के अस्ट्रेलियाको कोरोना नीति असफल भएको हो?

सिड्नी – कोरोना महामारीको शुरूवातदेखि केही हफ्ताअघिसम्म अस्ट्रेलियाको प्रमुख शहरमध्ये एक सिड्नीले महामारीलाई नियन्त्रणमा लिन सफल भइरहेको प्रतित हुन्थ्यो ।

विश्वका प्रमुख शहरहरू कोरोना कहरका बीच त्राहीत्राही भइरहँदा सिड्नीमा बस्नु वरदानजस्तै देखिन्थ्यो । गत वर्षको मे महिनादेखि केही हफ्ताअघिसम्म यो शहरको जनजीवन सामान्यजस्तै देखिन्थ्यो । अन्तर्राष्ट्रिय सिमाना बन्द भए पनि मास्क लगाएका मानिसहरू घरबाहिर प्रायः कम मात्र भेटिन्थे ।

यद्यपि डेल्टा भेरिएन्टको सङ्क्रमण भेटिएसँगै अस्ट्रेलियाको प्रमुख शहर सिड्नीका धेरै क्षेत्रहरूको अवस्था  पूरै परिवर्तित देखिन्छ । सिड्नी मात्र होइन मेलबर्न लगायतका क्षेत्रमा वसोवास गर्ने १ करोड २० लाख मानिसहरूलाई लकडाउनले प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित गरिरहेको छ भने सामान्य जनजीवन निकै प्रभावित देखिन्छ ।

हाल  अति प्रभावित क्षेत्र घोषणा गरिएका स्थलहरूमा नियम कडाइ गरिएको छ ।  ती क्षेत्रमा अत्यावश्यक क्षेत्रमा काम गर्ने कामदारहरूलाई मात्र आवतजावत गर्ने सुविधा दिइएको छ भने विद्यालयहरू अनलाइन प्रणालीमार्फत् संचालित हुँदै आएका छन् ।

न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले यो परिवर्तित अवस्थालाई कोरोना महामारीको शुरुवातदेखि ‘सबैभन्दा खराब अवस्था’ को संज्ञा दिएकी छिन् भने हिजो मात्रै लकडाउनमा रहेको सिड्नीमा नियमहरू अझै कडाइ गर्ने बताएकी छिन् । नियम उल्लंघन गर्नेहरूलाई ५ हजार अस्ट्रेलियन डलरसम्मको जरिवाना लाग्नेछ ।

हिजो पत्रकारहरूसँग कुरा गर्दै न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले कोरोनाविरुद्ध युद्धमा रहेको बताइन् । उनले भनिन्, ‘यो वस्तुतः एक युद्ध हो र हामीलाई थाहा छ केही समयदेखि हामी यस युद्धमा छौँ तर यो हदसम्म युद्ध हुनेछ भन्ने हामीले कल्पना गरेका थिएनौं । सेप्टेम्बर र अक्टोबर महिना निकै गाह्रो हुनेछ । अक्टोबर महिनाको अन्त्यपछि हामीसँग खोप लगाइसकेका ७० प्रतिशत र नोभेम्बरको मध्यसम्म ८० प्रतिशत बयस्कहरूले खोप लगाइसक्नेछन् ।’

डेल्टा भेरिएन्टले बदलिएको अस्ट्रेलिया

जुन १६, सन् २०२१ मा एक लिमोजिन ड्राइभरले एयरपोर्टका चालकदलका सदस्यलाई यात्रा गराउने क्रममा कोरोना भाइरसको डेल्टा भेरिएन्ट पहिलोपटक सिड्नीमा फेला परेपछि अस्ट्रेलियामा डेल्टा भेरिएन्टको कहर दिनदिनै बढ्दो अवस्थामा रहेको छ ।

न्यूसाउथवेल्स राज्यका प्रभावित क्षेत्रलाई लकडाउनका गर्नुका साथै अन्य कडा नियमहरू लागू गरिए पनि नयाँ सङ्क्रमित हुनेको तथ्याङ्क हालसम्म घट्ने कुनै सङ्केत देखिएको छैन ।

सोमबार न्यूसाउथवेल्स राज्यमा ४ सय ७८ नयाँ कोरोना सङ्क्रमित थपिए भने हिजो यो सङ्ख्या ४ सय १५ रहेको थियो । त्यसैगरी अघिल्लो दिन यो सङ्ख्या ४ सय ६६ रहेको थियो थियो । नयाँ प्रकोपको शुरुवातसँगै मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

करिब ४ सय व्यक्तिहरू अस्तापमा भर्ना छन् जसमध्ये ६४ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत रहेको सरकारी तथ्याङ्क रहेको छ । अझ डरलाग्दो कुरा त आइसियुमा रहेकामध्ये चारजना २० देखि ३० वर्षका, ६ जना ३० देखि ४० वर्षका र सातजना ४० देखि ५० वर्षबीचका रहेका छन् । राज्यमा हालसम्म करिब २६ प्रतिशत वयस्कहरूले मात्र कोरोना खोपको दुई डोज लगाइसकेको सरकारी तथ्याङ्क रहेको छ ।

image.png
सिड्नीको अबर्नस्थित कोरोना परीक्षण केन्द्रमा कोरोना परीक्षण गर्न लामबद्ध मानिसहरू । तस्वीर: काेम खत्री ।

सिड्नीमा लागु गरिएको लकडाउन नवौँ हफ्तामा चलिरहेको छ । अधिकारीहरूले आगामी अगष्ट २८ तारिखमा लकडाउनको अन्त्य गर्ने अनुमान गरेका थिए भने अहिलेलाई त्यो पूर्वानुमान असम्भव प्रायः देखिन्छ । यसअघि लकडाउनमार्फत् कोरोनाका अन्य भेरिएन्टहरूलाई नियन्त्रणमा लिए पनि डेल्टा भेरिएन्टको सङ्क्रमणलाई शून्यमा ल्याउन असम्भव रहेको तथा खोप नै यसलाई नियन्त्रण गर्ने अन्तिम विकल्प रहेको अधिकारीहरूले स्वीकार गर्न थालेका छन् ।

गत सोमबारदेखि सिड्नीवासीले आफू वसोवास गरेको क्षेत्रबाट ५ किलोमिटरभन्दा टाढा जान नपाउने नियम लागू गरिएको छ भने आगामी २१ अगष्टदेखि न्यूसाउथवेल्स राज्यको ‘ग्रेटर सिड्नी क्षेत्र’बाट ‘रिजनल क्षेत्र’ मा  जान चाहनेहरूले अनुमति लिनुपर्नेछ । विना अनुमति यात्रा गर्नेहरूले ३ हजार अस्ट्रेलियनसम्म जरिवाना तिर्नुपर्नेछ भने महामारी नियन्त्रणमा गत महिनादेखि सैनिक समेत परिचालन गरिएको छ ।

राजधानी क्यानबेरामा १४ महिनापछि पहिलोपटक लकडाउन

१४ महिनामा पहिलोपल्ट कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि अस्ट्रेलियाको राजधानी क्यानबेरामा गत बिहीबारदेखि पहिलोपटक एक हफ्ताका लागि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरूले सो सङ्क्रमणलाई न्यूसाउथवेल्स राज्यसँग सम्बन्धित रहेको अनुमान गरेका छन् ।

४ लाख हाराहारीको जनसङ्ख्या रहेको राजधानी क्यानबेरामा सोमबार १९ जना नयाँ सङ्क्रमित फेला परेपछि जम्मा सङ्क्रमित हुनेको सङ्ख्या २८ पुगिसकेको छ । सङ्क्रमण पुष्टि हुनासाथ लकडाउन गर्ने निर्णयको बचाउ गर्दै राज्यका मुख्यमन्त्री एन्ड्रयु बारले शनिबार राजधानीवासीका लागि राम्रो दिन रहेको बताएका थिए ।

‘यद्यपि हामीले अझ धेरै परीक्षण गर्नुपर्ने छ । छिटो लकडाउन गर्ने निर्णयप्रति म खुशी छु । यो सही निर्णय थियो र यसले समुदायमा सङ्क्रमण फैलन नदिन पक्कै मद्दत गर्नेछ ।’ मुख्यमन्त्री बारले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा आइतबार भनेका थिए ।

भिक्टोरियामा छैटौँपटक लकडाउन

भिक्टोरिया राज्यमा सोमबार २२ तथा आइतबार २५ जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि छैटौंपटक राज्यका प्रभावित क्षेत्रमा लागू गरिएको लकडाउन हाललाई खुल्ने सङ्केत देखिएको छैन ।

राज्यका प्रिमियर डेनियल एन्ड्रूजले छैटौंपटक लागु गरिएको लकडाउनको नियम पालना नगर्ने व्यक्तिहरूप्रति असन्तोष प्रकट गर्दै समुदायका लागि चिन्ताको विषय रहेको बताए ।

‘हामीले ९० पार गरेका व्यक्तिहरूको मृत्युको कुरा गरिरहेका छैनौँ । ती मृत्यु पनि पीडादायक छन् । यद्यपि हामीले ३०, ४० र ५० का हाराहारीमा रहेका व्यक्तिको मृत्युको कुरा गरिरहेका छौँ । यसको मतलब धेरैभन्दा धेरै मानिसहरू ‘इन्टेन्सिभ केयर’ मा हुनेछन् ।’ आइतबारबार पत्रकारहरूसँग कुरा गर्दै प्रिमियर एन्ड्रूजले भने ।

कोरोना सङ्क्रमण नियन्त्रणबाहिर रहेपछि गत बिहीबार अन्त्य हुनुपर्ने लकडाउन अहिले भिक्टोरिया राज्इमा दोश्रो हफ्ताका लागि लम्ब्याइएको छ ।

आइतबारसम्म राज्यभर १ सय ८५ जना सङ्क्रमितको सक्रिय केस रेकर्ड गरिएको छ । तीमध्ये ६५ जना २० देखि ४० वर्षका, ३१ जना ४० देखि ६० वर्षका तथा ६ जना ६० वर्षभन्दा माथि रहेको सरकारी तथ्याङ्क छ । अझ चिन्ताजनक विषय भनेको ८३ जना १९ वर्षभन्दा मुनिका रहेको अधिकारीहरूले जनाएका छन् ।

क्वीन्सल्याण्डमा आइतबार शून्य स्थानीय सङ्क्रमित

अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा आइतबार कुनै नयाँ स्थानीय कोरोना सङ्क्रमित फेला परेनन् भने एकजना होटल क्वारेन्टिनमा रहेका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको राज्य सरकारले जनाएको छ । सङ्क्रमित व्यक्ति दुबईबाट आएका थिए ।

राज्यकी प्रिमियर एनास्टासिया पालासकले स्थानीय सङ्क्रमण शून्यमा झर्नु राज्यका लागि खुशीको कुरा भए पनि कोरोनाविरुद्ध शतर्क रहनुपर्ने कुरा बताइन् ।

‘यो विश्व महामारीको अवस्था हो त्यसैले हामीले अझै पनि नयाँ केसहरू देख्नेछौं र हामीलाई सावधान रहन आवश्यक छ ।’ राज्यकी प्रिमियर पालासकले आइतबार नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बताइन् । उनले भनिन्, ‘यदि तपाईंलाई जतिसुकै सानो लक्षण भए पनि कृपया गएर परीक्षण गरिहाल्नुहोस् ।’

न्यूसाउथवेल्स राज्यसँगको सीमा कडाइ गरिएको बताउँदै प्रिमियर पालासकले न्यूसाउथवेल्स राज्यका सीमावर्ती क्षेत्रका वासिन्दाहरू आफ्नो राज्यमा नपाउने अत्यावश्यक सामग्री किन्नका लागि मात्र क्वीन्सल्याण्ड राज्यमा प्रवेश पाउने बताइन् ।

‘सीमावर्ती क्षेत्रमा एकदम कम हलचल हुनु आवश्यक छ र सीमावर्ती क्षेत्रमा खटिएका अतिरिक्त सुरक्षाकर्मीहरूले क्वीन्सल्याण्डवासीलाई सुरक्षित राख्न आवश्यक सबै कदम उठाउनेछन् ।’ उनले भनिन् ।

क्वीन्सल्याण्ड राज्यमा हाल १ सय ४५ वटा सक्रिय सङ्क्रण रहेको सरकारी तथ्याङ्क छ ।

खोप ल्याउन असफल सरकार

प्रधानमन्त्री स्कट मोरिसन अस्ट्रेलियामा खोप ल्याउने कार्यमा अरू विकसित देशहरूभन्दा तुलनात्मक रूपमा पछि परेकोमा चौतर्फी विरोध सहन बाध्य भएका छन् ।

अस्ट्रेलिया बयस्क जनसङ्ख्यालाई खोप लगाउने देशहरूको सूचीमा ‘ओईसिडी’ सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा पछि रहेको छ ।

अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका अनुसन्धानकर्ता क्यारोलिन होलब्रुक तथा मोनास विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापकहरू जेम्स वाल्टर र पल स्ट्रान्जियोले ‘द कन्भरसेसन’ पत्रिकामा संयुक्त रूपमा लेख लेख्दै अस्ट्रेलियामा जनजीवन सामान्य अवस्थामा आउन निकै समय लाग्ने उल्लेख गरेका छन् ।

उनीहरूले हालैका हफ्ता सङ्घीय सरकारले खोप ल्याउने नीतिमा केही त्रुटीहरू पत्ता लगाएको दाबी गर्दै महामारीको शुरुवाती दिनमा एस्ट्राजेनेका खोपसँग बढी भर पर्नाका कारणले सरकारले आवश्यक मात्रामा फाइजर खोप समेत ल्याउन नसकेको सो लेखमा उल्लेख गरेका छन् ।

‘जतिवेला अन्य सरकारप्रमुखहरू फाइजरका कार्यकारी अधिकृतहरूसँग खोपका निम्ति लबिङ गरिरहेका थिए त्यतिवेला अस्ट्रेलियाका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री निस्क्रिय देखिएका थिए ।’ लेखमा उनीहरूको दाबी छ ।

सरकारले सबैलाई खोप लगाउन अनुरोध गरिरहे पनि सबै जनसङ्ख्यालाई पुग्ने खोप अझै अस्ट्रेलियासँग छैन । फलस्वरुप खोप कार्यक्रमलाई सरकारले विभिन्न प्राथमिकताका आधारहरू तय गरेको छ जसमध्ये सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मानिसहरूलाई पहिले खोप दिने रणनीति अपनाइएको छ ।

यसैबीच हिजो मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फाइजर खोपको १० लाख डोज पोल्याण्डबाट किनिएको जानकारी दिएका थिए । सो खोपको अधिकांश मात्रा न्यूसाउथवेल्स राज्यका अतिप्रभावित क्षेत्रमा वितरण गरिने कुरा पनि प्रधानमन्त्रीले जानकारी दिएका दिए । त्यसैगरी आगामी महिना मोडर्ना भ्याक्सिनको १० लाख डोज पनि अस्ट्रेलियामा आइपुग्ने कुरा केही दिनअघि प्रधानमन्त्री मोरिसनले सामाजिक सञ्जालमार्फत् सार्वज्निक गरेका थिए ।

सुस्त देखिएको टिजिए

अस्ट्रेलियाको खोप तथा औषधि नियमनकारी संस्था ‘टिजिए’ (टेक्निकल गुड्स एडमिनिष्ट्रेसन) अन्य विकसित देशका नियमनकारी संस्थाहरूभन्दा निकै पछि देखिएको थियो । सन् २०२० को अन्त्यतिर उत्तरी गोलाद्र्धमा रहेका देशहरूमा खोप ठूलो मात्रामा लगाउन शुरु गरिसकिएको थियो भने टिजिएले जनवरी २५, सन् २०२१ मात्र बल्ल फाइजर खोपलाई अस्ट्रेलियामा लगाउन अनुमति दिएको थियो । यो अमेरिकामा ‘एफडिए’ले दिएको अनुमतिभन्दा ६ हफ्ता ढिला थियो ।

टिजिएले एस्ट्राजेनेका खोपको अनुमति फेब्रुअरी १६ मा मात्र दिएको थियो जुन युकेमा दिइएको अनुमतिभन्दा सात हफ्ता पछि थियो ।  त्यसैगरी टिजिएले अस्ट्रेलियामा मोडरना खोपलाई अमेरिकाको एफडिएले दिएको अनुमतिभन्दा आठ महिनापछि मात्र गत हफ्ता दिएको थियो ।

स्मरण रहोस् सिड्नीमा देखिएको पहिलो डेल्टा भेरिएन्टको सङ्क्रमण भएका लिमोजिन चालकले फाइजर खोप लगाउन कुरिरहेको तथ्य सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

सरकारको खस्कँदो लोकप्रियता

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको ‘पब्लिक अप्रुभल रेटिङ’ कोरोना महामारी शुरू भएदेखि सबैभन्दा कम रहेको ‘द अस्ट्रेलियन’ ले हालै गरेको सर्भेक्षणले देखायो । सो सर्भेक्षणका अनुसार गत वर्ष अप्रिल महिनामा मोरिसन सरकारको कोरोना महामारी विरुद्धको नीतिलाई ८५ प्रतिशत समर्थन थियो भने यो सङ्ख्या अहिले करिब आधा घटेर ४८ प्रतिशतमा झरेको छ ।

त्यसैगरी लिवरल–न्यासनल पार्टीको गठबन्धनभन्दा विपक्षी लेवर पार्टी ४७–५३ ले अगाडि देखिएको छ भने प्रधानमन्त्री स्कट मोरिसनप्रति समर्थन जनाउनेको सङ्ख्या ४ अङ्कले घटेर ४७ प्रतिशतमा झरेको छ ।

गत सोमबार ९ अगष्टमा प्रकाशित सर्भेक्षणले मोरिसन सरकारको लकडाउन र खोप नीतिप्रति जनताको निराशालाई व्यक्त गरेको स्पष्ट देखिन्छ । संविधानतः यो सरकारले सन् २०२२ को मे महिनाभित्र निर्वाचन गराइसक्नुपर्दछ ।

अस्ट्रेलियाले अक्टोबर २०२१ सम्म सबै जनतालाई खोप उपलब्ध गराउने आशा गरेको थियो । यद्यपि एस्ट्राजेनेका खोपमा दुर्लभखाले रगत जम्ने रोग देखिएपछि यसको समयसीमामाथि प्रश्नहरू उठेका थिए ।

१४ अगष्ट सन् २०२१ सम्म जम्मा २०.७ प्रतिशत अस्ट्रेलियनहरूले खोपको दुवै मात्रा लगाइसकेको तथा ३८.५ प्रतिशतले खोपको एउटा मात्रा लगाइसकेको सरकारी तथ्याङ्क छ ।

साउन ३२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्