समकक्षताको नाममा विश्वकै प्रतिष्ठित संस्थामा पढेका विद्यार्थीलाई झुलाउँदै त्रिवि-न जागिर, न उच्च शिक्षा

काठमाडौँ – हरियाणाको महाऋषि मार्कन्डेश्वर विश्वविद्यालयबाट अप्रेसन थिएटर टेक्नोलोजीमा बीएस्सी कोर्स साढे ३ वर्षमा पुरा गरेर फर्किएका महोत्तरीका लालबाबु कुमार यादवले दुई वर्षभन्दा बढी समय हुँदा पनि त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र पाएका छैनन्। चार वर्षको कोर्स कसरी साढे ३ वर्षमै सकियो भन्दै पाठ्यक्रम विकास केन्द्रले प्रश्न उठाइरहेको छ।
महाऋषि मार्कन्डेश्वर विश्वविद्यालयले आफ्नो कोर्स नै साढे ३ वर्षको भएको भन्दै ४ वर्षको दिन नमिल्ने बताइरहेको छ। सरकारी जागिरमा प्रवेश गर्न उनलाई समकक्षताको प्रमाणपत्र ल्याउन भनिएपनि त्रिभुवन विश्व विधालयको अल्झनका कारण उनले त्यसो गर्न सकेका छैनन्।
अमेरिकामै स्नातक गरी त्यहाको प्रतिष्ठित विश्वविधालयमा स्नातकोत्तरका लागि नाम निकालेकी एक जना नेपाली विद्यार्थी समकक्षताको प्रमाणपत्रका लागि नेपाल आएकी थिइन्। उनी इक्युभ्यालेन्स अफ सर्टिफिकेट अर्थात समकक्षताको प्रमाणपत्रका लागि त्रिभुवन विश्वविधालयअन्तर्गत पाठ्यक्रम विकाश केन्द्र-सिडिसी पुगिन्। पाठ्यक्रम विकास केन्द्रले क्रेडिट आवर नपुगेको भन्दै प्रश्न उठायो।
‘कोरोना महामारीका कारण पछिल्ला सेमेस्टरमा क्रेडिट आवर उल्लेख नगरी उत्तीर्ण भएको प्रमाणपत्र हामीलाई दिइयो। कुनै समस्या भए हामीलाई सम्पर्क गर्न सकिने भनेर पत्रसमेत उनीहरुले दिएका थिए’, नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थी भन्छिन्।
कोरोना महामारीका कारण अनलाइनबाट पढाइ गर्नु परेपछि विश्वका धेरै विश्वविद्यालयले क्रेडिट आवर उल्लेख नगरी उत्तीर्ण भएको प्रमाणपत्र दिएका छन्।
महामारीको यो विशेष परिस्थितिमा नेपालमा पनि कक्षा १० र ११ को नतिजा परीक्षा बिना नै आन्तरिक मूल्यांकनबाट दिइएको छ।
त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका निर्देशक पारसनाथ यादव विश्वविद्यालयले तोकेको मापदण्ड पुरा नभएका सर्टिफिकेटहरुमा समस्या आएको बताउँछन्। ‘ पास भयो भनेर मात्र लेख्न मिल्दैन। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका मापदण्डहरु पूरा भएका प्रमाणपत्रको मात्र समकक्षता प्रमाणित गर्न सकिन्छ’, उनी भन्छन्। तर विश्वका चर्चित विश्वविद्यालयले त्यही प्रमाणपत्रका आधारमा भर्ना लिएको अवस्थामा त्रिभुवन विश्वविधालयलाई चाहिँ किन समस्या भयो भन्ने प्रश्नमा उनले विश्वविद्यालयले आफूले बनाएका मापदण्डलाई पालना गरेको बताए।
‘पुरा क्रेडिड आवर उल्लेख गर्न विश्वविद्यालयहरुलाई के समस्या भयो ? कम्तीमा कुन विधि र तरिकाबाट सर्टिफिकेट दिइएको हो भन्ने त लेखिनुपर्छ नि। हामीले अहिले मानिरहेको क्रेडिट आवरको स्टान्टर्ड भनेको अमेरिकाले पालना गरिरहेकै हो। मास्टर्सको ६० र ब्याचलरको एक सय २० क्रेडिट आवर हुन्छ, ‘ उनले भने।
क्रेडिट आवरका कारण त्रिभुवन विश्वविद्यालयले समस्या देखाएको यी नौला घटना भने होइन। अहिले पनि दर्जनौँ यस्ता घटना थाती रहेका छन्। कोरोना महामारी अघि पनि क्रेडिट आवरको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले समकक्षताको प्रमाणपत्र दिन आलटाल गरिरहेको थियो।
अमेरिकाका कतिपय विश्वविद्यालय कोर्स पुरा हुनुभन्दा अघि नै विशिष्ट क्षमता भएका विधार्थीलाई प्रमाणपत्रहरु उपलब्ध गराउने गरेको त्रिभुवन विश्वविधालयका एक प्राध्यापक बताउँछन्।
‘४ वर्षको कोर्सको सर्टिफिकेट ३ वर्षमै पनि दिने गरिन्छ। केही केहीले विद्यार्थीलाई पाठ्यक्रम छनोट गर्ने अधिकार पनि दिन्छन्’, ती प्राध्यापक भन्छन्। कुनै पनि कलेज वा विश्वविद्यालय र त्यसका कोर्सहरुले सम्बन्धित देशको कानुनबाट मान्यता पाएका हुन्छन्। युरोपका विभिन्न देशका विश्वविद्यालयले जारी गरेका विभिन्न तहका प्रमाण पत्रहरुको समकक्षताको प्रमाण पत्र जारी गर्न क्रेडिट आवरको समस्या भएको त्रिभुवन विश्वविद्यालयका अधिकारीहरु बताउँछन्।
समकक्षताका नाममा अन्य समस्या
समकक्षताको प्रमाणपत्र जागिर खान वा विदेशमा अध्ययन गर्नका लागि लिने गरिन्छ। मेडिकलका एक जना विद्यार्थी काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस पुरा गरी थप अध्ययनका लागि बंगलादेशको चर्चित बंगबन्धु विश्व विधालय पुगे।
त्यहाँबाट अध्ययन पूरा गरेपछि उनी नेपाल फर्किएर समकक्षताको प्रमाणपत्रका लागि गए। उनलाई एमबीबीएसको प्रमाणपत्रको पनि समकक्षताको प्रमाणपत्र निकाल्न भनियो। सरकारी जागिरमा प्रयास गरिरहेका उनीसँग अहिले समकक्षताको प्रमाणपत्र मागिएको छ। उनी त्यसका लागि महिनौँदेखि धाइरहेका छन् तर पाएका छैनन्। उनले केयूबाट गरेको एमबिबिएस र बंगबन्धुबाट गरेको थप अध्ययन दुवैको प्रमाणपत्रको समकक्षताको प्रमाणपत्र लिनुपर्ने छ।
यस्तै अर्का एक विद्यार्थी मुम्बईको मिथिबाई कलेज अफ आर्ट्सबाट अध्ययन पूरा गरी समकक्षताका लागि त्रिभुवन विश्वविद्यालय पुगे। तर सर्टिफिकेटमा अंग्रेजी मिडियम नलेखिएको भन्दै उनलाई समकक्षताको प्रमाणपत्र दिन आलटाल गरियो।
‘अंग्रेजी मिडियममा पढेको छ भनेमात्र समकक्षताको प्रमाण पत्र दिइन्छ त्यसैले अंग्रेजी मिडियम नलेखेको प्रमाणपत्रको समकक्षताको प्रमाणपत्र दिन सकिन्न’ भन्दै ती विद्यार्थीलाई फर्काइएको थियो।
यसैगरी स्नातकोत्तरको प्रमाणपत्रको समकक्षताको प्रमाण पत्र निकाल्न पुगेका एक विद्यार्थीलाई अचेल धेरै नक्कली प्रमाण पत्रहरु आइरहेको छन् भन्दै उच्च माध्यमिक शिक्षा परिषद्-एचएसइबीले जारी गरेको प्लस टु उत्तीर्णको प्रमाणपत्र प्रमाणित गरेर ल्याउन भनिएको थियो।
क्रेडिट आवरका विषयमा समिति, समकक्षताको प्रमाणपत्रबारे मन्त्रालयमा छलफल
नेपालका अन्यसहित विश्वभरका विभिन्न विश्वविद्यालयबाट जारी भएका शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिरमा प्रवेश गर्न त्यसलाई त्रिभुवन विश्वविद्यालयले समकक्षताको प्रमाणपत्र जारी गरेको हुनुपर्छ।
नेपालकै ऐन कानुनबाट निर्देशित भएर सञ्चालन भएका विश्वविद्यालयले जारी गरेका प्रमाण पत्रका आधारमा सोझै सरकारी सेवामा जागिर पाइँदैन, त्यसलाई त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाण पत्र दिएको हुनुपर्छ। समक्षकताको प्रमाणपत्रका लागि चार हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ। यस हिसाबले यो विषय त्रिभुवन विश्वविद्यालयको ठूलो आयस्रोतका रुपमा देखिन्छ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक यादव त्रिभुवन विश्वविद्यालय निकै पुरानो शैक्षिक संस्था भएको र त्यतिबेला अन्य संस्था नरहेकाले समकक्षताको प्रमाणपत्र जारी गर्ने अधिकार उसलाई दिएको हुन सक्ने बताउँछन्।
‘तर अहिले नेपालको कानुनअनुसार निर्देशित भएर स्थापना भएका विभिन्न विश्वविद्यालयका प्रमाण पत्रहरुको समकक्षताको प्रमाणपत्र लिइरहन नपर्ने भन्ने विषय मन्त्रालयसम्म पुगेको छ। सायद यस विषयमा चाँडै निर्णय होला’, निर्देशक यादव भन्छन्। क्रेडिट आवरका विषयमा उत्पन्न समस्या समाधान गर्न पनि दुई महिनाअघि शिक्षा डिनको संयोजकत्वमा समिति गठन भएको र त्यसले दिने प्रतिवेदनका आधारमा चाँडै निर्णय हुने बताइएको छ।