थारु भाषाको मानक निर्देशिका तयार

काठमाडौँ- थारु भाषाको मानकीकरणका लागि थारु मानक लेखन निर्देशिका तयार भएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरका भाषा विशेषज्ञ प्रा.डा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको विशेष निगरानीमा लेखन निर्देशिका तयार गरिएको हो । थारु आयोग र थारु कल्याणकारिणी सभाको समन्वयमा भक्तपुरको बोडेमा आयोजित चार दिने कार्यशाला गोष्ठीबाटथारु मानक भाषा लेखन निर्देशिक तयार भएको थारु आयोगका अध्यक्ष विष्णु चौधरीले  जानकारी दिए।
मानकीकरणको काम अझै बाँकी रहेकाले यसका लागि निरन्तर पहल गरिरहने चौधरीले बताए ।  गोष्ठीले थारु भाषाको मानकीकरण गर्दा थारु लिपी पत्ता नलागेसम्म देवनागरी लिपी प्रयोग गर्ने र थारु लिपी खोजी जारी राख्ने निर्णय पनि गरेको छ ।
उनले थारुको वर्णमाला बनाउँदा स्वर वर्णको कथ्यमा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा वर्ण प्रयोग हुने भए पनि लेख्यमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः गरी १३ वटा वर्णको प्रयोग गर्ने निर्णय गरेको बताए । यस्तै व्यन्जन वर्णको कथ्यमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वटा वर्णको प्रयोग गर्ने निर्णय गरेको उनले बताए । यस्तै लेख्य वर्णमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने, र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्णको आवश्यकताअनुसार प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
भदौ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्