जसपा एक साताभित्र सरकारमा जान्छः उपेन्द्र यादव

मोरङ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र सरकारमा सहभागि हुने बताएका छन्।

बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने र सरकारमा सहभागि हुने बताएका हुन्।

उनले महन्थ ठाकुर नेतृत्वको पार्टीको सरकारमा सहभागिता नहुने बताए। हालको दलीय गठबन्धनमा ठाकुरको दल सहभागि नभएको हुँदा सरकारमा समेत उपस्थितिको सम्भावना नरहेको उनको दाबी छ।

आउँदो निर्वाचनसम्म दलीय गठबन्धन एकढिक्का रहनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष यादवले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुट्ने कार्य भइरहने उल्लेख गरे। उनले मुलकमा आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै वर्तमान लोकतान्त्रिक सरकारलाई जनमूखी काम गर्न दलबीच एक उच्चस्तरीय गठबन्धन बनाउनुपर्ने आवश्यकता रहेको बताए।

अझै पनि प्रतिगमनको खतरा रहेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा जोडिने बताए। मुलुकमा अध्यादेश ल्याउने परिपाटीले राजनीतिक अस्थिरता पैदा गर्ने अध्यक्ष यादवको भनाइ छ।

अध्यक्ष यादवले अध्यादेश ल्याउने नीति नै राष्ट्रका लागि घातक भएको बताउँदै सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका थिए।

अध्यक्ष यादवले संसदीय व्यवस्थालाई रोकेर ल्याइएको अध्यादेशले मुलकको हित नगर्ने र संसदवाट राजनीति समस्याको हल खोज्न दलहरु लाग्नुपर्नेमा जोड दिएका थिए। संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ।

भदौ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्