अफगानिस्तानबाट अहिलेसम्म ५०४ नेपाली स्वदेश फर्किए

फाइल तस्बिर

काठमाडौँ – अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरि आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको आइतबार सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो ।

उद्धारका लागि सूचिकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरि उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ ।

उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरि उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

भदौ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्