‘एअरलायन्सको गल्तीले हामी युएई जान पाएनौँ, अहिले होटल छोड्न धम्की आउँदैछ’

फाइल तस्बिर

काठमाडौँ – उडान कम्पनीको लापरवाहीका कारण आफूहरु गम्भीर समस्या परेको संयुक्त अरब इमिरेट्स (युएई) जान नपाएर अलपत्र परेका कामदारले बताएका छन्।

गएको हप्ताको बिहीबारदेखि युएईले आवासीय भिसा भएका तथा कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएका वा खोप नलगाएकाको हकमा ४८ घण्टा पहिलेको पिसिआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई प्रवेश खुला गरेको थियो।

यस्तै विमानस्थल भित्रै उडान भन्दा चार घण्टा पहिले गरिएको र्‍यापिड पिसिआर परीक्षणको रिर्पोट पनि चाहिने व्यवस्था युएईले गरेको छ। तर स्पष्ट रुपमा र्‍यापिड पिसिआर परीक्षण चाहिनेमा हिमालयन एअरलाइन्सले एन्टिजेन परीक्षण गर्न लगाएको र सोही कारण जान नपाएको आरोप पीडित कामदारको छ।

गएको सोमबार (अगस्ट ९) राति ११ बजेपछि हिमालयन एअरलाइन्सको विमानमार्फत युएई जाने तयारीमा रहेका ९० जना नेपाली कामदारहरु अहिले काठमाडौँमा अलपत्र छन्। आफूहरुलाई ‘ब्ल्याक लिस्टमा राख्ने तथा ६ महिनासम्म जान नपाउने बनाइदिने’ धम्की अहिले हिमालयन एअरलाइन्सले दिएको एक प्रभावित कामदारले भनेका छन्।

परिचय नखुलाउन भनेका ती कामदारले भने, ‘धम्की दिएका छन्। हामी समस्यामा छौँ। सोमबार राति हामीलाई हिमालयन एअरलाइन्सले नै काठमाडौँ मेडिकल कलेज जान भन्यो एन्टिजेन परीक्षणका लागि। रिपोर्ट बेलुका साढे ८ बजेपछि आउने भनियो। हामी विमानस्थलमा पर्खिएर बस्यौँ। ९ बजेतिर रिपोर्ट आयो। त्यसपछि एन्टिजेन रिपोर्टले नहुने रहेछ, उडान नहुने भयो भनियो।’

एअरलाइन्सका कर्मचारीले आफूहरुलाई अब अर्को उडान नभएसम्म बसोबासको व्यवस्था मिलाउने भन्दै होटलमा लगेको र अहिले आएर होटल छोड्न धम्की दिने गरेको ती युवाले बताएका छन्।

उनले भने, ‘हामी ९० जना सबै बिदामा नेपाल आएका हौँ। सबैले खोपको पूरा मात्रा लगाएका छौँ। पिसिआर परीक्षण पनि गरेको हो। तर एअरलायन्सले र्‍यापिड पिसिआरको सट्टा एन्टिजेन परीक्षण गराएकाले हामी जान पाएनौँ। अहिले आएर जाने टुंगो पनि छैन र बसिरहेको होटलबाट पनि निस्कन धम्की दिइरहेका छन्।’

कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा फेरि युएईले नेपालबाट हुने प्रवेशमा रोक लगाएमा आफूहरुको रोजगारी गुम्मेसम्मको जोखिम रहेको उनले बताए।

उनले भने, ‘नेपालमा रोजगार छैन। गरिखान विदेश जानुको विकल्प पनि छैन। दुःख परेका बेला हामी आप्रवासी नेपाली कामदारहरुले नै अक्सिजनसहितको सहयोग गरेकै हो। अहिले एअरलायन्सले लापरवाही गरेर हामी समस्यामा आएका छौँ। सरकारले पनि यसमा चासो दिएको छैन। हामीलाई गरिखाने व्यवस्था होस्, काम गरिरहेको कम्पनी जान पाइयोस् भन्ने हो।’

पीडित कामदारहरुले आफूहरु अहिले पनि एअरलायन्सले सोमबार राति वाचा गरेर ल्याएको होटलमा रहेको बताएका छन्।

‘तर कुन बेला यहाँबाट निकालिने हौँ ठेगान छैन। समस्यामा छौँ’, पीडित एकजनाले भने, ‘मेराे नाम नलेखिदिनुहाेला।’

र्‍यापिड पिसिआर परीक्षणको व्यवस्थाका कारण अरु शर्त पूरा गरेर टिकट काटेका व्यक्तिहरु पनि युएई जान पाएका छैनन्। युएईले र्‍यापिड पिसिआर परीक्षण विमानस्थल भित्रै भएको हुनु पर्ने व्यवस्था गरेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो व्यवस्था छैन।

बिहीबारदेखि आइतबारसम्म युएईका लागि केही उडान भए पनि विमानस्थल परिशरमा र्‍यापिड पिसिआर टेस्टको व्यवस्था नहुँदा सोमबारदेखि उडान नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘युएईका लागि उडान खुला भए पनि अहिले हुन सकेको छैन। हाम्रो विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणका लागि उपकरण छैन, युएईले विमानस्थल भन्दा बाहिर गरिएको त्यस्तो परीक्षणलाई मानेको छैन। सोही कारण गएको सोमबारदेखि उडान हुन सकेको छैन।’

तर बिहीबार एअर अरेबियाले सारजहाँ तथा अबुधाबीमा उडान गर्ने र त्यसका लागि विमानस्थलको गेट बाहिर र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था गरेको जानकारी आएको प्रवक्ता क्षेत्रीले बताए।

‘विमानस्थल परिसर भित्रै परीक्षण हुनु पर्ने नियम छ, तर एअर अरेबियाले आफूले दुबईका अधिकारीसँग कुरा गरेर गेट बाहिर गरिने परीक्षणलाई मान्यता दिने व्यवस्था मिलाएको बताएका छन्।’

एअर अरेबियाले अस्थायी व्यवस्था गरेर केही यात्रु लैजाने तयारी गरे पनि हिमालयन एअरलाइयन्स, नेपाल वायु सेवा निगम तथा फ्लाइ दुबईको टिकट लिएर बसेका दुबई जानु पर्ने नेपालीहरु भने अलपत्र परेका छन्।

साउन २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्