परीक्षा र संक्रमणको जोखिमलाई लिएर सांसद थापाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

गगन थापा । फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री गगन थापाले कोरोना भाइरसको संक्रमणको जोखिमका बिच सञ्चालन भइरहेको परीक्षाका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

संक्रमणको जोखिम उच्च रहेका बेला सावधानीका कुनै पनि उपायबिना सञ्चालित परीक्षाले विद्यार्थीलाई जोखिममा धकेलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद थापाले उल्लेख गरेका छन् ।

उनले मंगलबार साँझ प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो विषयलाई गम्भीरताका साथ लिएको उल्लेख गरेका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत बुधबार यसबारे जानकारी दिँदै लेखेका छन्, ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरि परीक्षा सञ्चालन भइरहेका छन् । एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन् ।’

उनले अघि लेखेका छन्, ‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ१तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’

आफ्नो यो ध्यानाकर्षणलाई प्रधानमन्त्री देउवाले गम्भीरताका साथ लिएको उल्लेख गर्दै तत्काल पहलकदमी लिई ठोस निर्णय लिने विश्वास दिलाएको बताए ।

अहिले त्रिविका विभिन्न तहका परीक्षा भइरहेका छन् । ती परीक्षा रोक्न माग गर्दै प्रदर्शन भइरहेको छ ।

साउन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्