कुलमानलाई बर्खास्त गर्न माग गरेका हितेन्द्रदेवकाे रिट प्रधानन्यायाधीश राणाकाे इजलासमा

हितेन्द्र शाक्य। फाइल तस्बिर।

काठमाडाैँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वाेच्च अदालत पुगेका हितेन्द्र देव शाक्यले दायर गरेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा हुने भएको छ।

सरकारले शाक्यलाई हटाएर उक्त पदमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो।

आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गदै हितेन्द्रले पदमा कायम राख्न माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटका लागि आज प्रधानन्यायाधीश राणाको इजलासमा पेशी तोकिएको हो।

शाक्यले आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्। सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो।

शाक्यले रिट निवेदनमा भनेका छन्, ‘…मेरो पूर्व सहमती वेगर मलाई विपक्षी जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा सरुवा र नियुक्त गर्ने मिति २०७८/४/२५ को नेपालसरकार मन्त्रि परिषदको निर्णय, मेरो पदस्थापना कायमनै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई दोहोरो नियुक्ति दिने नेपाल सरकार मन्त्री परिषदको निर्णय र निजलाई नियुक्ती दिने लगायत विपक्षीहरुवाट भए गरेको सबै काम कारवाही तथा पत्राचार समेत नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउ र मलाई साविक बमोजिमको पदमा यथावत रुपमा काममा लगाउनु सो काममा पूर्ण सहयोग गर्नु भनी विपक्षीहरुको नाममा परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाऊ।’

यसअघि शाक्यले आफूलाई सम्मानजनक स्थान दिए प्राधिकरण छाड्ने बताएका थिए।

भदौ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्