परिवार नियोजनकाे अस्थायी साधन डिपाेबारे जान्नैपर्ने कुराहरु

तीन महिने (डिपो) सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो। यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउनु पर्छ। डिपो एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहँदैन।

नियमित रुपमा डिपो सुई लगाएमा यो ज्यादै प्रभावकारी हुने विज्ञले बताएका छन्। डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन्।

डिपो सुईले गर्भ रहनबाट कसरी रोक्छ?


यो सुई लगाईसकेको २४ घण्टापछि काम गर्न थाल्छ। डिपो सुईले निम्नलिखित परिवर्तन ल्याएर गर्भवती हुनबाट बचाउँछ।

– डिम्बाशयबाट डिम्ब निष्काशन हुन दिँदैन

– पाठेघरको मुखबाट निस्किरहने तरल पदार्थलाई बाक्लो बनाई शुक्रकिटलाई पाठेघरभित्र जानमा अवरोध गर्छ

– पाठेघरको भित्रिपत्रलाई पातलो गराई गर्भ रहन दिँदैन

कहिले लगाउने?


डिपो महिनावारी भएको ७ दिन भित्र वा गर्भपतनको तुरुन्तै लगाउनु पर्दछ।

यस्तै बच्चा पाएको ६ हप्तापछि महिलाले आफ्नो बच्चालाई पूर्ण रुपमा स्तनपान गराइरहेको अवस्थामा र सुत्केरी भएपछि पनि महिनावारी भएको छैन भने सुत्केरी भएको ६ महिनासम्म जनुसुकै समयमा पनि लगाउन सकिन्छ।

गर्भवती नभएको निश्चित भएमा जुनसुकै समयमा पनि डिपो सुई लगाउन मिल्छ। अरु कुनै प्रभावकारी परिवार नियोजन साधन लगातार तथा सही तरिकाले प्रयोग गरिरहेको भए जतिबेला चाहे पनि यो सुई लगाउन मिल्छ।

सुई लगाएपछि देखिन सक्ने असरहरु


– महिनावारी गडबड हुने, जस्तैः सुरुसुरुमा महिनावारी नियमित नहुने र महिनावारी नै नहुने, महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपा देखा पर्न सक्ने,

– शरीरको तौल बढ्न सक्ने,

– टाउको दुख्न सक्ने

– वाक वाक लाग्न सक्ने

यसको असरहरू सबै महिलालाई देखिँदैन। सबै असर वा लक्षण एकै जनालाई पनि देखिँदैन। डिपो लगाइसके पछि विभिन्न असरहरु आफै नहराएको खण्डमा वा गाह्रो भएको अनुभव भएमा प्रयोगकर्ताले तुरुन्तै स्वास्थ्यकर्मीसँग परामर्श गरिहाल्नु पर्दछ।

यस्तै सुई लगाउन बन्द गरेपछि सामान्यतः प्रजनन् क्षमता पुनः फर्किन केही समय (सामान्यतया १० महिना) लाग्छ। डिपो सुईको प्रयोगले एचआईभी र यौन रोग सर्नबाट बचाउँदैन। त्यसैले एचआईभी र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ।

डिपो कसले लगाउन मिल्ने?


– केही समय अन्तरालमा बच्चा जन्माउने रहर भएमा

– बच्चा पाइसकेको ६ हप्ता भएमा

– स्तनपान गराइरहेको अवस्थामा

डिपो कसले लगाउन मिल्दैन?


– गर्भवती

– स्तनमा गाँठागुठी वा गिर्खा देखिएका महिला

– स्तनमा क्यान्सरको शंका लागेका व्यक्ति

– कमलपित्त (जन्डिस) भएका महिला

– उच्च रक्तचाप भएका महिला

– आधा टाउको दुख्ने समस्या (माइग्रेन) भएका महिला

– मधुमेह (चिनी) रोग भएका महिला

– महिनावारीको बीचमा रगत जाने समस्या भएका महिला

डिपोका फाइदा


– एकपटक लगाएपछि तीन महिनासम्म गर्भवती नहुने

– यौन सम्पर्कमा कुनै अवरोध नहुने र यौन इच्छामा कुनै फरक वा कमि नहुने

– गर्भपतनपछि पनि तुरुन्तै लगाउन सकिने

डिपो सम्बन्धी वास्तविकताहरु


– डिपो सुई लगाउनाले पाठेघरमा रगत जम्मा हुँदैन

– स्तनपान गराउने महिलाको दूधको मात्रा घटाउँदैन

– सुईको प्रयोगले आमाको दूध अथवा दूध खाने बच्चालाई खराब असर गर्दैन

– बच्चा जन्माइसकेकी अथवा नजन्माएकी जुनसुकै उमेरकी महिलाले सुईको प्रयोग गर्न सकिने

– डिपो सुईको प्रयोगले क्यान्सर हुँदैन

डिपो कहाँ लगाईन्छ?


– अस्पताल

– संस्थागत परिवार नियोजन क्लिनिक

– प्राथमिक स्वास्थ्य केन्द्र

– स्वास्थ्य/उपस्वास्थ्य चौकी

–गाउँघर क्लिनिक

– निजी तथा गैर सरकारी संस्थाका परिवार नियोजन क्लिनिक

साउन २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्