मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसँग अन्तर्वार्ता

‘महिलाको मिर्गौला फेल हुँदा हत्पत्ति कसैले दान नै गर्दैन’

धेरैजसो मिर्गौला सम्बन्धी बिरामी चौथो या पाँचौँ ‘स्टेज’मा पुगेपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको चिकित्सकहरु बताउँछन्। मिर्गौलामा समस्या देखिँदा कस्ता खालका लक्षणहरु शरीरमा देखिन्छन् र यो रोग लागेको कसरी थाहा पाउने भन्नेमा अझै पनि मानिसहरुमा अन्योल कायमै छ। यसै सन्दर्भमा हामीले मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँः

१) हाम्रो शरीरका अंगको कार्यविभाजनमा मिर्गौलाको भूमिकाबारे बताइदिनुस् न?

— मिर्गौला हाम्रो मानव शरीरको अभिन्न अंग हो। मिर्गौला नभई हामी जीवनको कल्पना पनि गर्न सक्दैनौँ। हाम्रो शरीरमा साधारणतया दुई वटा मिर्गौला हुन्छ। मिर्गौलाको मुख्य काम चाहिँ यसले शरीरमा बढी भएको पानीलाई फ्याँक्छ।

पानी शरीरमा कम भयो भने पानीलाई रोक्छ यसले। जसरी पानीको मात्रा मिलाउँछ, त्यसै गरेर शरीरमा विषाक्त पदार्थहरु विशेषगरी खानाबाट आएको ‘प्रोटिन’जन्य विषाक्त पदार्थ त्यसलाई पनि यसले फ्याँक्छ।

अर्को कुरा यसले हाम्रो शरीरको रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ। कम छ भने बढाउन मद्दत गर्छ र बढी छ भने कम गर्न मद्दत गर्छ।

त्यसैगरी शरीरको आवश्यकता अनुसार रगत बनाउन पनि मद्दत गर्छ। र अर्को भिटामिन ‘डी’को मात्रामा पनि यसले महत्वपूर्ण भूमिका खेल्छ।

भिटामिन ‘डी’ कम भएको व्यक्तिमा यसले भिटामिन ‘डी’ बनाउन मद्दत गर्छ। यसले गर्दा क्याल्सियमको सन्तुलन बनाउँछ। र अरु पनि विभिन्न कार्यसञ्चालनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

२) मिर्गौलामा समस्या छ भनेर हामीले कसरी थाहा पाउन सक्छौँ? कस्ता–कस्ता लक्षणहरु देखा पर्छन्?

— चिकित्सा विज्ञानमा त मिर्गौलाको रोग अन्तिम अवस्थामा मात्र थाहा पाइन्छ भनिन्छ। झण्डै ९० प्रतिशतभन्दा बढीलाई त दुई वटै मिर्गौलाको काम ९० प्रतिशत जति फेल भइसकेपछि लक्षण देखापर्छ। त्यसैले सुरुमा त लक्षण नै हुँदैन। मिर्गौला भित्रभित्रै खतम भइसकेको हुन्छ।

जब लक्षण देखापर्छ त्यो बेलामा धेरै ढिला भइसकेको हुन्छ। जस्तै रगतको कमी भएपछि थकान महशुस हुने, शरीरमा विषाक्त पदार्थहरु ‘क्रेटिनाइन, युरिया’ जम्मा भयो भनेत्यसले शरीरलाई विभिन्न मानसिक समस्याजस्तै स्मरण शक्तिमा कमी हुने, होस गुमाउने, बेसुर हुने, छट्पटिने, वाकवाक लाग्ने, खान मन नलाग्ने, विस्तारमा गएर वान्ता हुने र यसबाट पनि अझ उपचार पाएन भने त शरीरमा जब आवश्यकता भन्दा बढी छातीमा पानी जम्मा भयो भने सास फेर्न गाह्रो हुने हुन्छ।

यस्तै पानी जम्मा भएपछि हातखुट्टा मोटो भएर गाह्रो हुने, पेटमा पानी जम्मा हुने, यसरी शरीर एकपछि अर्को गर्दै शिथिल हुँदै जान्छ र विस्तारै शरीरको रङ, हाम्रो छालाको रङमा पनि परिवर्तन आउन थाल्छ। शरीर कमजोर भएर जान्छ। खान मन लाग्दैन।

पोटासियमहरु बढी भयो भने मुटुको चालमै यसले असर गर्न सक्छ। त्यसमा पनि उपचार भएन भने ज्यान जान सक्छ।

३) किन देखिन्छ त मिर्गौलामा समस्या? यसका कारणहरु के हुन्?

— पश्चिमा मुलुकमा भने मधुमेह र उच्च रक्तचाप सबैभन्दा मुख्य कारण हो। यसको कारणले गर्दा झण्डै ८० प्रतिशत मिर्गौला फेल हुन्छ। हाम्रो देशमा भने मधुमेह र उच्च रक्तचापको साथै पिसाबमा प्रोटिन जाने रोग, जसलाई हामी सीजीएन भन्छौँ।

यी तीनवटा कारणले ८० प्रतिशतभन्दा बढी मिर्गौला फेल हुन्छ नेपालमा। र अरु पनि मिर्गौला रोगको थुप्रो कारणहरु छ। जस्तो पिसाबमा इन्फेक्सन भइराख्यो भने मिर्गौला फेल हुन सक्छ, पत्थरी भयो र त्यसले पिसाबको प्रवाहमा अवरोध गर्‍यो, पिसाबको नलीमा ब्लक गर्‍यो फेरि मिर्गौला खत्तम हुन्छ।

फेरि जन्मजातमा पनि र वंशाणुगत कारणले पनि मिर्गौला फेल हुने कारणहरु हुन्छ। जथाभावी औषधीहरु ब्रुफिनहरु, पेनकिलरहरुले मिर्गौलालाई खत्तम बनाउँछ।

त्यसैले कतिपय कुराहरु हाम्रो नियन्त्रणमा छ, बेलैमा रोगबाट बच्नको लागि। जस्तो मधुमेह हाम्रो नियन्त्रणमा छ, ब्लड प्रसर हाम्रो नियन्त्रणमा छ, औषधी खाने नखाने हाम्रो नियन्त्रणमा छ।

तर जस्तो पारिवारिक समस्या त्यो हाम्रो नियन्त्रणमा छैन। त्यसैले यो रोगबाट बच्न कतिपय कुराहरु हाम्रो नियन्त्रणमा छ भने कतिपय कुराहरु हाम्रो नियन्त्रणमा छैनन्।

४) यसमा कुनै उमेर समूह हुन्छ? यो उमेर समूहको लागि मिर्गौलाको समस्या बढी देखिन्छ भन्ने खालको?

— भर्खर जन्मेको केही महिना पुगेको बच्चाहरुमा पिसाबको नलीमै जन्मजात समस्या भयो, पिसाबको प्रवाहमा ब्लक हुने खालको, जम्मजात बनावटमै कमिकमजोरी छ भने त्यसले मिर्गौलालाई धक्का दिने भयो।

त्यसै गरेर पछि वयस्क उमेरमा चाहिँ पिसाबमा इनफेक्सन हुने समस्याहरु देखापर्न सक्छ। र मधुमेह र प्रेसर हुने उमेर आइपुगेपछि त मिर्गौलाको रोग हुने समस्या बढ्दै जान्छ। मधुमेहर ब्लड प्रेसरलाई हामीले ध्यान नदिने हो भने मिर्गौलाको रोग धेरै संख्यामा बढ्न सक्छ।

५) नेपालको सन्दर्भमा महिला र पुरुषमध्ये कसलाई यो समस्या बढी देखिएको छ?

— मेडिकल्ली १.६ पुरुषलाई मिर्गौलाको समस्या देखिएको छ भने १ प्रतिशत महिलालाई यो रोग लाग्छ भन्ने तथ्य छ।

६) नेपालमा प्रत्यारोपणको अवस्था कस्तो छ?

समस्या कहाँनिर देख्छु भने रोग लाग्ने संख्यामा त धेरै अन्तर छैन। तर पुरुषको मिर्गौला फेल भयो भने प्रत्यारोपण गर्दाखेरि महिलाले अंग दान गर्छन्। ९० प्रतिशत पुरुषको प्रत्यारोपण हुन्छ, ८० प्रतिशत दाताहरु महिला हुन्छन्।

पुरुषले मिर्गौला लिने र महिलाले दिने। आमाले छोरालाई दिने, श्रीमतीले श्रीमान्‌लाई त दिने नै भयो अनि छोरीले बाउलाई दिने।

तर ठ्याक्कै उल्टो छोराले आमालाई कति दियो, श्रीमानले श्रीमतीलाई कति दियो, बाउले छोरीलाई कति दियो, यो संख्या हेर्ने हो भने एकदमै कहालीलाग्दो छ।

एकतर्फी रुपमा पुरुषले शोषण गरेको अवस्था छ। जबकी रोग चाहिँ झण्डै बराबर लाग्छ भने पुरुषको मिर्गौला फेल हुने वित्तिकै सासुले पनि दिनुपर्ने, ससुराले पनि दिनुपर्ने, तर बुहारीको फेल भयो भने सासु–ससुरा या आफ्नै श्रीमान्‌ले पनि दिन नपर्ने, यस्तो खालको विभेद छ यसमा।

त्यसैले मिर्गौला रोग झण्डै–झण्डै बराबर संख्यामा लागेपनि उपचारमा चाहिँ महिलाहरु एकदम पीडित, शोषित, र अन्यायपूर्ण ढङ्गले व्यवहार भएको छ।

७) यसको रोकथामको लागि चाहिँ के के गर्नु पर्ला?

— यो रोग लागेर लक्षण देखा परेपछि उपचार गरुँ भन्यो भने धेरै ढिला हुन्छ। ढिला भयो भने डायलासिस या प्रत्यारोपणमै जानु पर्ने भयो।

हामीले डायलासिस या प्रत्यारोपण गर्नै नपरोस न। त्यसको लागि डायबिटिज हुन दिनु भएन, भएकाहरुले नियन्त्रणमा राख्नु पर्‍यो। ब्लड प्रेसर हुन दिनु भएन, भएकाहरुले नियन्त्रणमा राख्नु पर्‍यो, पिसाबको इनफेक्सन भयो भने त्यसलाई समयमै रोक्नु पर्‍यो।

पत्थरी भएको छ कि छैन समयमै ध्यान दिनु पर्‍यो। जस्तो अरु पनि रोगहरु छ तीनलाई हामीले नियन्त्रणमा राख्नै पर्‍यो।

डायबेटिज र ब्लड प्रेसरको लागि त सजिलो छ नि नियमित रुपमा शारीरिक व्यायाम गर्ने, डाक्टरको सल्लाहअनुसार औषधी सेवन गर्ने, र जसरी हुन्छ डायबिटिज र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने।

अथवा फेल नै हुने हो भने पनि त्यसको गतिलाई हामीले निकै हदसम्म कम गरेर, दुई वर्षसम्म फेल हुने मिर्गौला त्यसलाई हामीले तन्काएर धेरै वर्ष धकेल्न सक्छौँ। यो कुरा हाम्रै हातमा छ।

तर अब जे गरे पनि मिर्गौला फेल भयो भने त एउटा डायलासिस अर्को प्रत्यारोपण।

८) डायलासिस र प्रत्यारोपणका फाइदा बेफाइदाबारे विस्तारमा बताइदनुस् न?

डायलासिस भनेको कृतिम प्रक्रिया हो। त्यसमा चाहिँ शरीरमा भएको फोहारलाई फ्याँक्दिने। दुई वटा डायलासिस छ। हेमो डायलासिस र पेरिटोनियल डायलासिस।

हेमो डायलासिसमा चाहिँ मेसिनले रगत सफा गर्ने हो। त्यसको लागि रगतबाट मेसिनमा पहिला जानु पर्‍यो। फोहोर तत्व मेसिनले निकाल्छ अनि सफा रगत शरीरमा फर्काइदिन्छ।

अर्को पेरिटोनियल डायलासिसमा चाहिँ शरीरमा विशेषखालको पानी भित्र पठाइन्छ। त्यो पानीलाई केही घण्टाभित्र सफा गर्न दिएपछि त्यो पानी फेरि निकालेर फाल्ने। त्यो दिनमा केही पटक, केही घण्टासम्म गर्न पर्ने हुन्छ। यो चाहिँ घरेलु उपचार जस्तो हो।

हेमोडायलासिसमा धेरै समय खर्च हुन्छ। परिवार पनि सँगै जानु पर्‍यो, दिनभरी अस्पतालमै बस्नु पर्‍यो।

यातायातको खर्च तिर्नुपर्‍यो, एकदिनको खर्च हैन, आजीवन। हप्ताको दुई पटक या तीन पटक, गर्दाखेरि व्यापार व्यवसाय बिरामीको पनि गयो, परिवारका सदस्यको पनि गयो।

इनकम गयो, खर्च बढ्यो। र विभिन्न खालको रोगको सम्भावना बढ्यो किनभने भीडभाडमा संक्रमणहरु बढ्ने भयो, डायलासिस गर्ने मेसिन एकजना मान्छेले मात्र प्रयोग गर्दैनन्, धेरैले प्रयोग गर्छन्।

त्यहाँबाट पनि डरलाग्दो संक्रमणहरु हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचआइभीदेखि लिएर विभिन्न रोगहरु लाग्ने सम्भावना बढेर जान्छ।

प्रत्यारोपण गर्‍यो भने के फाइदा भयो त एउटा कुरा पहिलाजस्तै स्वस्थ जीवन बिताउन पायो। पहिलाजस्तै खानपिन गर्न पायो।

डायलासिसले राम्रोसँग खानपीन गर्न पाउँदैन, थोरै पानी खाने, बारेर खानु पर्ने, यस्तो कुरा हुन्छ भने प्रत्यारोपण गरेको मान्छेले तपाईं हामीले जस्तै स्वस्थ व्यक्तिले खाएजस्तो खानेकुरा खान सक्छ।

दोस्रो कुरा प्रत्यारोपण गरेको मान्छे स्वस्थ मानिसले जस्तै काम गर्न पाउँछ, व्यापार व्यवसाय गर्न पाउँछ, दक्ष व्यक्ति भएर देशलाई समाजलाई, उत्पादनशील नागरिक भएर योगदान गर्न सक्छ। परिवार र समाजलाई भार हैन की समाज, परिवार र राष्ट्रलाई नै मद्दत गर्न सक्छ।

अर्को कुरा खर्चको हिसाबले पनि झण्डै दुई वर्षको खर्चले प्रत्यारोपण गर्न मिल्छ। प्रत्यारोपण गरेको मान्छेले अब कमाउन थाल्छ तर डायलासिस गर्ने मान्छेले आजीवन खर्च गरेको गर्‍यै गर्नुपर्छ।

र आयुको कुरा गर्ने हो भने पनि प्रत्यारोपण गरेको मान्छेको आयु डायलाइसिस गर्ने मान्छेको भन्दा बढी हुन्छ। त्यसो हुनाले डायलासिस र प्रत्यारोपणको तुलना गर्न सकिँदैन।

मुटुको समस्या यति चर्को छ की अप्रेसन धान्दैन। फोक्सोको समस्या यति छ की अप्रेसन धान्दैन। बेहोस गर्नै मिल्दैन। क्यानसर छ बिरामीलाई अथवा कुनै किसिमको कडा संक्रमण छ भने प्रत्यारोपण थर्दा डिस्इन्फेक्सन झन् बढ्छ। यस्तो विभिन्न अवस्थामा प्रत्यारोपण गर्न मिलेन।

नत्र प्रत्यारोपण गर्न मिलेसम्म प्रत्यारोपणको विकल्प डायलासिस हुन सक्तैन। प्रत्यारोपण हुन नसक्ने मान्छे चाहिँ डायलासिस गरेर भएपनि बाँच्नु पर्‍यो।

क्वालिटी अफ लाइफ हुँदैन डायलासिस गर्ने बिरामीको। सधैँभरि अस्पतालमा विरामीको रुपमा बस्नु भनेको त बिरामी मात्र हैन विरामीको परिवारले पनि दुःख पाउँछ। त्यो कल्पना गर्न पनि सकिँदैन।

डायलासिसमा नि बाँच्छ तर प्रत्यारोपण जस्तो हुँदैन। धेरै दुख पाएर बाँच्छ। उत्पादनशील नागरिक बन्नेकी समाजको लागि भार भएर बस्ने। प्रत्यारोपण गर्ने अवस्था हो भने डायलासिसमा भुल्ने काम नगरौँ।

९) डायलासिस हप्तामा कति पटकसम्म गर्नुपर्ने हुन्छ?

— केस हेरी– हेरी हुन्छ। तर हप्तामा तीन पटकसम्म गरिन्छ।

१०) प्रत्यारोपणका लागि अन्य केही सुझावहरु छन्?

— प्रत्यारोपण गर्नको लागि अंग दान गर्नुपर्छ। आफ्नै परिवारको सदस्यले अंग दान गर्न मिल्छ। नेपालको कानुनमा परिवारको सदस्य नातेदारले दिन पाउँछ।

त्यसैले भगवानले दुईवटा मिर्गौला दिएको छ हामीलाई। एउटा मिर्गौला भए हामीलाई पुग्छ। एउटा मिर्गौला हामी सहजै दान गर्न सक्छौँ।

एउटा मिर्गौला नै हामीलाई पर्याप्त छ। र आफ्नो परिवारमा कसैको दुर्घटनाबाट या अरु कुनै स्ट्रोक भएर, मस्तिष्कघात भएर मस्तिष्कमृत्यु भयो भने त्यो व्यक्ति पूर्णरुपमा मृत सरह हो मेडिकल साइन्समा।

त्यसैले मस्तिष्क मृत्यु भएको मान्छेको अरु अंग विस्तारै मरेर जान्छ, त्यसैले अरु अंग मर्नु अगाडि हामीले दान गर्दियौँ भने त्यो मरेको व्यक्तिबाट आएको मिर्गौला, फोक्सो, मुटु, कलेजो, आदि विभिन्न अंगहरुले अरु अंग फेल भएको व्यक्तिको ज्यान बचाउन सक्छ।

भनेपछि त्यो अंग पनि बाँच्न पायो, कसैको जीवनलाई पुनर्जीवन दियो, यो भन्दा ठूलो दान, ठूलो पुण्य के हुन सक्छ र?

त्यसैले भवितव्य परेर आफ्नो परिवार, छरछिमेक, कसैको मस्तिष्क मृत्यु भयो भने उहाँहरुले पनि अंग दान गर्न सक्नुहुन्छ। त्यो भयो भने मिर्गौला लगायत अरु धेरै अंग फेल भएका मान्छेहरुको ज्यान बाँच्न सक्छ।

भदौ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्