काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सनाखत गरेर निर्वाचन आयोगबाट बाहिरिएका छन्।

एकीकृत समाजवादी पार्टी दर्ताका लागि आफ्नो पक्षमा रहेका नेताहरुसहित आयोग पुगेका नेता नेपाल सनाखत गरेर फर्किएका हुन्। नेपाल नेतृत्वको नयाँ पार्टीमा ५५ केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत गरेका छन्।

आयोगले नेकपा एकीकृत समाजवादी पार्टीमा रहन चाहेको भन्दै निवेदन दिएका चार जना सांसदको सनाखत गर्न भने अस्वीकार गरेको छ।

पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली, सोमप्रसाद पाण्डे र तुलसा थापाको सनाखत गर्न नमानेको हो।

यद्यपि पार्टी विभाजन भएको निर्णयमा उनीहरुले समाजवादी पार्टीमा रहनका लागि निवेदन दिएको भन्ने कुरा उल्लेख गरी संघीय संसदलाई जानकारी गराउने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

आयोगले पार्टी विभाजनको निर्णय आजै गर्ने जानकारी दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सकेसम्म एकीकृत समाजवादी पार्टी दर्ताको प्रमाण पत्र पनि आजै दिने बताए।