‘गाईजात्रा’ को तयारी गर्दा मनोज गजुरेललाई आइलागेको ‘गाईजात्रा’

‘गाईजात्रा’ आउनै लाग्यो।

वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेललाई साह्रै हतारो छ।

हरेक वर्षझैँ यो वर्षको प्रस्तुतिको तयारी अनि त्यसको प्याकेजिङ, छायांकन आदि कामले उनलाई पनि ‘गाईजात्रा’ पारेको छ।

‘गाईजात्रा।’

१६ औँ शताब्दीमा राजा प्रताप मल्ले शुरु गरेको यो पर्व नेवार समुदायको लागि विशेष रहेको छ। पछिल्लो समय भने हास्य व्यंग्य गर्ने कलाकारको लागि पनि उत्सव बनेको छ।

२००७ सालमा आएको प्रजातन्त्रपछि सार्वजनिक रुपमा व्यंग्यात्मक प्रस्तुति त थिए नै तर पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाइएको थियो। त्यसैले सरकार र राज्य सञ्चालन गर्ने निकायहरुको नीति तथा व्यवहारको आलोचना गर्न पाइँदैन थियो।

‘गाईजात्रा’ यही एक दिन त थियो, जब नागरिकहरुले शासकमाथि व्यंग्य गर्न पाउथे। शासन प्रणाली परिवर्तन भए, नागरिकले अभिव्यक्ति स्वतन्त्रता पनि पाए, तर व्यंग्यकारहरुलाई आज पनि यो दिन विशेष रहन्छ।

त्यसैले गजुरेल अनि उनीसँगै हाँस्य व्यंग्य गर्ने टोली भदौ १ गतेदेखि ७ गतेसम्म हरेक साँझ दर्शकलाई ‘गाईजात्रे’ पाराले हँसाउन एपी वान टेलिभिजन र गजुरियल युट्युबबाट आउँदै छन्।

केही अगाडिदेखि कार्यक्रमको छायाँकन भइरहेको छ।

गजुरेलको लागि भने उनले समातेको पात्रले नै ‘गाईजात्रा’ देखाइरहेको छ।

विशेषगरी राजनीतिक पात्रको भूमिकामा उत्रिएर व्यंग्य गर्ने गजुरेललाई यो वर्षको राजनीतिक परिवर्तनले धेरै समस्यामा पार्‍यो।

‘हाम्रो तयारी ४ महिना अगाडिबाट हुन्छ, म कुनै दिन हाम्रा नेताहरुको अनौठौ अभिव्यक्ति भएको दिन ‘कन्टेन्ट’ भेट्टाएको अनुभव गर्छु। त्यसैमा स्क्रिप्ट अनि प्रस्तुतिको लागि अभ्यास सुरु हुन्छ। तर सत्ता परिवर्तनसँगै मेरो मेहनत पानीमा मिसिएको छ,’ गजुरेल भन्छन्, ‘अक्सिजन मन्त्रीको क्यारिकेचरिङ गर्न ठीक्क तयारी भएको थियो, उहाँको पद गयो। प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा स्क्रिप्ट तयार भएको थियो, धेरै मेहनतका साथ, लक्ष्मण समिर, चट्याङ मास्टर लगायत धेरैसँगको कुराकानीपछि स्क्रिप्ट बनेको थियो। यो प्रेरणादायी सन्देश सहितको थियो तर सरकार ढल्यो। हाम्रा माइकालाल शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठज्यूले राम्रो भाषण गर्नुभयो। त्यो पनि सरकार ढलेसँगै फेल भयो। यो जस्तो ‘गाइजात्रे’ तयारी केही पनि थिएन।’

तयारीमा गाईजात्राको अर्को कारण पनि थियो, कोरोना माहामारी र रेकर्डिङ प्रस्तुति ।

‘२०७८ सालको गाईजात्राको लागि तयारी भव्य छ, विशाल छ, फरक, अलग छ। योपल्ट कोरोना महामारीले हाम्रो भव्यता, विशालतालाई नरोकोस् भनेर हरसम्भव प्रयास भइरहेको छ। ३२ जना कलाकारहरु छन्, प्रहसन छ, प्यारोडी छ, क्यारिकेचर छन्, कविताहरु छन् अरु अभिनयहरु छन्। यो पालि प्रेरणादायी विषयवस्तु समावेश गरिएका छन्,’ उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्ट आइरहेको छ, मानिसलाई रिफ्रेस गराउन सकिन्छ कि भन्ने हरप्रयास रहेको छ।’

विगत जस्तो वर्तमान पक्कै हुन्न। गएको २ वर्षदेखि कोरोना भाइरस महामारीले प्रत्यक्ष दर्शक साक्षात्कार गर्ने बाटोमा रोक लगाइदिएको छ।

‘मलाई साह्रै अफ्ठेरो भयो। जति प्रत्यक्ष प्रस्तुतिमा मजा लाग्छ, टेलिभिजनमा लाग्दैन। देशकाल, परिस्थिति हेरेर हामीले प्रविधिसँग नमिली पनि सुख भएन। तर टेलिभिजनमा प्रस्तुति दिन कम्तीमा १ साता अगाडि रेकर्ड गराउनु पर्छ, तर राजनीतिक परिवेश यस्तो भइदियो कि रातारात परिवर्तन भएर तयारी गरेको ‘कन्टेन्ट’ खेर गयो,’ उनले भने, ‘अनि प्रत्यक्षमा भन्दा रेकर्डिङमा ‘मुड होल्ड’ गर्न गाह्रो हुन्छ।’ जस्तो १,२,३ एक्सन भन्दा ‘झ्याप्प’ बत्ती जान्छ। एक मुडमा बोलिरहेको छ, बिचमा टेक्निसियनले भन्छ, ‘लाइट पुगेन’, प्रत्यक्ष दर्शकको साथमा हुँदा जस्तो मजा आउँदैन ।’

उनी कलाकार भएपछि जतिबेला पनि आफूलाई मुड आउनुपर्छ भन्छन्, ‘मुड नआउनु मेरो कमजोरी हुन जान्छ। मुड आउनलाई सर्पोटिङ क्यारेक्टर भयो भने माहोल जम्न सक्छ।’

पछिल्लो केही वर्षदेखि गाईजात्रा हाँस्य व्यंग्यका हिसाबले उत्सव बनेको छ। कलाकारको प्रस्तुति हेर्न टिकट किनेर जाने व्यवस्था छ। कहिले प्रज्ञा प्रतिष्ठान त कहिले नाचघरमा विशेष समारोहबीच कार्यक्रम सञ्चालन हुन्थ्यो २ वर्ष अगाडिसम्म। नेपालका नेताहरु पनि यसको दर्शक बनेर जान्थे। त्यसैले ‘गाईजात्रा शो’ प्रत्यक्ष हेर्न र प्रस्तुत गर्न मजा आउने गजुरेलको भनाइ छ।

गजुरेलले आफ्नो लामो हाँस्य व्यंग्य अनुभवमा क्यामरा त फेस गरेका छन्, तर गाईजात्रा पनि क्यामराको सहयोगमा प्रस्तुत गरेको दुई वर्षभएको छ। त्यसैले यो वर्षको स्लोगन पनि छ, ‘गाईजात्राको सेकेन्ड भेरियन्ट’।

त्यसैले गाईजात्रा पर्वको प्रस्तुति रोकिएको छैन। यो कार्यक्रममा धेरै स्थापित कलाकारहरु छन्, किरण केसी, शैलेन्द्र सिम्खडा, अहिलेका युवा हाँस्य कलाकार सुमन कार्की, सुबोध गौतम, राजा राजेन्द्र, कमेडि च्याम्पियन हिमेस पन्त, सजल श्रेष्ठ पनि रहेका छन्।

‘पहिलेका अग्रज कलाकारदेखि युवापुस्ताका कलाकारहरु पनि यसमा सहभागी छन्। राम्रो कुरा के हो भने, दुई पुस्ताको समायोजनमा बस्दा इतिहास अनि वर्तमान दुवैबाट सिक्न पाइने रहेछ,’ गजुरेल भन्छन्, ‘गाईजात्राको साँस्कृतिक विरासतलाई पनि जोगाउनु छ र प्रविधिसँग पनि जोडेर लानु छ। पुस्ता हस्तान्तरणको प्रयास भएको छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बनेका मनोज गजुरेल

दुई दशक भन्दा लामो हाँस्य व्यंग्यको अभ्यास गरिसकेका बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल यो पर्वका अभिन्न व्यक्तित्व हुन्। हरेक वर्ष नयाँनयाँ पात्र लिएर उनी गाईजात्रामा ‘हाँसोको जात्रा’ निकाल्छन्।

गएको वर्ष पूर्व अमेरिकी राष्ट्रपति ‘ड्रोनाल्ड ट्रम्प’ को पात्रमा उनले गरेको व्यंग्यको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विषयवस्तु बने। यो भन्दा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिङपिङको क्यारिकेचर गरिसकेका छन्।

यो वर्ष पनि गजुरेलले विदशी पात्र समाउँदैछन्। ‘सकेसम्म शक्तिशाली पात्र खोज्ने प्रयास थियो, मैले यो वर्ष ‘भ्लादिमिर पुटिन’ नक्कल गर्ने प्रयास गरेको छु,’ उनले भने, ‘कलाकार सुमन कार्की नेपालका पत्रकार ऋषि धमला बनेर मेरो अन्तर्वार्ता गर्दैछन्।’

साथै उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका खेलेका छन्।

कोरोना महामारीले निरन्तरको उनको गाईजात्रामा प्रस्तुत गर्ने व्यंग्य यात्रालाई रोक्ला जस्तै लागेको थियो, तर साथीभाइले हौसाए अनि उनले आफूसहित ३२ जनाको जम्बो टोलीलाई प्रस्तुतिको लागि तयार पारे।

छायाँकनको क्रममा धेरै प्राविधिकलाई कोरोना संक्रमण भयो, कलाकारहरुलाई पनि आरामको आवश्यकता पर्‍यो। उनी आफैँ कोरोना भाइरस संक्रमणले जटिल अवस्थामा पुर्‍याएर लामो उपचारपछि फर्किएका हुन्। जसोतसो आँटेको काम पूरा भएको छ। ‘कोरोना त हाम्रो साथी नै भयो,’ उनी भन्छन्, ‘खुट्टा काम्दै भएपनि नडराईकन काम गर्नुपर्छ भनेर सक्कायौँ।’ उनको विचारमा परिस्थितिबाट निराश भई रोकिने छुट हामीलाई छैन।

वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ बनेका मनोज गजुरेल

‘हामी सबै कुनै न कुनै किसिमको तनावबाट गुज्रिरहेका छौँ। स्वास्थ्य समस्या, रोजगारी गुमेको छ, व्यवसाय चौपट भएको छ। मानिसलाई देशको राजनीतिक परिस्थितिले पनि एक खालको निराशा बनाएको छ। कोरोना महामारीले मान्छेलाई घरमा निश्चित पारेको छ। हातमा फोन छ, त्यसमा नकारात्मक कन्टेन्टमा धेरै अल्झिएका छन्। धेरै त्यस्ता कन्टेन्ट हेर्‍यो भने दिमागमा पनि त्यही जान्छ। प्रविधिलाई राम्रो तरिकाबाट प्रयोग गर्नुपर्छ। स्वास्थ्यलाई फाइदा हुने तरिकाले प्रयोग गर्नुपर्छ। हामी गाईजात्रा मार्फत सामाजिक सञ्जालको तलबाट जोगिन जनचेतना फैलाउँदै छौँ।’

कुराकानीको बिट मार्दै उनले भने, ‘एकले अर्कालाई प्रेरणा दिनुपर्ने रहेछ, मलाई पर्दा तपाईँ र तपाईँलाई पर्दा म। बाँकी त जे पर्छ टर्दै जान्छ !’

साउन ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्