र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था विमानस्थलमा नहुँदा युएई जाने नेपाली कामदार अलपत्र

त्रिभूवन विमानस्थल। फाइल तस्बिर

काठमाडौँ – त्रिभूवन विमानस्थलमा र्‍यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा युएई जाने अरु सबै आधार पूरा भएका नेपालीहरु अलपत्र परेका छन्। गएको बिहीबारदेखि नेपालीहरुका लागि युएई खुला भएको थियो।

तर र्‍यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा गएको सोमबारदेखि नेपालबाट युएई उडान हुन सकेको छैन। युएईले आवासीय भिसा भएका तथा कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा उतै (युएई मै) लगाएका व्यक्तिका लागि खुला गरेको हो।

खोप नलगाएका तर आवासीय भिसा भएका व्यक्तिलाई भने ४८ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ। यस्तै चार घण्टाअघि र्‍यापिड पिसिआर परीक्षण पनि गर्नु पर्ने व्यवस्था छ।

र्‍यापिड पिसिआर परीक्षणको व्यवस्थाका कारण अरु शर्त पूरा गरेर टिकट काटेका व्यक्तिहरु पनि युएई जान पाएका छैनन्। युएईले र्‍यापिड पिसिआर परीक्षण विमानस्थल भित्रै भएको हुनु पर्ने व्यवस्था गरेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो व्यवस्था छैन।

बिहीबार देखि आइतबारसम्म युएईका लागि केही उडान भए पनि विमानस्थल परिशरमा र्‍यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा सोमबारदेखि उडान नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘युएईका लागि उडान खुला भए पनि अहिले हुन सकेको छैन। हाम्रो विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणका लागि उपकरण छैन, युएईले विमानस्थल भन्दा बाहिर गरिएको त्यस्तो परीक्षणलाई मानेको छैन। सोही कारण गएको सोमबारदेखि उडान हुन सकेको छैन।’

विमानस्थल वा निजी उडान कम्पनीहरुलाई र्‍यापिड पिसिआर परीक्षण मेसिन व्यवस्था गर्न कठिन रहेकाले समस्या भएको उनले बताए। ‘युएईले भने जस्तै उडान भन्दा चार घण्टा पहिलेको र्‍यापिड टेस्ट रिपोर्टका लागि कम्तीमा १० वटा मेसिन चाहिने देखिन्छ। सो व्यवस्था नेपाल वायु सेवा निगम वा अरु उडान कम्पनीले गर्न सक्ने अवस्था छैन।’

आफूहरुले पर्यटन मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको प्रवक्ता क्षेत्रीले बताए।

र्‍यापिड पिसिआर परीक्षण मेसिन विमानस्थलमा व्यवस्था गर्ने बारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। तर कति समयभित्र सो व्यवस्था हुनेछ भन्ने यकिन भने मन्त्रालयले गर्न सकेको छैन। र्‍यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा नेपाल वायु सेवा निगम, हिमालयन एअरलायन्स तथा फ्लाइ दुबईले उडान भर्न सकेका छैनन्।

तर बिहीबार एअर अरेबियाले सारजहाँ र अबुधाबीमा उडान गर्ने र त्यसका लागि विमानस्थलको गेट बाहिर र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था गरेको जानकारी आएको प्रवक्ता क्षेत्रीले बताए।

उनले भने, ‘विमानस्थल परिसर भित्रै परीक्षण हुनु पर्ने नियम छ, तर एअर अरेबियाले आफूले दुबईका अधिकारीसँग कुरा गरेर गेट बाहिर गरिने परीक्षणलाई मान्यता दिने व्यवस्था मिलाएको बताएका छन्।’

एअर अरेबियाले अस्थायी व्यवस्था गरेर केही यात्रु लैजाने तयारी गरे पनि हिमालयन एअरलाइयन्स, नेपाल वायु सेवा निगम तथा फ्लाइ दुबईको टिकट लिएर बसेका दुबई जानु पर्ने नेपालीहरु भने अलपत्र परेका छन्। यसरी अलपत्र परेका नेपाली कामदारहरुले सम्बन्धित एअरलायन्स तथा स्वास्थ्य मन्त्रालयमा आफ्नो ध्यानाकर्षण गराएका छन्।

तर आफूहरुको समस्या भने समाधान नभएको पीडितहरुले बताएका छन्। गएको मे ६ मा बिदामा नेपाल आएकी बुटवलकी गीता पाण्डे (४० वर्ष) सबै प्रक्रिया पूरा गरेर गएको सोमबार बेलुका दुबई जानका लागि त्रिभूवन विमानस्थल पुगेकी थिइन्। दुबईमा नै खोपको दुवै मात्रा लगाएकी उनले आउँदा नै नेपाल वायु सेवा निगम (आरए) को टिकट काटेकी थिइन्।

तर केही दिन आरएको विमान नजाने सुनेपछि काटेको टिकटको माया मारेर हिमालयन एअरलायन्सको टिकट ४८ हजार तिरेर काटेको उनले बताइन्। ‘हामीलाई काठमाडौँ मेडिकल कलेजमा लगेर परीक्षण गराईयो। हामीलाई र्‍यापिड टेस्ट नै भनिएको थियो। त्यसपछि विमानस्थल गयौँ। तर सो रिपोर्ट ल्याउँदा बेलुका ९ बजेको थियो, त्यसपछि हिमालयन एअरलाइन्सले फ्लाइट क्यान्सिल भएको जानकारी दिए’, उनले भनिन्।

आफूहरुलाई जसरी परीक्षण गराईयो त्यसले काम नचल्ने थाहा भएर पनि गराईएको गीतासहितका प्रभावितहरुको भनाई छ। ‘स्पष्ट रुपमा युएईले विमानस्थल बाहिरको परीक्षण मान्य नहुने भनेको अवस्थामा हामीलाई जानकारी नै नदिएर बेकारको खर्च गराइयो, अहिले हामी अलपत्र छौँ’, उनले भनिन्।

रोजीरोटीका लागि विदेशिनु आफूहरुको रहर नभई बाध्यता रहेको र अहिले र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था नहुँदा आफूसहित धेरै नेपालीको मुखमा आएको अवसर गुम्ने अवस्था भएको गीताले बताइन्।

विगत १४ वर्षदेखि युएईमा काम गर्दै आएकी उनले भनेकी छन्, ‘हामीलाई जाने व्यवस्था गरिनु पर्छ, काम गरेर खान पाउनु पर्छ। एअरलायन्स तथा सरकारले सो व्यवस्था गरोस्, हामी अहिले होटलमा बसेका छौँ, त्यसका लागि पनि खर्च छैन, व्यवस्था होस्।’

साउन २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्