प्रधानमन्त्री पत्नी देउवाको ‘राखी कूटनीति’

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई राखी बाँध्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा ।

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाएकी छन्।

आरजुले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई रक्षा बन्धन (राखी) का दिन आइतबार राखी बाँधेकी हुन्। दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी हुन्।

राजघराना तथा अरु उच्च घरानामा आवश्यकता अनुसार मुलुकको वा निजी स्वार्थका लागि छिमेकमा विवाहवारी कूटनीति पुरानो परम्परा हो। तर अहिले प्रधानमन्त्री पत्नीले त्यो भन्दा पृथक अवस्थामा ‘राखी कूटनीति’ अघि बढाएकी हुन्।

चौथाइवालेको नेपाल यात्रा राखी प्रयोजनका लागि थियो या संयोग मात्र हो भन्ने खुल्न सकेको छैन।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले देश सञ्चारसँग भने, ‘उहाँ (आरजु राणा देउवा) ले चौथाइवालेलाई राखी लगाइदिनु भएको हो ।’

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चौथाइवालेबिच शिष्टाचार भेटवार्ता भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन्।

भदौ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्