टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालसँगकाे अन्तर्वार्ता

‘तत्काल टुरिस्ट गाइड पुरानै लयमा फर्कने सम्भव छैन’

कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग जोडिएका ‘टुरिस्ट गाइड’ पनि बेरोजगार बनेका छन्। कति विस्थापित बने, कति अन्य व्यवसायतर्फ लागे भने कतिपय विदेशको बाटो रोजिरहेका छन्।

केही गाइड पर्ख र हेरको अवस्थामा छन्। ‘टुरिस्ट गाइड’ का सन्दर्भमा टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालसँग देश सञ्चारले गरेको कुराकानीको संपादित अंशः

१) पर्यटक भ्रमणका लागि नेपाल नआएको करिब डेढ वर्ष भयो। उनीहरूलाई नेपालबारे जानकारी दिने ‘टुरिस्ट गाइड’ को अवस्था कस्तो छ?

कोभिडका कारण सबैभन्दा प्रभावित भएको पर्यटन क्षेत्र हो टुरिस्ट गाइड। त्यस क्षेत्रमा आश्रित श्रमिक सबैभन्दा बढी पीडित भएका छन्। धेरै टुरिस्ट गाइड बेरोजगार बनेका छन्। यो असाध्यै दुःखदायी परिस्थिति हो।

यसबाट उम्कन हामीले आफ्नो तर्फबाट प्रयत्न गरिरहेका छौँ। त्यसले कति सार्थकता पाउँछ भन्ने मुख्य कुरा हो। डेढ वर्षदेखि पीडादायी परिस्थिति झेल्नुपरेको छ। उनीहरूलाई केही राहत दिन सकिन्छ कि या अहिले बसिरहेको समयलाई रिफ्रेस गराउन ट्रेनिङ्ग दिन सकिन्छ भन्ने विषयमा केही गृहकार्य गर्‍यौँ।

२) उनीहरूका लागि टुरिस्ट एसोसिएसन अफ नेपालले के गरिरहेको छ?

कोभिड भ्याक्सिन दिने सवालमा पनि पर्यटन क्षेत्रको पहिलो संस्था बन्यौँ। हामीले आफूसँग आबद्ध सदस्यहरूलाई कोभिडविरुद्धको भ्याक्सिन दिलाइसकेका छौँ। टुरिस्ट गाइडहरू मिलेर बनाएको संस्था हो यो। यसका आफ्नै सीमा छन्।

स्रोत–साधन त्यस्तो प्रचुर छैन। तैपनि हामीले आफ्नो तर्फबाट राज्यसँग होस् या अन्य निकायसँग पहल गरिरहेका छौँ। गर्दागर्दै पनि ठोस परिणाम भने निकाल्न नसकिएको अवस्था हो।

३) यस क्षेत्रबाट कति विस्थापित भए?

हामीले सबै साथीबारे जानकारी राख्न सकेका छैनाैँ। तर, हामीसँग सम्पर्क भइराख्ने धेरै साथी यो पेसाबाट बिस्तारै पलायन हुने क्रम जारी छ। सुरुको लहरमा यो कन्ट्रोल हुँदै जान्छ भन्ने मानसिकता थियो। तर, कोरोनाको लहर आउँदै छ कहिलेसम्म जान्छ थाहा छैन।

त्यसैले एक वर्ष त बेरोजगार बन्याैँ–बन्यौँ। थप कति वर्ष बेरोजगार बन्नुपर्ने हो निश्चित छैन। त्यसकारण गाइडहरू अन्य प्रोफेसनमा लागिरहेका छन्। व्यापार व्यवसाय, ठेक्का–पट्टा यस्तै–यस्तै काममा उहाँहरू लाग्नुभएको छ। जो लामो समयदेखि टुरिस्ट गाइडका रूपमा काम गर्दै आएका थिए। अबका दिनमा हामीले धेरै क्वालिफाइड गाइडहरू यो प्रोफेसनमा फेरि फर्कन नसकिने हो कि भन्ने डर लाग्दो परिस्थिति छ।

४) उनीहरूलाई यस पेसामा फर्काउन कत्तिको सम्भव छ? या भनाैँ यसले पर्यटन क्षेत्रलाई कस्तो असर गर्छ?

निश्चय नै लामो समयसम्म यस क्षेत्रमा काम गरेर दक्षता तथा अनुभव हासिल गरिसकेका टुर गाइड यो प्रोफेसनबाट पलायन हुने भन्नेबित्तिकै त्यसको सट्टामा नयाँ गाइड आउँछन्।

उहाँहरूलाई पनि केही समय लाग्छ ट्रेन हुनलाई। तैपनि, पर्यटन व्यवसाय फेरि पनि चलायमान हुने या पहिलेकै जस्तो अवस्थामा आयो भने उहाँहरू यो प्रोफेसनमा आउनुहुन्छ भन्नेमा म विश्वस्त छु।

५) अहिले पर्ख र हेरको अवस्था छ। आफ्नो व्यवसाय सुरु गरिसकेकाहरू पनि यस पेसामा फर्कन्छन् भन्ने ‘ग्यारेन्टी’ के छ?

फर्कने ग्यारेन्टीचाहिँ गर्न सकिँदैन। कतिपय फर्केलान् कतिपय नफर्कने अवस्था आउन सक्छ। कतिपयले अहिले गरेको वैकल्पिक रोजगारीका कुरा पारिवारिक संलग्न भएर गरेका हुन सक्छन्।

सो व्यवसाय उनका अन्य सदस्यले हरेर उनीहरू पुनः यो व्यवसायमा फर्कने सम्भावना रहन सक्छ। यो पेसा चटक्क छाडेपछि आउँदै नआउने भन्नेचाहिँ होइन। आफ्नो सम्पर्क सम्बन्ध रहिरहेको हुन्छ। ल तपाईंले यो पेसामा आउनुपर्‍यो है भन्दा त्यति गाह्रो त नहोला सायद।

६) गाइडहरूलाई पुनः यस क्षेत्रमा फर्कन कति समय लाग्ला?

त्यो त कामले डिटरमाइन गर्छ। पर्यटन कति चलायमान बन्छ। काम जति चलायमान हुँदै जान्छ विस्थापित भएका गाइड र नयाँ गाइडले काम पाउँदै जाने हो। कामको अवसर कति प्राप्त हुन्छ त्यसका आधारमा प्रोफेसनमा फर्कने गाइडको संख्या निर्धारण हुन्छ।

७) सरकारले हामीलाई हेरेन। यसमा एसोसिएसनले पनि सहजकर्ताको भूमिका निर्वाह गरेन भन्ने टुरिस्ट गाइडहरूको आरोप छ नि? 

उहाँहरूको आरोपलाई म सहर्ष स्वीकार्छु। तर, यो हाम्रो बाटोबाट पनि सोचिदिनुभयो भने अवस्य बुझ्नुहुनेछ। हामीले पहल नगरेको होइन। हामीले कोभिडलगत्तै हाम्रा गाइडका आवाज राखिरह्यौँ। विभिन्न चरणमा हामीले तत्कालीन पर्यटनमन्त्रीदेखि पर्यटन बोर्डका सीइओसम्मलाई हाम्रा समस्या अवगत गरायौँ।

सुरुको चरणमा उहाँहरूले वैकल्पिक रोजगारीका कुरा ल्याउनुभएको थियो। सफ्ट लोनका कुरा पनि थिए। ती कुनै पनि कुरा लागू भएनन् कागजमै सीमित रहे। अहिले आएर सानो प्रोग्राम लन्च हुँदै छ। त्यो कार्यक्रमले थोरै भए पनि गाइडहरूप्रति सम्बोधन हुन्छ कि भन्ने अपेक्षा छ।

८) गाइडहरूले टुरिस्ट गाइडको लाइसेन्सका आधारमा ऋण पाउनु पर्ने माग गरेका थिए। यस विषयमा एसोसिएसनले के गरिरहेको छ?

हामीले निरन्तर पहल गरिरहेका छौँ। त्यो विषयमा नेपाल सरकारले इस्यु गरेको लाइसेन्स परिचय पत्र हुन्छ। त्यसका आधारमा हामीलाई केही सफ्ट लोन प्रदान गरियो, नोमिनल ब्याज तथा निब्र्याज त्यो कुरामा हामीले पहल गर्दागर्दै पनि सुनुवाइ भने हुनै सकेन।

९) लाइसेन्स भरपर्दो नभएर हो कि सुनुवाइ नभएको ?

– भरपर्दो त सरकारले कसरी भन्न सक्छ र! सरकारले नै जारी गरेको आफ्नो परिचयपत्र यो मलाई भरपर्दो लागेन भन्न मिलेन। यो कार्यक्रम किन परेन ? यो टुरिस्ट गाइडको मात्र सवाल होइन, समग्र टुरिजम क्षेत्रमा आश्रित श्रमिकको समस्या हो। यो टुरिस्ट गाइडको मात्र सम्बोधन नभएको होइन। यहाँ अन्य श्रमिकको पनि सम्बोधन भएन।

बजेटमा व्यवसायीका कुरा धेरथोर सम्बोधन भएर आए।। तर, हामीले श्रमिकका मुद्दा केही पनि सम्बोधन भएको हामीले पाएनाैँ। यसले हामीलाई असाध्यै पीडाबोध हुन्छ र आन्दोलित पनि बनाउँछ।

१०) सरकारले टुरिस्ट गाइडका लागि या एसोसिएसनका लागि के गर्नुपर्थ्यो जस्तो लाग्छ?

हामीले के कुरामा जोड गरिरहेका छौँ भने जति पनि गाइड कोभिडबाट पीडित बनेका छन् केही न केही राहत महसुस हुने गरी प्रदान गर्नुपर्छ भन्ने हाम्रो पहिलो कुरा थियो। जति पनि गाइड छन् उनीहरूको लाइसेन्स धितो राखेर भए पनि केही लोनका कुरा, सफ्ट लोनको मुद्दा थियो।

यो आइडेल समय हो यो समयमा उनीहरूलाई यही क्षेत्रमा संलग्न गराइराख्न र क्षमता अभिवृद्धि गर्न रिफ्रेसमेन्ट  ट्रेनिङ सञ्चालन गर्न सक्छौँ। त्यो सञ्चालन गरौँ भन्ने मुद्दा थियो। चौथो भनेको हाम्रो आफ्नै एसोसिएसनका काम हुन्।

पहिलो र दोस्रो सम्बोधन हुन सकेन। तेस्रो रिफ्रेसमेन्टको ट्रेनिङको कुरा प्रपोजल गरेर सम्झौता पनि भइसकेको थियो टुरिजम बोर्डसँग। त्यसलगत्तै लकडाउनका कारण बन्द भयो र त्यो बजेट नै फ्रिज भयो। हामी फेरि अर्को प्रोसेसमा जानुपर्‍यो। त्यस कारण पनि रिफ्रेसमेन्ट ट्रेनिङ सञ्चालन गर्न सकेनौँ।

११) यस क्षेत्रको अर्थतन्त्रमा कतिको योगदान थियो ?

पर्यटन क्षेत्रमा टुरिस्ट गाइडलाई अवैधानिक राजदूत भनेर परिचित गराइन्छ। जसले विदेशीसामु नेपालको सचित्र वर्णन गर्छन्। विदेशी नेपाल आइसकेपछि उनीहरूका लागि नेपाल कस्तो हो, नेपालमा के छ विशेषता? विभिन्न ठाउँमा उनीहरूलाई घुमाएर जुन कुरा हामी प्रिजेन्ट गर्छौं त्यही उनीहरूको बुझाइ हुन्छ।

त्यसकारण यो असाध्यै महत्वपूर्ण र जिम्मेवारपूर्ण कार्य हो। जुन कार्य टुरिस्ट गाइडले गरिरहेका छन्। उनीहरू नै विस्थापित हुनुपर्दा साह्रै दुःख लाग्छ।

१२) पुरानै लयमा फर्कन पर्यटन क्षेत्रलाई कति समय लाग्ला ?

पुरानै लयमा फर्कन हाम्रो विषयले मात्र हुन सक्दैन। विश्व बजार नै धराशयी बनेको स्थिति छ। विशेषगरि हाम्रो मुलुकमा जति सक्यो छिटो जनतालाई खोप लगाउन सकियो भने बल्ल पर्यटकलाई स्वागत गर्न सक्छौँ।

हामी सुरक्षित छौँ, धेरै नेपाली भ्याक्सिनेट भइसके। बन्द व्यापार व्यवसाय सुचारु हुन थाले भने बल्ल त्यो अवस्थामा विदेशीलाई इन्करेज गर्न सक्छौँ नेपाल आउन। जबसम्म यो परिस्थिति सिर्जना हुँदैन तबसम्म पुरानै लयमा फर्कन सम्भव छैन।

साउन २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्