कलमहरु जागै बस्नु पर्छ

अतल बन्दरगाहमा जहाज उभिएको बेला
कलमहरु जागै बस्नु पर्छ

यहाँ चुचुरोमा घाम उदाउनु अघि नै
बिहानी प्रभाको चिरहरण हुने खतरा छ
यहाँ उन्मादी चक्रव्यूह अस्ताउनु अघिनै
जाज्वल्यमान परिवेशको अनार्जव हुने खतरा छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ।

सत्य निरिह बनेर टुलुटुलु हेरिरहेको बेला
कुटिल पराधिनता भित्रिने खतरा छ
झुट मद्मत्त ताण्डब मच्चाईरहेको बेला
समय लेण्डुपको अदपमा सेरिने खतरा छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ

यहाँ सुकुम्बासीको छातीमा डोजर गुडिरहेको बेला
दैलोमा टेकेको पारिलो घाम हराउन पनि सक्छ
यहाँ कमैयाँको गर्धनमा लाठी नाचिरहेको बेला
ओठमा फुलिरहेको खुशीको पल लुटिन पनि सक्छ
त्यसैले, वर्तमान प्रशव वेदना शुसेलीरहेको बेला
कलमहरु जागै बस्नु पर्छ

आफू अध्याराे भए पनि ब्ल्याक बोर्ड,
उज्यालो घाम दिन्छ नानीहरुलाई ,
तर यती निकम्मा छ कि डस्टर ,
न आफू लेख्छ न अरुले लेखेको देखि सहन्छ ।

दुर्गा फुँयाल, भक्तपुर।

भदौ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्