अफगास्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

फाइल तस्बिर

काठमाडौँ – अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडाैँ आएका छन् ।

नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरि सीसीएमसीको समन्वयमा सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीलाई काठमाडाँैसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार बेलुका ५ बजेसम्म ३६१ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

हालसम्म सम्पर्कमा आएका मध्ये दुई जनाको राहदानी नभएको जानकारी प्राप्त भएकाले यात्रा अनुमति पत्र जारी गरि पठाउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको उनले बताइन् ।

भदौ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्