काठमाडाैँ – साउन महिनाको अन्तिम सोमबार आज भक्तजनहरुले कोरोना संक्रमणको जोखिमको वास्ता नगरी पशुपतिनाथ मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द रहे पनि भक्तजनहरु पशुपति परिसरमै श्रद्धाभक्तिपूर्वक पूजा अर्चना गरिरहेका हुन्।

पशुपतिनाथ परिसरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। पूजा गर्न आउने कतिपयले संक्रमणबाट बच्न मास्क लगाएका भए पनि अधिकांशले जनस्वास्थ्य मापदण्ड पालना गरेकाे देखिएन।

भगवान शिवको प्रिय महिनाका रुपमा लिइने साउन र त्यसमा पनि उनको विशेष दिन सोमबार शिवभक्तका लागि झनै विशेष बन्छ।

विशेषगरी महिलाहरु साउन महिनाभर शुद्ध खाएर तथा सोमबार शिवको नाममा ब्रत बसेर आफ्नो श्रद्धा तथा भक्ति दर्शाउँछन्।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले सोमबारै बिहानै पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थीको विभिन्न भाव तस्बिरमा उतारेका छन्।