सनातन यात्रा

वैदिक परम्परामा कृषि

कृषि– शब्द संस्कृत भाषाको ‘कृष विलेखने’ धातुबाट ‘इक्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भूमि जोत्नु वा हलो चलाउनु भन्ने हुन्छ । कृषि–कर्म गर्ने किसानलाई संस्कृतमा कृषक, कृषाण, कीनाश, कृषीवल इत्यादि भन्दछन् । संस्कृत वाङ्मयमा वेद, स्मृति र पुराणहरूमा तथा अन्यत्र पनि कृषिको चर्चा गरिएको पाइन्छ । संस्कृतका चार विद्या— वार्ता, त्रयी, दण्डनीति र आन्वीक्षिकीमध्ये वार्ता–विद्याअन्तर्गत कृषिशास्त्र पर्दछ । यस शास्त्रका कृषि–पराशर, काश्यपीयकृषिपद्धति इत्यादि ग्रन्थ संस्कृतमा पाइन्छन् ।

कृषि–कर्म अत्यन्त प्रशंसनीय हो भन्ने कुरा वैदिक ऋचाहरूबाट पनि स्पष्ट हुन्छ । संसारभरिकै सर्वप्राचीन ग्रन्थ मानिएको ऋग्वेदमा कृषि–कर्मको प्रशंसा गर्दै यस्तो भनिएको छ—

अक्षैर्मा दीव्यः कृषिमित् कृषस्व
वित्ते रमस्व बहु मन्यमानः ।
तत्र गावः कितव तत्र जाया
तन्मे वि चष्टे सवितायमर्यः ।।१०।३४।१३।।

अर्थात्— हे जुवाडे, जुवा नखेल, खेती नै गर, धनलाई ठुलो मानेर त्यसमा रमाऊ, यसैबाट गाई र पत्नी पनि प्राप्त हुन्छन्, यस्तो कुरा मलाई श्रेष्ठ सविता देवले भन्नुभयो ।यस ऋचामा कृषिद्वारा नै धनसम्पत्ति पनि जुट्ने र घरगृहस्थी पनि चल्ने कुरा स्पष्ट रूपमा व्यक्त भएको छ । प्राचीन काल होस् वा आधुनिक काल जुनसुकै कालमा पनि केवल कृषि मात्रमानवीय जीवनको मूल आधार हो ।

नेपाली समाजमा उत्तम खेती मध्यम बेपार चुत्थो नोकरी भन्ने भनाइ प्रचलित छ । यसबाट मनुष्य जीवनका निम्ति सबैभन्दा महत्त्वपूर्ण कार्य कृषि हो भन्ने विषयमा हाम्रा पुर्खाहरूले उहिल्यैदेखि हामीलाई सचेत गराउँदै आएको कुरा स्पष्ट हुन्छ । कृषिको प्रशंसा गर्दै कृषिपराशर भन्ने ग्रन्थमा यस्तो लेखिएको छ—

कृषिर्धन्या कृषिर्मेध्या
जन्तूनां जीवनं कृषिः ।
हिंसादिदोषयुक्तोऽपि
मुच्यतेऽतिथिपूजनात् ।।८।।

अर्थात्— कृषि धन्य छ,कृषि पवित्र छ, प्राणीहरूको जीवन पनि कृषि नै हो । कृषि हिंसा इत्यादि दोषले युक्त भए पनि अन्नद्वारा अतिथिको सत्कार गरेपछि कृषक हिंसादि दोषबाट मुक्त हुन्छ । कृषि पराशरमै कृषिको महत्त्व यसरी पनि बताइएको छ—

अन्नं हि धान्यसञ्जातं
धान्यं कृष्या विना न च ।
तस्मात् सर्वं परित्यज्य
कृषिं यत्नेन कारयेत् ।।७।।

अर्थात्— अन्न धान्यबाट उत्पन्न हुन्छ,धान्य खेतीबिना प्राप्त हुँदैन । त्यसै कारण सबैथोक छाडेर कृषिकर्म गर्न–गराउन पर्छ ।

केही समय अघिसम्म पनि बेपार दोस्रो दर्जाको पेसामा निन्थ्यो । निकट भूतकालमा हाम्रो ग्रामीण जनजीवन आत्मनिर्भर थियो । नुन, तेल र कपडा बाहेक केही पनि नकिनीकन प्रायः व्यवहार चल्ने गर्दथ्यो । धेरैतिर कोलमा तोरी पेलेर तेल पनि निकालिन्थ्यो । तेलको धेरैजसो काम घिउबाट समेत चल्दथ्यो । तान लगाएर घरबुनाका कपडा तयार पारेर त्यसकै लुगा लगाउने चलन पनि थियो । विलासिताका वस्तुको आवश्यकता थिएन । गाउँले जीवन प्राकृतिक, सरल र थोरै उपभोगबाट सन्तुष्ट हुने खालको थियो । यस्तो आत्मनिर्भताको मूल कृषि नै थियो ।अहिलेको जस्तो बेपारको धेरै आवश्यकता पनि त्यति वेला पर्थेन । त्यसैले कृषि पेसालाई सर्वत्र उत्तम मानिएको हो । कौटलीय अर्थशास्त्रमा पनि कृषि, पशुपालन र वाणिज्यलाई देशविकासका निम्ति महत्त्वपूर्ण मानिएको छ । कृषि र पशुपालन समृद्ध भएपछि मात्र त्यसैका आधारमा वाणिज्य हुन सक्छ । कृषिमा आधारित व्यापारलाई प्रवर्धन गर्दा कृषिको महत्त्व पनि बढ्ने देखिन्छ ।वैश्यका स्वाभाविक कर्म नै कृषि, पशुपालन र वाणिज्य हुन् भनेर भगवद्गीतामा पनि भनिएको छ— कृषिगोरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् (१८।४५) । यसबाट वैदिक सनातन वर्णाश्रम धर्ममा वैश्यहरू भौतिक रूपले धेरै समृद्ध हुने कुरा बुझिन्छ ।

नोकरी गर्ने वा जागिर खाने चाहिँ कृषि वा वाणिज्य गर्न नसक्नेले र परतन्त्रता स्वीकार गर्नेले मात्र हो भन्ने मान्यता थियो । नोकरीमा मालिकका सुरमा काम गर्नुपर्ने बाध्यता हुनाले परतन्त्रता बढी हुन्छ ।

गाईवस्तुको हित हुने काममा दत्तचित्त हुने, खेतमा सधैँ जाने, खेतीपातीको ठिकठिकसमय जान्ने, उत्तम बीजहरूको सुरक्षा गर्ने र आलस्य नगर्ने कृषक सबैथरी अन्नले समृद्ध हुन्छ र कहिल्यै दुःख पाउँदैन ।

कृषिका निम्ति प्राकृतिक मल पशुपालनबाट प्राप्त हुन्थ्यो । त्यसैले पशुपालनबिना कृषिको सम्भावना थिएन । रासायनिक मल र विषादी आएकै थिएनन् । गोबर, प्राङ्गारिक मल र प्राकृतिक (जैविक) विषादीको मात्र प्रयोग हुने हुनाले खाद्यपदार्थले मानवीय स्वास्थ्यमा नकारात्मक असर पार्थेनन् । बीजहरू र पशुहरू वर्णसङ्कर नबनाइएका रैथाने जातका हुन्थे । तिनका बीजको संरक्षण किसानहरूबाटै गर्न सकिन्थ्यो । आधुनिक कृषि–पद्धतिले यसमा धेरै उथलपुथल ल्याइदिएको छ । यसबाट हुने हानिका विषयमा आजभोलि आधुनिक कृषिविज्ञले पनि चर्चा गर्न थालेका छन् । खाद्यान्न विषाक्त बनाइए, बिउमा कृषक आत्मनिर्भर हुन नपाउने स्थिति ल्याइयो । रैथाने जातका अन्नबली मासिए । तर अहिले आएर तिनको महत्त्व पुनः बुझ्न थालिएको छ । स्थानीय जातका वर्णसङ्कर नभएका बीजहरूको र पशुहरूको गुणबुझेर तिनको संरक्षण गर्न थालिएको छ । रासायनिक विषादी र रासायनिक मल हालेकाभन्दा प्राकृतिक (जैविक) विषादी र प्राकृतिक मल हालेका अन्नबाली, फलफूलर तर्कारी स्वादिला र स्वास्थ्यकर हुने कुरा आजभोलि धेरैले बुझ्न थालेका छन् ।

कृषिपराशरमा कस्तो कृषक उत्तम हुन्छ भनेर स्पष्ट पार्दै यस्तो भनिएको छ—

गोहितः क्षेत्रगामी च
कालज्ञो बीजतत्परः ।
वितन्द्रः सर्वशस्याढ्यः
कृषको नाऽवसीदति ।।८३।।

अर्थात्— गाईवस्तुको हित हुने काममा दत्तचित्त हुने, खेतमा सधैँ जाने, खेतीपातीको ठिकठिकसमय जान्ने, उत्तम बीजहरूको सुरक्षा गर्ने र आलस्य नगर्ने कृषक सबैथरी अन्नले समृद्ध हुन्छ र कहिल्यै दुःख पाउँदैन ।

गोबरको मल हालेर नै खेतीपाती गरिने भएकाले सबै किसानले पशुपालन गर्दथे । यसबाट दुध, दही, मही र घिउ (गोरस) प्राप्त हुनुका साथै खेत जोत्नका लागि गोरु र अन्नबालीका निम्ति मल पनि उपलब्ध हुन्थ्यो ।यसरी उत्पादित अन्नपात स्वास्थ्यकर हुने कुरामा दुई मत देखिँदैन ।

वेदमा अन्नं ह प्राणःअर्थात् अन्न नै प्राण हो भनेर अन्नको प्रशंसा गरिएको छ (ऐतरेयिब्राह्मण, ३३।१।५) ।अन्न सबैको जीवनाधार भएकाले अन्न उब्जाउने कामलाईवेदमा मात्र हैनसर्वत्र महत्त्व दिइएकै देखिन्छ । ऋग्वेदमा खन्ने, जोत्ने, रोप्ने, काट्ने इत्यादि कृषिकर्मलाई महत्त्व दिएरयस्तो भनिएको छ—

युनक्त सीरा वि युगा तनुध्वं
कृते योनौ वपतेह बीजम् ।
गिरा च श्रुष्टिः सभरा असन् नो
नेदीय इत् सृण्यः पक्वमेयात् ।।१०।१०१।३।।

हे कृषक हो, हलोलाईजुवामा जोड, जुवालाई अघि बढाओ (गोरुका काँधमा जुवा राखेर खेत जोत) । तयार पारिएका खेतमा बिउ छर । हाम्रा वाणीले यहाँ धेरै अन्न होओस्। चाँडै नै पाकेको अन्न हँसियाले काटेर हामीलाई प्राप्त होस् । यो ऋचा शुक्लयजुर्वेदमा पनि छ (१२।६८) ।

यसै प्रसङ्गमा शुक्लयजुर्वेदमा किसानलाई सम्बोधन गरेर खन्ने–जोत्ने काम राम्ररी सम्पन्न होस् भन्ने कामना गरिएको देखिन्छ—

शुनं सु फाला वि कृषन्तु भूमिं
शुनं कीनाशा अभि यन्तु वाहैः ।
शुनासीरा हविषा तोशमाना
सुपिप्पला ओषधीः कर्तनास्मे ।।१२।६९।।

अर्थात्— सुन्दर फलामे फालीहरूले कोमलताका साथभूमि जोतून्, किसानहरू गोरुसित सजिलरी अघि बढून् । हे वायु र आदित्य, तपाईँहरू दुवै हविले सन्तुष्ट भएर पृथ्वीलाई जलले सिञ्चित गरेर हाम्रा यी धान, गहूँ इत्यादि ओषधिलाई फलयुक्त गराउनुहोस् ।

यसै गरी वैदिक राष्ट्रगानका रूपमा पनि प्रसिद्ध रहेको शुक्लयजुर्वेदको एउटा मन्त्रमा सबैको योगको र क्षेमको (अप्राप्तको प्राप्ति र प्राप्तको रक्षाको) प्रार्थना गरिएको छ । यसै मन्त्रमा हामीलाई आवश्यक भएका वेलामा वर्षा होस् तथा हाम्रो राष्ट्र अन्नले भरिपूर्ण होस् भनेर कामना पनि गरिएको छ । प्रार्थना यस्तो छ—

आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्यः शूर इषव्योतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतां निकामेनिकामे नः पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्तां योगक्षेमो नः कल्पताम् ।।२२।२२।।

हे ब्रह्मन्, यस राष्ट्रमा ब्रह्मतेजले अर्थात् वेदाध्ययन र सच्चरित्रले युक्त ब्राह्मण जन्मियोस् । पराक्रमी, धनुर्विद्यामा निपुण, लक्ष्यवेधी र महारथी क्षत्रिय उत्पन्न होओस् । दुधालु गाई, भारी बोक्ने बलियो गोरु र शीघ्रगामी घोडा होऊन् । स्त्री गुणले सम्पन्न होओस् । रथमा बसेर युद्ध गर्ने व्यक्ति विजयशील होओस् । यस यजमानको सभामा जान योग्य समर्थ वीर पुत्र जन्मियोस् । हामीलाई चाहिएर कामना गरेका–गरेका वेलामा मेघले वर्षा गराओस् । हाम्रा धान, जौ इत्यादि ओषधि फलयुक्त होऊन् । हाम्रो योग र क्षेम होस् (अप्राप्तको प्राप्ति र प्राप्तको रक्षा होस्)।

शुक्लयजुर्वेदको एउटा मन्त्रमा गृहस्थले गाई–गोरु र भेडा–बाख्रापाल्ने कुराको स्पष्ट उल्लेख पाइन्छ—

उपहूताइह गावउपहूता अजावयः ।
अथो अन्नस्य कीलालउपहूतो गृहेषु नः।।३।४३।।

अर्थात्— हाम्रा घरहरूमा गाईगोरु र भेडाबाख्राहरू सुखपूर्वक रहनका लागि बोलाइएका छन् । हाम्रा घरहरूमा अन्नरस पर्याप्त होस् भनेर आह्वान गरिएको छ । यस मन्त्रबाट पनि कृषि र पशुपालनमा समाजका अधिकांश मानिस कुनै न कुनै रूपमा संलग्न हुने कुरा व्यक्त भएको छ ।

शुक्लयजुर्वेदमा नै वनस्पति हाम्रा निम्ति मधुर होस्, सूर्य मधुर होस्, गाईहरू मधुर होऊन् भनेर प्रार्थना गरिएको छ—

मधुमान्नो वनस्पतिर्मधुमाँऽ अस्तु सूर्यः ।
माध्वीर्गावो भवन्तु नः ।। १३।२९।।

अथर्ववेदका भूमिसूक्तमा अन्नजल दिएर मानव मात्रको पालन र पोषण गर्ने पृथ्वीलाई माता भनेर सम्मानपूर्वक उल्लेख गरिएको छ— माता भूमिः पुत्रो अहं पृथिव्याः (१२।१।१२)।

यज्ञमा गरिने हवनबाट नै अन्ततः प्रजाहरूको भरण–पोषण पनि हुने कुरा मनुस्मृतिमा यसरी वर्णन गरिएको छ—

अग्नौ प्रास्ताहुतिः सम्य–
गादित्यमुपतिष्ठते ।
आदित्याज्जायते वृष्टिर्
वृष्टेरन्नं ततः प्रजाः ।।३।७६।।

अर्थात्— शास्त्रीय विधिले यज्ञ गर्दा अग्निमा दिइएको आहुति सूर्यमा पुग्दछ, सूर्यबाट वृष्टि हुन्छ, वृष्टिबाट अन्न उत्पन्न हुन्छ र अन्नबाटै सम्पूर्ण प्रजा उत्पन्न हुन्छन् । यही कुरा भगवद्गीतामा पनि भनिएको छ ।

प्राचीन समयमा भारतवर्षमा खेती गर्ने उपयुक्त कालको छनोटका लागि प्रकृतिको निरीक्षण गरिन्थ्यो । वर्षा हुने समयको पहिचान गरेर तदनुसार कृषि गर्ने विधि कृषिशास्त्रमा बताइएको छ । वैदिक कृषिका विशेष कुराहरू कृषि पराशरमा बताइएका छन् । त्यहाँ वृष्टिज्ञान, कृषिको रेखदेख, हलका सामग्री, वाहनको प्रयोग, गोबरको मल बनाउने विधि, बिउ राख्ने तरिका, बिउ रोप्ने विधि इत्यादि कृषिसित सम्बद्धधेरै विषयहरूको विवेचना गरिएको छ ।

हलो जोत्दा हलो जोत्ने गोरुलाई पीडा नदिईकन खेती गर्नुपर्ने कुरामा शास्त्रमा जोड दिइएको छ । त्यसैले धेरै गोरुले हलो जोत्नुपर्ने शास्त्रीय विधान भेटिन्छ । आठवटा गोरुको हलो उत्तम, छवटा गोरुको हलो व्यावहारिक, चारवटा गोरुको हलो कठोर र दुई गोरुको हलो निकृष्ट मानिने कुरा कृषिपराशरमा यसरी बताइएको छ—

हलमष्टगवं प्रोक्तं
षड्गवं व्यावहारिकम् ।
चतुर्गवं नृशंसानां
द्विगवं तु गवाशिनाम् ।।९६।।

प्राचीन कालमाअत्यन्त विकसित र उन्नत भएको हाम्रा कृषिपद्धतिलाईअध्ययन–अनुसन्धान गरेर पुनः प्रयोगमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ । यसबाट मानवस्वास्थ्यमा र प्रकृतिमा पर्ने नकारात्मक असर पनि कम हुँदै जाने बुझिन्छ ।

साउन २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्