जर्मनीमा शरण लिएका अफगानिस्तानका पूर्वमन्त्री पिज्जा ‘डेलिभरी’ को काम गर्दै

जर्मनीमा शरण लिएका अफगानिस्तानका एक पूर्व मन्त्रीले पिज्जासहितका खाद्यान्न ‘डेलिभरी’ को काम गर्न थालेको खबर अहिले भारतीयसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

अल जजिरा अरबिकले आफ्नो ट्वीटर ह्याण्डलमा अफगानिस्तानका पूर्व सञ्चार तथा प्रविधि मन्त्री सैयद अहमद सदातले साइकलमा खाना डेलिभरीका लागि जाँदै गरेको तस्बिर अगस्ट २४ मा पोस्ट गरेको थियो। त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनले पिज्जा डेलिभरीको काम गर्न थालेको खबर आएको हो।

उनी सन् २०२० मा  जर्मनी गएका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट कम्युनिकेशन र इलेक्ट्रोनिक इन्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन्। सैयद अहमद सदात अहिले जर्मनीको लेइप्जिगमा बस्छन् । उनी गएको डिसेम्बरमा अफगानिस्तान छोडेर जर्मनी गएका हुन्।

उनी सन् २०१६ मा अशरफ गनीको मन्त्रीपरिषदमा सामेल भएका थिए। तर गनीसँगको मतभेदका कारण उनले सन् २०१८ मा राजीनामा दिएका थिए।

स्काइ न्यूजले सादतसँग कुराकानी गरेको र उनले आफू पिज्जा डेलिभरीको काम गर्न थालेको पुष्टि गरेको उल्लेख छ। उनले अल जजिरामा पोस्ट भएको तस्बिर आफ्नो रहेको पुष्टि गरेका छन्।

पैसा सकिएपछि आफूले डेलिभरीको काम गर्न थालेको उनले बताएका छन्। अफगानिस्तान अहिले तालिबानको कब्जा छ। तालिबान काबुल प्रवेश गरेपछि राष्ट्रपति गनी भागेर युएईमा शरण लिएका छन्।

भदौ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्