निर्मला पन्त हत्या प्रकरणबारे छानबिन जारी छ, चाँडै सत्यतथ्य पत्ता लाग्छः गृहमन्त्री खाँण

फाइल तस्बिर।

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधि अभाव हुन नदिने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले व्यास क्षेत्रमा खाद्यान्न र औषधिको प्रबन्ध सरकारले गरिसकेको बताएका हुन्।

उनले साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताए।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकाले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने बताए।

उनले चाडबाडमा बजारमा गुणस्तरहीन वस्तु भेटिने समस्या र कालोबजारीलाई गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्ने आश्वासन दिए।

गृहमन्त्री खाँडले भने, ‘दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्न अभाव भनेर जनप्रतिनिधिले भन्नुभएको छ, त्यसका लागि खाद्यान्न र आवश्यक औषधिको व्यवस्था सरकारले गरिसकेको छ, नेपालबाटै हिँडेर त्यहाँ पुग्नुपर्ने समस्याले केही ढिला भइसकेको छ तर सरकारले आवश्यक सामग्रीको प्रबन्ध र पूर्वतयारी गरिसकेको छ, त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनकै क्रममा छ, र यो लामो समय भइसक्यो, यो घटनाको छानबिन गर्न सकिन्छ र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकिन्छ भन्ने विश्वास छ।’

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको बताए।

उनले ३६ वटा कालोबजारीका घटनामा २० वटा मुद्दा दर्ता भएको समेत जानकारी गराए। उनले नेपाल पुलिसले कालोबजारीका घटनालाई गम्भीरतासाथ लिएको समेत बताए।

महानिरीक्षक क्षेत्रीले नेपाल पुलिसले अहिले ३ वर्षको अवधिमा विभिन्न अपराधका घटनाको संकलित कागजात, बयान, सबुतलाई केन्द्रीय स्तरमा लगेर रिभ्यू गरिरहेको पनि जानकारी दिए।

बैठकमा सांसद डा. डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाललगायतले सांसद जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारीलगायत समसामयिक विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

भदौ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्