न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले दिए राजीनामा, दुर्व्यवहारको आरोप अस्वीकार तर मागे माफी

विभिन्न महिलाहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् ।

राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार गरेको पाइएको उल्लेख थियो । त्यसपछि उनीमाथि राजीनामाको दबाब परेको थियो ।

लगातार आरोप अस्वीकार गर्दै आएका कुओमोले अझै पनि आफूले कुनै पनि महिलालाई दुर्व्यवहार नगरेको बताएका छन् ।

आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै कुओमोले भनेका छन्, ‘अहिलेको मैले राम्रो तरिकाले सहयोग गर्न सक्ने भनेको पछि हटेर वा पाखा लागेर हो ।’ उनको राजीनामा अबको १४ दिनमा लागु हुनेछ ।

उपगभर्नर क्याथी हकलले गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् ।

कुओमोलाई राष्ट्रपति जो बाइडेनसहित डेमोक्र्याटिक पार्टीकै नेताहरुबाट राजीनामाका लागि दबाब परेको थियो । एक वर्ष पहिले कुओमो अधिकांश अमेरिकीका प्रिय पात्र थिए ।

कोरोना भाइरसको महामारीले अमेरिकामा प्रवेश पाएपछि बढी प्रभावित भएको न्यूयोर्क राज्यको अवस्थाबारे उनले दैनिक तथ्य परक पत्रकार सम्मेलन गर्ने गरेका थिए ।

तर यौन दुर्व्यवहारको आरोपले उनको छवी खराब भयो र राजीनामा दिन बाध्य भए । उनी न्यूयोर्कका लगातार तेस्रो गभर्नर हुन्, जसले कुनै न कुनै प्रकारको स्क्याण्डलका कारण पद छोड्नु पर्ने अवस्था आयो ।

स्वतन्त्र अनुसन्धानले गभर्नर गुओमोले विभिन्न महिलामाथि दुव्र्यवहार गरेको फेला पारेको थियो । न्यूयोर्ककी न्यायाधीवक्ता लेटिसा जेम्सलेले गभर्नर कुओमोले संघ तथा राज्यको कानून उल्लंघन गरेको बताएकी थिइन् ।

तर गभर्नर कुओमोले भने आफूले कुनै पनि महिलालाई नराम्रो वा अनुपयुक्त तरिकाले नछोएको बताउँदै राजीनामा नदिने अडान लिएका थिए ।

गएको वर्ष विभिन्न महिलाहरुले गभर्नर कुओमोले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि न्यायाधीवक्ताको कार्यालयले अनुसन्धान थालेको थियो ।

पाँच महिना लगाएर अनुसन्धानकर्ताहरुले झण्डै २०० जनासँग सोधपुछ गरेका थिए । आरोप लगाउने महिलाहरुसहित कर्मचारीहरुसँग पनि सोधपुछ गरेका थिए । अनुसन्धानको क्रममा दशौँहजार कागजात, सन्देश तथा तस्बिरहरु हेरिएको हो ।

न्यायाधीवक्ता जेम्सले भनेकी थिइन्, ‘स्वतन्त्र अनुसन्धानले निष्कर्ष निकालेको छ कि गभर्नर एन्ड्रयू कुओमोले विभिन्न महिलाहरुलाई यौन दुर्व्यवहार गरेको देखियो । यसरी उहाँले संघ तथा राज्यको कानूनको उल्लंघन गर्नु भएको छ ।’

कुओमोले स्वागतयोग्य नरहने र सहमति बिना विभिन्न महिलालाई छोएको तथा धेरै आपत्तिजनक टिप्पणी गरेको न्यायाधीवक्ता जेम्सले बताएकी थिइन् ।

६३ वर्षका कुओमोले लगातार सबै आरोप अस्वीकार गर्दै आएका छन् । तर उनले आफ्नो कुनै गतिविधिले कुनै पनि महिलालाई असहज भएको भए माफी चाहेको बताएका छन् ।

साउन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्