनु पर्नेछ भन्ने वोध हुनैपर्छ ।म उनीमार्फत् सबैलाई यस सम्बन्धमा पुन विचार गर्न र कविकुञ्जको अस्तित्वलाई जोगाउन अनुरोध गर्छु ।

चित्रमा सेक्शपियरको जन्मघर ।सोह्रो सताब्दीमा अधिकांश काठले निर्माण भएको घर ।यस घरलाई सेक्शपियरकालीन अवस्थामै राखिएको छ ।उनले बालककालदेखी कुन कोठामा के गर्थे भन्ने सबै ।चिसोमा आगो ताप्ने ठाउँ , ओछ्यान आदि सबै । संग्राहलय पनि छ तर घरको वातावरण पहिलेजस्तै परिएको छ ।

सेक्शपियरले काम गरेको ग्लोव थिएटर ।सन् १५९९ मा निर्मित ।सन् १६१३ मा आगो लागेर नष्ट भएपछि १६१४ मा फेरि निर्माण गरियो । पछि प्युरिटन शासकहरूले नाटकघरहरू बन्द गराउँदा यो पनि बन्द भयो । धेरै पछि १९९७ मा पहिलेका संरचनालाई सकेसम्म कायम राखी पहिलेभन्दा २३० मिटर पर सुरक्षित स्थानमा थिएटर निर्माण ।निर्माण पछि ग्लोव थिएटरको नाम सेक्शपियरको सम्मानमा सेक्शिपयरर्स ग्लोव नाम दिइयो ।यो पूरै काठले बनेको गोलो आकारको तीन तला भएको थिएटर हो जहाँ एकसाथ पन्ध्र सय दर्शक अटाउँछन्।भित्र संग्रहालय पनि छ ।

हाम्रो प्रयास पनि सकेसम्म माैलिकता जोगाउने हुनुपर्छ ।महाकविप्रेमीहरू महाकविको कविकुञ्ज हेर्नचाहन्छन् , आधुनिक भवन होइन ।कसैकसैले कविकुञ्ज पुरातात्विक महत्वको थिएन भनी तर्क गरेका छन् जुन सही होइन ।महत्व हामीले नै दिने हो ।७८ वर्ष पुरानो घर सय वर्ष नाध्न कति समय लाग्छ र । बचाइराखे महत्व हुने हो ।

यसै पनि साहित्यिक महत्वको पहिलेदेखि नै थियो ।नेप्रप्रको ध्यान जावोस् भन्ने सकारात्मक अभिप्रायले यी कुरा लेखिएका हुन् ।घरको नक्शा जनभावना र ऐतिहासिक महत्वलाई ध्यानमा राखेर फेर्न पनि सकिन्छ ।

(यो सामग्री सरुभक्त श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो ।)

साउन २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्