किन भत्काइयो महाकवि देवकोटाको घर?

‘कविकुञ्ज ठडिएको हेरेर मर्न मन छ’

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी पुत्री अम्बिकादेवी रिजाल

काठमाडाैँ – युवाहरुको एक झुण्ड हल्ला गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको काठमाडौँको मैतीदेवीस्थित घरको परिसर भित्र पसे! भत्काएर इँट्टा र माटो सम्मै भएको भग्नावशेषमा खोतल्न थाले। समूहका एक राजु झल्लु प्रसादले च्यातिएको भागवत पन्ना फेला पारे, किताबको माथिल्लो आधाभागमा लागेको माटो टक्टकाउँदै उनले भने, ‘सायद महाकविले पढ्ने पुस्तक थियो होला यो। घर भत्काउँदा यो चिजलाई किन संरक्षण गरिएन?’

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाले १५ वर्ष बिताएको घर नयाँ संरचना बनाउने निर्णय स्वरुप भत्काइसकेको छ। घरका केही इँट्टा पर्खालको आड छन्। छानाको पुरानो जस्तालाई ठोकेर सामान राख्ने अस्थायी टहरा बनाइएको छ। गेटबाट छिरेर अलि अगाडि गएपछि देब्रेपट्टी मक्किएका काठ फालिएका छन्।

एक साता अगाडि जब महाकविको घर भत्काउन सुरु गरियो तब कविकुञ्ज भत्काउन कति उपयुक्त र अनुपयुक्त भनेर बहस चल्यो। संग्रहालय बनाउनका लागि घर भत्काउन नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको निर्णयको सर्वत्र विरोध भयो। सर्वत्र कुरा फैलिएपछि पुगेका थिए, झल्लु प्रसाद मैतीदेवीमा। मक्किएको काठ अनि भद्रगोल इँट्टा र माटोको भग्नावशेषबाट पुराना पुस्तकका पाना निकाले उनले। यो दृश्यपछि भविष्यमा बन्दै गरेको कल्पनिक कविकुञ्जको धरोहर पनि मक्कायो।

केही वर्ष अगाडि मैतिदेवीको कविकुञ्जको भित्रको तस्बिर । तस्बिर सुनिता साखकर्मी

‘भवन कस्तो बन्छ भन्नेमा मलाई मतलब छैन, तर यो अवस्था हेर्दा मलाई कविकुञ्जमा देवकोटाको आत्मीयता अनुभूत हुन्छ कि हुँदैन भन्नेमा चिन्ता लागेको छ, किनकि जुन हिसाबमा अहिले घर भत्काइँदा उनको स्मृति दिने सम्पत्तिलाई ख्याल नगरिएको भान भयो, पछि बनेको घरले देवकोटाको घरको अस्तित्व कति संगाल्ला?’

उनको जस्तै प्रश्न धेरैले उठाएका छन्। सामाजिक सञ्जालमा पनि देवकोटाको घर भत्काइएको विषयमा आलोचना भइरहेको छ। घर सम्पूर्ण रुपमा भत्किएपछि निर्माणको जिम्मा पाएको नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ लगायतका टोली निरीक्षणको लागि मैतीदेवी पुगेका थिए।

कुलपतिले आइरहेका प्रश्नलाई ‘नबुझी गरिएको व्याख्या’ को नाम दिए। ‘भत्काउने निर्णय यसै भएको होइन, घरको अवस्था हेरेर, राख्न नमिल्ने भएपछि नै भत्काइएको हो’, उनले भने, ‘भइरहेको घर भत्काइयो भनेर भावुक हुनु स्वाभाविक हो तर मानिसहरुले यहाँ त्यस्तै नयाँ संरचना बन्छ भनेर बुझेका छैनन्। उहाँहरुलाई त्यो बेलामा घर कस्तो थियो भन्ने पनि थाहा भएन।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती।

कुलपति उप्रेतीका अनुसार डेढ वर्ष अगाडिबाट कविकुञ्ज बनाउने भनेर विभिन्न चरणमा विभिन्न योजना बन्यो। पहिला महाकविका सन्तानसँग सरकारले जग्गा, सम्पत्तिको आधिकारिक स्वामित्व लियो। संग्रहालय बनाउने भनेर निरीक्षणको लागि आउँदा भवन भूकम्पले क्षतिग्रस्त पारेको भेटियो। १५ वर्षदेखि कोही पनि नबसेको पुरानै घर लाई संरक्षण गर्न नसकिने स्थिति देखियो।

‘घरको बाहिर पक्की इँटा देखे पनि भित्र काँचा इँटा रहेछन्, जुन कमजोर भइसकेको थियो। काठहरु मक्केर मटान नै खसेको थियो,’ कुलपति उप्रेतीले भने, ‘हामीले प्राविधिकहरुलाई जचायौँ, रेट्रोफिटिङ गर्ने अवस्था नै नरहेको बताए। हामीले प्राविधिकहरुलाई सल्लाह गर्‍यौँ। यस्ता घरहरुलाई के गर्ने गरिएको छ? त्यसलाई पुन:निर्माण गर्ने गरिएको छ भनेपछि हामीले पनि पुन:निर्माण नै गर्न लाग्यौँ।’

उप्रेतीका अनुसार घरमा टेको लगाएर राख्न पनि सम्भव थिएन। देवकोटा निवास १२ आनामा बनेको थियो। प्रतिष्ठानले देवकोटा निवासको पुरानो आकृति बँचाएर, देवकोटाको तमाम इतिवृत्ति समेट्न संग्रहालय बनाउनका लागि नयाँ संरचना निर्माण गर्न लागेको हो।

कुलपति उप्रेतीका अनुसार मौलिक आकार नबिग्रने गरी डिपिआर डेढ वर्ष अगाडि नै बनिसकेको छ। घर कस्तो बन्छ भनेर चिन्ता लागेको छ भने पुनःनिर्माण भएको दरबार हाई स्कूल हेर्न सकिन्छ भनेर उनले उदाहरण दिए।

‘दरबार हाइस्कूल एक वर्ष अगाडि भत्किएको थियो, नयाँ प्रविधि लगाएर स्कूललाई पुरानै अवस्थामा ल्याइएको छ’, उनले भने, ‘मान्छेले बाहिरको सग्लो आकृति देखेका थिए, भत्काएपछि बन्दैन भन्ने सोचे, तर हामीले सम्झौता गरेको ठेक्का अनुसार चैत महिनासम्म भवन बनिसक्छ।’

उप्रेतीका अनुसार पुरानो कविकुञ्जका १० प्रतिशत इँट्टामात्र काम लाग्ने रहेछन्। अब बन्ने कविकुञ्जमा त्यही आकृतिका इँट्टाले भवन ठड्याइन्छ। ‘यो बाँकी इँट्टाको ऐतिहासिक महत्व छ, त्यसैले प्रयोग गर्न मिल्नेसम्म प्रयोग गर्नुपर्छ’, उनले भने, ‘झ्यालहरु पनि पुरानै शैलीमा नयाँ काठका बन्छन्।’

उनले यो घरको जग राम्रो नभएकाले पछिसम्म टिकाउनका लागि पुनःनिर्माण गर्नु पर्ने बताए। उनले सम्पदाको रुपमा डिल्ली बजारमा रहेको देवकोटा जन्मेको घरको संरक्षण गर्नुपर्ने बताए। उप्रेतीका अनुसार भवन बनाउने ठेकेदारले चैतसम्मको वर्कप्लान दिएका छन्, उक्त वर्कप्लानमा कोभिड, बजेट निकासा लगायतका काम रोकिएन भने तोकिएको समयमा नै काम सम्पन्न हुन्छ। आकृतिपछि यसमा प्राविधिक कामहरु पनि छन्, २०७९ साल लक्ष्मीपूजासम्म कविकुञ्ज पूर्ण रुपमा नै बनिसक्छ।


भत्काइएका भवनबाट निकालिएको इँट्टा तह लाग्दै थिए। मानिसहरु उक्त संरचना हेर्न आउने जाने क्रम चलिरहेको नै थियो। देवकोटाकी माइली छोरी अम्बिकादेवी रिजाल ‘मिडी’ लगाएर उही संरचनामा यता उता गरिरहेकी थिइन्। कानमा ‘एयरिङ एड’ लगाएकी रिजाललाई अरुले बोलेको कुरा सुन्न अलि ध्यान दिनुपर्थ्यो। खाल्डा खुल्डी पार गर्न अड्कलेर पाइला चाल्नुपर्थ्यो।

७८ वर्षकी अम्बिकाको त्यो भग्नावशेषसँग विषेश सम्बन्ध छ। उनी त्यही घरमा हुर्किएकी हुन्। महाकविको बुईँ चढेर लेख्न, पढ्न नदिएको स्मरण छ उनलाई। त्यही घरमा हुर्किएर विवाह गरी बिदाइ भएकी रिजालको मन त्यहाँ केही हुँदा च्वास्स घोच्छ। माइती हो नि, पछिल्लो समय कोही नबसेको त्यो घर मक्किएको हेर्दा उनको मुटु चिसो भएको थियो। २०७२ सालको भूकम्पले घरको भित्री संरचना खस्दा मन काँपेको थियो। आफैले खेली, नाची हुर्किएको घर बेवारिसे जस्तो भयो।

अहिले सरकारले त्यही ठाउँमा उस्तै घर बनाउने भन्दै पुरानो घर भत्कायो। ‘घर भत्काएकोमा म खुशी पनि छु, दुःखी पनि’, उनले भनिन्, ‘बाल्यकाल अब सम्झनामा मात्र सीमित हुने भयो भनेर दुःख लाग्छ, तर भत्किएर नामोनिशान नरहनु भन्दा त नयाँ बनेको जाती। अब त यो पुस्तौँ पुस्तासम्म रही रहन्छ।’

अम्बिकाले देख्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा मटान, खाटमा बसेर लेखिरहेका हुन्थे। अझ घरको पिँढी उनको लागि राम्रो लेख्ने ठाउँ थियो। बगैँचा, गाई अनि कुदेको अनुभूति अब उनले नयाँ घरमा समेट्नुपर्ने छ।

महाकविको पुरानो घर, तस्बिर मञ्जिला अनिलको फेसबुकबाट

उनी खुशी छिन्, अब उनको घर हेर्दिने सरकार छ र उनलाई विश्वास पनि छ चर्केको घर राम्रो बन्ने छ, अबका पुस्तौँ पुस्ताले उनको पिताको निवास हेर्न आउनेछन्, पिताले पढेको लेखेको कुरा रिसर्च गर्न आउँनेछन्। किनकि पछिल्लो एक सातामा महाकविको भत्केको घर हेर्न आउनेको पाइलाले उनको घरसम्म गुञ्जन दिएको छ।

‘भत्काएको हेर्न त यतिका मान्छे आएका छन्, बनेपछि कति आउलान् ?’ आशावादी देखिँदै उनी भन्छिन्, ‘यो घर ठडिएको हेरेर मर्न मन छ !’

साउन २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्