चार्टर्ड एकाउन्टेन्ट सञ्जुले ल्याइन् उपन्यास

काठमाडौँ- ‘इन्द्रेणी स्पर्श’ उपन्यास प्रकाशन गरेर चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी छिन्। इच्छा, रहर र भावमाथिको  स्वतन्त्रतामा केन्द्रित उपन्यास ‘इन्द्रेणी स्पर्श’ नारीहरुको आफ्नै कथा हो। यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ।

नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रंग समेटेर लेखिएको यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने चरित्रमार्फत नारीको आवाज मुखर गर्न खोजिएको छ। पात्रको व्यक्तिगत भोगाइ र प्रतिक्रिया सबै कथा परिस्थिति अनुसार झल्किएका छन्।

उपन्यासमा प्रेमको स्पर्श छ। त्योभन्दा धेरै त ‘स्वतन्त्रता’ को खोजी भएको छ। सधैँ अरुको छत्रछायाँमा जिउने नेपाली नारी जीवनमा स्वतन्त्रताको खोजी। नारीका भावनाहरू निस्फिक्री हुर्किने स्वतन्त्रता, ती भावनालाई पछ्याउने स्वतन्त्रता, आफ्ना निर्णयहरूलाई आत्मसात गर्नसक्ने स्वतन्त्रता । छोरी मान्छेलाई आफ्ना रहर बुझ्ने स्वतन्त्रता, सपना देख्ने स्वतन्त्रता, माया गर्ने स्वतन्त्रता, मन बसेको सम्बन्ध सकार्न सक्ने स्वतन्त्रता, विषालु सम्बन्धबाट छुट्टिने स्वतन्त्रता, अनि नितान्त व्यक्तिगत पक्षमा हुने हस्तक्षेप सहजै रोक्न पाउने स्वतन्त्रता। ‘आफू जे छु, त्यही हुन पाउने’ स्वतन्त्रताको वकालत गर्ने उपन्यासमा स्त्रीमनको नजरबाट सम्बन्धहरूको सापेक्षता नापिएको छ। विभिन्न पात्रका सोचाइ र भोगाइको गतिशीलता रङ्गिन तरिकाले भरिएको छ।

कथा र कथाका पात्रहरू देशको राजधानी सेरोफेरोकै छन् । सामान्यजस्ता लाग्ने घटना, संवादलाई पनि सकेसम्म सबैको मन छुने ढंगले पस्किएको छ । प्रेमभावको स्पर्शले सम्पूर्ण सजीव र निर्जीव पक्षलाई छुन्छ । सम्बन्धका रङहरूमा चाहना, समर्पण, त्याग, सुख, शान्ति र आत्मीयताको गाढापन छ । मायाको आवश्यकता महशुस गर्ने हरेक मनहरूमा ‘इन्द्रेणी स्पर्श’ले छुन्छ र हरेक छुवाइमा शब्दहरूले प्रेम र सद्भाव बाँड्ने क्षमता राख्छन् ।

कविता, कथा तथा विभिन्न लेखहरु पत्रपत्रिकाहरुमा प्रकाशन गरिरहेकी सञ्जुको यो पहिलो उपन्यास हो ।

भदौ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्