पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ।
लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा ताक्चीमा अपायक पर्ने र लामो बाटो हुने भएपछि मानिसहरु तुम्लिङमा कर्णाली नदीको सहायक नदी तर्ने गरेका छन्।
लिङ खोला र तुम्लिङको सहायक नदी बाटोमै पर्छन्। यो नदीमा यातायात सुचारु भए गाडीमा जाने भए पनि यस वर्ष हिउँदबाटै भत्केको बाटो मर्मत नभएको हुँदा गाडी सुचारु भएको छैन। ज्यानै जोखिममा राखेर मानिसले नदी तर्न बाध्य हुनुपरेको छ।
तुम्लिङमा धेरै पहिलेबाट पुल निर्माणका लागि आवाज उठाए पनि हालसम्म निर्माण हुन सकेको छैन। लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन गएकी वडासचिव हीरा शर्मा मगरले तीन जना साथी मिलेर तुम्लिङमा नदी तरेको बताइन्। काम पर्ने भएकाले जोखिम मोलेरै भए पनि नदी तर्नुको विकल्प नभएको उनले बताइन्।
लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन उनीहरूको टोली गएको हो। वडाध्यक्ष पाल्जोर तामाङले मंसिरपछि पानी कम हुने भएपनि बर्खामा बढेको नदी तर्नुपरेको बताए।
युवा युवतीलाई केही सहज भए पनि वृद्धवृद्धा र बालबालिका भने तर्न नसक्ने बताउँदै कर्णालीको सहायक नदीसमेत रहेको तुम्लिङमा पुल बनाउन सम्बन्धित निकायसँग आग्रह गरे।
हिउँ पग्लेर आउने भएका कारण पानी पनि निकै चिसो हुने उनले बताए।