बन्न सुरु भयो महाकवि देवकोटा संग्रहालय

काठमाडौँ – साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई साता नपुग्दै पुनर्निर्माण थालिएको छ।

महाकविले साहित्य साधना गरेको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्ने भएको छ। बिहीबारबाट त्यसको पुनर्निर्माण थालिएको हो। कविकुञ्ज पुनर्निर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय बनाउन शिलान्यास गरिँदा उनका छोरा, छोरी, नाति, नातिनासहित छिमेकी र साहित्यानुरागीको उपस्थिति थियो।

पुरानो घर ढालिएकामा चित्त दुखाउने साहित्यकारले पनि पुनर्निर्माणपछि संग्रहालय बन्दा केही मलम लाग्ने अनुभव सुनाएका छन्।
उक्त कविकुञ्ज साहित्यको मन्दिरका रूपमा चिनिन्थ्यो भने साहित्यकारको तीर्थस्थल पनि हो। उनका परिवारसमेत संग्रहालय बन्ने भएपछि खुसी देखिएका छन्। देवकोटाको उक्त घर अब इतिहास बने पनि त्यही स्वरूपमा भवन निर्माण गरिँदै छ। उक्त घरमा देवकोटाले डेढ दशक साहित्य साधना गरेका थिए।

यहाँ महाकविका इतिहास बताउने गरी संग्रहालय बन्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए। नेपाली वाङ्मय क्षेत्रको सपना साकार हुने गरी र महाकविका इतिहास झल्कने गरी नै भवन निर्माण गरिने उनले प्रस्ट्याए।

देवकोटा संग्रहालय प्रतिष्ठानको नभई जनसरोकारको योजना भएकाले स्थानीय टोलसँगको समन्वयमा निर्माण गर्न लागिएको हो।
उप्रेती भन्छन्, ‘देवकोटाको इतिहास नमरोस्, सबै इतिहास देख्न पाइयोस्, पस्नेबित्तिकै देवकोटाको उपस्थिति महसुस होस् भन्नेमा हामी गम्भीर छौँ।’

देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले डिल्लीबजारस्थित उनी जन्मेको घरको पनि संरक्षण गर्न प्रतिष्ठानमार्फत सरकारसँग माग गरिन्। जवाफमा उप्रेतीले त्यसको पनि संरक्षण हुने विश्वास दिलाए। महाकवि देवकोटा नेपाली साहित्यको कविता, आख्यान, नाटक र निबन्ध विधाका अमर कवि हुन्। कविता र निबन्धमा उच्च स्थान प्राप्त गरेका देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृति छन्। मुनामदन अझै प्रख्यात छ।

स्वच्छन्दतावादी कवि देवकोटाले ‘कुञ्जिनी’ त एकै रातमा लेखेका थिए। १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको ०१६ साल भदौ २९ गते देहावसान भएको थियो।

देवकोटाको घर संरक्षण अभावमा जीर्णजस्तै थियो। भूकम्पले चर्काएको थियो। इतिहास र उनले प्रयोग गरेका सामग्री नामेट हुने चिन्ता भइरहेका बेला नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका देवकोटाको इतिहास संरक्षण गर्ने गरी संग्रहालय बनाउन लागिएको हो।

देवकोटाकी छोरी अम्बिकादेवीले नै संरक्षण गरिदिन नेपाल सरकारमा निवेदन दिएपछि सरकारले संग्र्रहालय बनाउने निर्णय भएको थियो।
उनले प्रयोग गरेका कतिपय सामग्री त छैनन् नै ! जे बचेको छ, त्यो प्रतिष्ठानले संग्र्रह गरेर राखेको छ।

बिहीबार संग्रहालय शिलान्यासका क्रममा अम्बिकादेवीले भनिन्, ‘धेरै वर्ष बित्यो, उहाँको सामान जतन गर्न सकेनौँ, हामीबाट त्रुटि भयो, जस–जसले लैजानुभएको छ, उहाँहरूले ल्याएर दिनुहुन्छ भन्ने लागेको छ।’ उनले सामान राख्नेहरूलाई ल्याएर दिन पनि अनुरोध गरिन्। मुख्यतः उनका सामग्री भनेकै धेरै त किताब नै हो। कपडा र उनले प्रयोग गरेको हुक्का थियो।

‘हुक्का सुष्मा शर्माले मसँग छ भन्नुभएको थियो, उहाँ कहाँ हुनुहुन्छ थाहा छैन,’ अम्बिकादेवीले सुनाइन्। अम्बिकासँग महाकवि देवकोटाले बजाउने गरेको हार्माेनियम छ। ‘बुबाले दिनुभएको थियो, त्योचाहिँ संग्रहालयमा हस्तान्तरण गर्ने सोच बनाएकी छु’, उनले भनिन्। देवकोटाले प्रयोग गरेको कलमसमेत नदेखेको उनले बताइन्।

‘बनावटी कलम यही हो भनेर राखे मात्रै, त्यो बेलाको कलम कहाँ पाउनु !’, उनले भनिन्। महाकवि देवकोटाले प्रायः एउटा थोत्रो साइकल प्रयोग गर्थे। परिवारका सदस्यलाई साइकल पनि कहाँ गयो थाहा छैन। ‘त्यो साइकल अब कहाँ पाउनु, त्यो कसले लगिहाल्यो’, उनले दुःख व्यक्त गरिन्।

पुरानो घरमा बितेका हरेक क्षणले उनलाई पलपल झक्झकाइरहन्छ। अनुहार मुजा परिसक्यो, कपाल सेतै भइसक्यो तर उनलाई बुबाको काखमा लुटुपुटु गरेको क्षण अझै ताजा लाग्छ।

उनकी बहिनी (देवकोटाकी कान्छी छोरी मीरा) अविवाहित बसेकाले उक्त घर मीरालाई नै दिएका थिए। उनको पेटको क्यान्सरका कारण निधन भइसकेपछि घर स्याहार्ने जिम्मा पनि अम्बिकादेवीलाई नै आइपुग्यो।

पुरानो घर भत्काइएकाले त्यो सम्झना मात्रै रहे पनि संग्रहालय बन्ने भएपछि उनी पनि खुसी छन्। ‘संग्र्रहालय बन्दा बुबा पनि खुसी हुनुहुन्छ’, हर्षित हुँदै अम्बिकाले भनिन्, ‘घरको चार किल्लामा तामाको घडामा जल राखेर हरे राम हरे कृष्ण, राधेकृष्ण भनेर लेख्दा सबैको कल्याण हुन्छ त्यही गरेर बस्छु।’

पुरानै शैलीमा धुरीसहितको घर बन्दै

देवकोटाको ०४० सालअघिको घर परम्परागत शैलीको धुरीसहितको छ, चुच्चे गाह्रोमा दुईवटा झ्याल थियो। मौलिक खालको बार्दली र झ्याल थियो। त्यो बार्दली भत्किएको ०४० सालमा खिचिएको तस्बिरमा देखिन्छ। त्यसपछि पुनः घरको मर्मत सम्भार गरी धुरी भत्काएर जस्ताको छाना लगाएर केही आधुनिक ढाँचामा तयार पारिएको थियो। त्यही घर अहिले भत्काएर पुरानो धुरी भएको घर बनाउन थालिएको हो।

यद्यपि, पुरानो संरचनामा भने केही हेरफेर गरिनेछ। चुच्चे गाह्रोमा एउटा मात्रै झ्याल राखिनेछ भने अन्य संरचनामा स्वरूप उही तर आधुनिक तरिकाको रहनेछ।

देवकोटाले चुच्चे गाह्रोसहितको धुरी भएको घर एक जना पुरोहितबाट विसं १९९० को आसपासमा खरिद गरेको स्थानीयवासी सुनाउँछन्।
त्यसअघि उनको जन्म भने डिल्लीबजारको धोबीधारामा भएको थियो। त्यो जन्मघर पनि यथावत छ। परिवारका सदस्यले यहाँ संग्रहालय बनेपछि त्यो जन्मघरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध गरेका छन्।

कान्छी छोरी मीराको हकभोगमा रहेको उक्त घरजग्गा गुठीको स्वामित्वमा थियो। देवकोटाका परिवारले मोहियानी हक प्रयोग गर्दै आएका थिए। उक्त घरलाई सरकारले दुई करोड ५० लाखमा किनेर संग्रहालय बनाउन लागेको हो।

मोहियानी हक भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण भएपछि अहिले प्रतिष्ठानले कविकुञ्जको पुनर्निर्माणसँगै देवकोटा संग्रहालय बनाउन सुरु गरेको हो। यसको लागत सात करोड ११ लाख रुपैयाँको छ।

भानु जयन्तीमा संग्रहालय

बिहीबार शिलान्यास भएको उक्त भवन आगामी चैतसम्म निर्माण सम्पन्न गरिसक्ने र असार २९ गते भानु जयन्तीका दिन संग्रहालयका रूपमा तयार पारिसक्ने गरी काम अगाडि बढेको प्रतिष्ठानका कुलपति उप्रेती बताउँछन्।

चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काठमाडौँ महानगरपालिका–३० मैतीदेवीमा शुभसाइत पारेर दिउँसो १२ः२५ बजे भवन शिलान्यास गरिएको छ। यहाँ १२ आनामा भवन बन्नेछ। नयाँ घर देवकोटाको पुरानो घरकै झल्को दिने गरी बनाइनेछ। घरको बाहिर सालिक राखिनेछ। पुस्तकालय, सेमिनार हल, पढ्ने लेख्ने गरेको स्थान र अन्य प्रयोग गरिएको सामान पनि जस्ताको तस्तै संग्र्रह गरेर राखिनेछ।

भदौ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्