चिरप्रतिद्वन्द्वी रामोस र मेस्सी पिएसजीमा

बार्सिलोना र रियल मड्रिडका ‘कप्तान’ एउटै क्लबबाट खेल्दा कस्तो देखिएला?

स्पेनिस सेन्टर ब्याक सर्जियो रामोस सधैँ क्रिष्टियानो रोनाल्डोको प्रशंसक रहे। हुन पनि रामोस र रोनाल्डोसहितको रियल मड्रिडले अन्तर्राष्ट्रिय क्लब फुटबलमा राज नै गरेको थियो। रियल मड्रिड लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिगको विजेता बन्दा मुख्य प्रेरणा डिफेन्डर रामोस र स्ट्राइकर रोनाल्डोकै थियो।

यी दुवै खेलाडीले रियल मड्रिडबाट तीन ला लिगा र चारवटा च्याम्पियन्स लिग उपाधि जिते। सन् २००९ मा रोनाल्डोलाई आबद्ध गरेपछि रियल सशक्त बनेको थियो। रियल आएपछि नै हो, रोनाल्डो थप चारपटक फिफा वर्ष खेलाडि बने। रामोस सन् २००५ मै रियल मड्रिड भित्रिएका थिए।

रियल म्याड्रिडको सबैभन्दा ठूलो भिडन्त  बार्सिलोनासँग नै हुने  गरेको छ। रियल मड्रिड-बार्सा भिडन्त लगभग युद्ध मैदानजस्तै हुने गर्छ। बार्सामा लियोनल मेस्सीको उपस्थितिले यो भिडन्त ‘ एल क्लासिको’ को उचाई बेग्लै बनाएको थियो। त्यसमा पनि रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म रियल म्याड्रिडबाट खेलेको समय एल क्लासिकोको बेग्ले हाइप थियो। त्यो समय विश्वका सर्वोत्कृष्ट दुई समकालिन फुटबलर एउटै घरेलु  लिगबाट खेलिरहेका थिए। अनि एक क्लासिकोमा रोनाल्डोले अग्रपंक्ति सम्हालिरहँदा मेस्सीलाई रोक्ने मुख्य जिम्मेवारी सेन्टर ब्याकका रुपमा रामोसकै थियो। मेस्सी, रामोसका सबैभन्दा ठूला शत्रुजस्ता देखिन्थे। बलका लागि भिड्नेक्रममा मेस्सीमाथि रामोसले फल गरेका कैयौँ घटना छन्। दुईपटक त मेस्सीमाथिकै फलका कारण रातो कार्ड पनि पाएका थिए।

रोनाल्डो सन् २०१८ मा रियल छाडेर इटालियन क्लब युभेन्टस पुगे। रोनाल्डोले मेस्सीसँग एउटै लिगमा खेल्दाको रोमान्चकतालाई विभिन्न अवसरहरुमा सम्झने गरेका छन्।

पछिल्ला वर्षहरुमा रामोस रियल मड्रिड र मेस्सी बार्सिलोनाको कप्तान रहेका थिए। रामोस १६ वर्षपछि रियल छाड्दै दुई महिना अघि मात्र फ्रान्सको पेरिस सेन्ट जर्मन-पिएसजी पुगेका थिए। रामोसका चिरप्रतिद्वन्द्वी मेस्सी पनि २१ वर्ष लामो बार्सिलोना बसाईपछि पिएसजी पुगेका छन्। रामोस, रियल म्याड्रिड भित्रनुभन्दा एक वर्ष अघि मात्र मेस्सीले ला लिगामा डेब्यु गरेका थिए। त्यसअघि उनी बार्सिलोनाको एकेडेमीमा थिए।

मेस्सीले आफ्नो करियरमा ४५ वटा एल क्लासिको खेलेका छन् जसमा २६ गोल गरेका छन्। एल क्लासिको सबैभन्दा बढी खेल्ने मेस्सी र रामोस हुन्।  मेस्सीले खेलेका एल क्लासिकोमा बार्सिलोनाले १९ जित, ११ बराबरी र १५ हार ब्यहोरेको छ। मेस्सी एल क्लासिकोका सर्वाधिक गोलकर्ता हुन्। दोस्रो स्थानमा रहेका रोनाल्डो र अल्फ्रेडो डी स्टेफानोले समान १८ गोल गरेका छन्। मेस्सीले पछिल्ला ८ एल क्लासिकोमा भने गोल  गर्न सकेका थिएनन्।

मेस्सीले सबैभन्दा बढी गोल गरेका क्लबको सूचीमा रियल म्याड्रिड चौथो स्थानमा पर्छ। उनले सेभिल्लाविरुद्ध ३८, एट्लेटिको मड्रिडविरुद्ध ३२ र भ्यालेन्सियाविरुद्ध २८ गोल गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा रामोस ‘फल’का कारण बदनाम छन्। उनी सबैभन्दा बढी रेड कार्ड पाउने फुटबलर हुन्। उनले करियरमा २६ पटक रेड कार्ड पाएका छन्। तीमध्ये पाँच पटक एल क्लासिकोमा पाएका हुन्। बार्सिलोनासँगको भिडन्तमा मेस्सीबाहेक अन्य तीन अवसरमा रामोसले सर्जियो बुस्केट्स, नेइमार र लुइस स्वारेजलाई फल गरेका कारण रातो कार्ड पाएका थिए। रियल आएयता रामोसले पाएका रेड कार्डमध्ये ६ वटा ला लिगामा र दुईवटा च्याम्पियन्स लिगमा रहेका छन्। डिफेन्डर भए पनि गोल गर्ने कलाका कारण पनि उनी चर्चित थिए। रियलका लागि उनले एक सय एक गोल  गरेका थिए।

रियल म्याड्रिडका लागि करिब डेढ दशक लामो समय खेल्नेक्रममा रामोसले २ कोपा डेल रे, ३ वटा युईएफए सुपर कप, चारवटा क्लब विश्वकप र चारवटा स्पेनिस सुपर कपको उपाधि पनि जितेका छन्। रामोसले अब बार्सिलोनाका पूर्व खेलाडीहरु नेइमार र मेस्सीसँग एउटै क्लबबाट खेल्नु पर्ने छ।

रोनाल्डो र मेस्सी दुवैसँग खेल्ने रामोस पहिलो खेलाडी भने हुने छै‌नन्। अर्जेन्टिनाका एन्जेल डी मारिया, कार्लेोस टेभेज, इजेक्वेल गारे, फर्नान्डो गागो, गोन्जालो हिगुएन र पाउलो डिबाला तथा बार्सिलोनाका जेर्राड पिके, नेल्सन सेमेडो , ट्रिनकाओ तथा युभेन्ट्सका आर्थर, मिरालेम पिजानिच र  मार्टिन कासेरेसले मेस्सी र रोनाल्डो दुवैसँग कुनै न कुनै समय एउटै क्लबबाट खेलेका छन्। पोर्चुगलका डेको र आन्द्रे गोमेजले पनि मेस्सी र रोनाल्डोसँग एउटै क्लबबाट कुनै न कुनै समय एउटै क्लबबाट खेलेका छन्।

मेस्सीको पिएसजी आगमनपछि रामोसले विश्वका सर्वोत्कृष्टमध्येका खेलाडीसँग एउटै टोलीबाट खेल्न पाउनु खुशीको कुरा हुने बताएका छन्।

साउन २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्