मानव बेचबिखन: उद्धार र फिर्तीको ‘कार्यविधि’ नहुँदा समस्या

नेपालगञ्ज – नुवाकोटकी १८ वर्षीया किशोरी बेपत्ता भइन्, २०७३ सालमा। दलालले उनलाई भारतको एक कोठीमा पुर्याए। एक वर्षपछि उनको कोठीबाट उद्धार भयो।
धेरै मेहनत गरेर संघ संस्थाहरुले भारतीय अधिकारीलाई ‘विश्वस्त’ तुल्याएपछि कोठीमा छापा मारिएको थियो। उद्धार गरेपछि किशोरीलाई भारतकै एक ‘सेल्टर’मा राखियो। नेपाल ल्याउने प्रक्रिया चल्दै थियो। किशोरी गायव भइन्, रहस्यमय तरिकाले।
शक्ति समूहका कानून तथा तालिम संयोजक दिलिप कोइराला भन्छन्, ‘सन् २०१९ मा कोठीमा छापा मारियो। सेल्टरबाट हराएकी किशोरी त्यही फेला परिन्। उनको दोस्रो पटक उद्धार गरियो।’
मुश्किलले उद्धार गरेर सेल्टरमा राखिएकी किशोरी फेरि कोठीमै पुगेकी रहिछन्। शक्ति समूहका कानून तथा तालिम संयोजक कोइरालाले कोठी र सेल्टर सञ्चालकको मिलोमतोले उद्धार गरिएकी किशोरीलाई पुनः कोठीमा पुर्याइएको दाबी गरे।
उनका अनुसार, किशोरीलाई उद्धार गर्न मुश्किल थियो। त्यो काम गरियो। राख्ने ठाउँ भएन। नेपाली दूतावाससँग राख्ने ठाउँ भएको भए सजिलाे हुने थियाे। भारतीय सेल्टरमा राख्दा चलखेल भयो। भारतमा रहेका बेचबिखत पीडित तथा प्रभावितहरुको उद्धार तथा फिर्तीका लागि कार्यविधि भएको भए यस्तो समस्या नै आउँदैनथ्यो।
नेपालमा मानव बेचबिखनबाट पीडित/प्रभावितको उद्धार तथा फिर्तीका लागि कार्यविधि नहुँदा उद्धार र फिर्ती ठूलो समस्या भइरहेको सम्बद्धहरु बताउँछन्। संघ संस्थाहरुले एक दशकदेखि कार्यविधि प्रयास गरिरहेका छन्।
शक्ति समूहका अध्यक्ष चरिमाया तामाङका अनुसार, कार्यविधिका लागि तीन/चार वटा ड्राफ्ट बनाइसकिएको छ। कार्यविधिले अहिलेसम्म पूर्णता पाएको छैन। अधिकारीहरुसँग मिलेर संघ संस्थाले बनाएर दिएको ड्राफ्ट महिला तथा बालबालिका मन्त्रालयसम्म पुगेर थन्किने गरेको छ। अझ मन्त्रालयका कर्मचारी परिवर्तन हुँदा ड्राफ्ट हराउने समस्या रहेको छ।
शक्ति समूहकी अध्यक्ष तामाङले दशकदेखि नै कार्यविधि बनाउन लागि परे पनि अहिलेसम्म नबन्दा बेचबिखन पीडितको उद्धार र फिर्तीमा समस्या भइरहेको बताइन्।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) र शक्ति समूहले कार्यविधिलाई पूर्णता दिनका लागि देशव्यापी दौडाहा शुरु गरेको छ। यो टोलीले नेपालगञ्जमा पनि सुझाव लिएको छ। एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले कार्यविधि बनाएर बेचबिखनको उद्धार तथा फिर्तीमा राज्यले जिम्मेवारी लिनु पर्ने बताइन्।
अहिलेसम्म भारतका कोठीबाट संघ संस्थाले नेपाली दूतावास र भारतीय प्रहरीको सहयोग लिएर उद्धार गरिरहेका छन्। यसमा संघ संस्थाका प्रतिनिधिले ठूलो जोखिम मोल्ने गर्दछन्। कोठी सञ्चालकले ‘तिघ्रे’हरु पाल्ने भएकाले उद्धारका लागि जाने नेपाली प्रतिनिधिलाई उनीहरुबाट ज्यानकै जोखिम हुने गर्दछ। त्यसका बाबजुद कोठीबाट उद्धार भइरहेका छन्।
नेपाल र भारतका बीचमा समझदारी भएर उद्धार र फिर्ती हुनु पर्ने माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाको भनाइ छ।