भिडियाे अन्तर्वार्ता

हृदयाघातबारे डा. प्रकाश राज रेग्मीसँग ५ प्रश्न

मुटुको रगत वितरण गर्ने नसा अकस्मात बन्द भएपछि हृदयाघात हुन्छ। हृदयाघात जसलाई पनि र जतिबेला पनि हुनसक्ने चिकित्सकहरु बताउँछन्।

मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरु हृदयाघातको सबैभन्दा बढी जोखिममा हुन्छन्। जीवनशैली र तनाव यसका मुख्य कारणहरु हुन्। यसै सन्दर्भमा हामीले हृदयाघातका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीसँग कुराकानी गरेका छौँः

१) हृदयाघात भनेको के हो? यो कसरी हुन्छ?

— हृदयाघात भनेको नसर्ने रोगमध्येको एउटा प्रमुख रोग हो। यो जीवनशैलीसँग सम्बन्धित छ। पछिल्लो समयमा यो रोग धेरै बढिरहेको छ, हाम्रो समाजमा। किनकी मान्छेको जीवनशैली बिग्रिएको छ। जीवनशैलीको कारणले लाग्ने रोग भएको हुनाले मान्छेको खानपान, व्यायाम, बानी व्यहोरासँग प्रत्यक्ष रुपमा यो रोगले सम्बन्ध राख्छ।

हामीले नेपालको परिपेक्षमा कुरा गर्ने हो भने झण्डै—झण्डै २५ प्रतिशत मानिसहरु मुटुको रोगबाट पीडित हुनुहुन्छ। नेपालमा हृदयाघातबाट मात्रै वर्षमा करिब ३० हजार व्यक्तिहरुको मृत्यु हुन्छ। यो संख्याचाहिँ बढिरहेको छ।

हृदयाघात भएपछि मान्छेको मृत्यु हुने सम्भावना एकदम धेरै हुन्छ। दुईजनालाई हृदयाघात हुँदाखेरि एकजनाको मृत्यु जुन ठाउँमा हृदयाघात हुन्छ, त्यहीँ ठाउँमा भएको हुन्छ। र, संसारकै कुरा गर्ने हो भने पनि यो नम्बर वान किलर अर्थात एक नम्बर हत्यारा रोग हो। विश्वमा जति मानिसहरुको मृत्यु हुन्छ, त्यसमध्ये सबैभन्दा धेरै मानिसहरुको मृत्यु हृदयाघातबाट हुन्छ।

हृदयाघात भनेको कस्तो रोग हो बुझ्नका लागि हामीले मुटुको बारेमा बुझ्न जरुरी छ। मुटु भनेको एउटा मासुको डल्लो हो। पम्पको रुपमा यसले काम गर्छ। धड्कनको साथमा यसले पम्प गर्छ। यसले रगतलाई पम्प गर्छ। र, यो मासुको डल्लो अर्थात मुटुलाई पम्प गर्नका लागि रगत चाहिन्छ। रगतको मार्फतबाट मुटुको मांशपेशीमा अक्सिजन आउँछ, ग्लुकोज आउँछ र अरु खाद्य पर्दाथहरु आउँछ। त्यसको सप्लाई भएपछि बल्ल मुटुले राम्रोसँग पम्प गर्न सक्छ।

अब त्यो मुटुलाई अक्सिजन र ग्लुकोज सप्लाई गर्ने जुन रगतबाट यो सप्लाई हुन्छ, त्यो रगत बग्ने रक्तनली साँघुरो भयो भने त्यो साँघुरो भएको ठाउँबाट राम्रोसँग रगत पास हुन सक्दैन। र पम्प गर्दाखेरि त्यसलाई चाहिने रगत, त्यसलाई चाहिने अक्सिजन, ग्लुकोज राम्रोसँग पुग्दैन, मुटुको मांशपेशीमा।

त्यस्तो परिस्थितलाई हामीले एनजाइना भन्छौँ। मुटुको रक्तनली साँघुरो भएको अवस्था भनेको छाती दुख्ने लक्षण दिने अवस्था हो। त्यस्तो भएका मानिसहरु हिँड्दाखेरि या परिश्रम गर्दाखेरि छातीको बीच भागमा दुखेर आउँछ। यसलाई एनजाइना भनिन्छ। अब त्यो जुन साँघुरो भएको ठाउँ छ, त्यो साँघुरो भएको ठाउँ कुनैकुनै बेला चिरिन्छ/च्यातिन्छ। त्यो च्यातिएर त्यहाँ रगत जम्न पुग्छ। त्यो रगत जमेपछि त्यहाँको रक्तनली पुरै ब्लक हुन्छ। त्यो पुरै ब्लक भएपछि रगत पास हुँदैन र मुटुको मांशपेशी मर्छ। हो, यसलाई हामी हृदयाघात भन्छौँ।

२) हृदयाघात हुँदा कस्ता–कस्ता लक्षणहरु देखा पर्छन्?

—हृदयाघात भएको बेलामा छातीको मध्य भागमा अत्याधिक पीडा हुन्छ। खलखली पसिना आउँछ। सास फेर्न गाह्रो हुन्छ। र, कतिको त मृत्यु नै भइहाल्छ। हृदयाघात भएपछि मुटु एकदम कमजोर हुन्छ। मुटुुुले पम्प गर्न सक्दैन र मानिसको मृत्यु हुन्छ। हृदयाघातको सबैभन्दा महत्वूर्ण लक्षण भनेको छातीको मध्यभागमा दुख्ने, मानिसले परिश्रम गरेको बेलामा अथवा मान्छेले धेरै खाना खाएको बेलामा अर्थात धुम्रपान गरेको बेलामा, मानसिक तनाव भएको बेलामा, त्यस्तो बेलामा यदि एकाएक छातीको मध्य भागमा पीडा भयो भने हामीले सोच्नु पर्छकि हृदयाघात भयो।

त्यस्तै अर्को लक्षण भनेको पीडाको साथमा खलखलती पसिना आउने, सास फेर्न गाह्रो हुने हुन्छ। महिलाहरुलाई धेरै जस्तो छातीमा पीडा हुनेभन्दा पनि छातीमा जलन हुने, आगोले पोल्या जस्तो, एसिडले पोल्याजस्तो र पेटतिर पनि दुखेको जस्तो, अनि वाकवाकी आउने, यस्तो खालको लक्षणहरु महिलाहरुलाई बढी देखिने गर्छ। पुरुषलाई छातीको पीडा बढी हुन्छ, महिलाहरुमा ग्याष्ट्रिकको लक्षणहरु बढी देखिन्छ।
त्यसैले धेरैजसो मानिसहरुले के ठान्नु हुन्छ त भन्दाखेरि ग्याष्ट्रिकको लक्षण देखिँदाखेरि छाती पोल्ने, पेट पोल्ने हुँदाखेरि ग्याष्ट्रिक भयो भनेर ग्याष्ट्रिकको औषधि गर्नतिर लाग्नु हुन्छ।

तर वास्तवमा धेरैलाई हृदयाघात भएको हुन्छ। त्यसैले हामीले यस्ता लक्षणहरु देखिने बित्तिकै हृदयाघात हो कि भनेर शंका गर्नुपर्ने हुन्छ। जतिसक्यो चाँडो नजिकको अस्पताल गएर रोग ठम्याउने र उपचार गर्नुपर्ने हुन्छ।

३) के कारणले गर्दा हृदयाघात हुन्छ?

— हृदयाघात एकदमै वंशानुगत कारणले हुन्छ। यो नसर्ने रोगहरु धेरै जसो वंशानुगत हुन्छ। त्यो एउटा मेजर रिस्क फ्याक्टर हो। अर्थात ठूलो यो कारक तत्वमा पर्छ।

हृदयाघातका अरु कारकहरु पनि छन्, जस्तै उच्च रक्तचाप एउटा कारण भयो, धुम्रपान र सुर्तीको सेवन अर्को कारण हो। मधुमेह र कोेस्ट्रोल पनि यसका कारणहरु हुन्।

यदि आफ्ना बा, आमा, दाइ, दिदी या आफूभन्दा माथिकोलाई यदि हृदयाघात भएको छ भने तलका सन्तानहरुलाई पनि हृदयाघात हुने सम्भावना एकदम धेरै हुन्छ। यो एकदमै वंशानुगत रुपमा जाने रोग हो। त्यसैले के बुझ्नुपर्‍यो भने वंशमा यदि कसैलाई हृदयाघात भएको छ, त्यो पनि जवान हुँदै। तर बुढेशकालमा हृदयाघात भएको छ भने त्यसलाई हृदयाघात मानिँदैन। पुरुषका हकमा ५५ वर्षभन्दा कमको उमेरमा र महिलाको हकमा ६५ वर्षभन्दा कमको उमेरमा हृदयाघात भएको छ भने त्यस्ता व्यक्तिहरुको सन्तानलाई हृदयाघात हुने सम्भावना अत्याधिक हुन्छ।

४) नेपालको सन्दर्भमा महिला या पुरुष कसलाई बढी हृदयाघात भएको देखिएको छ?

—यसमा चाहिँ हामीले महिला र पुरुषको उमेर हेर्नुपर्छ। जस्तै ४५ वर्षभन्दा तलको अवस्थामा महिलाभन्दा पुरुषलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ। महिलालाई कम र पुरुषलाई बढी, यो महिनावारी रोकिने बेलासम्म।
अब महिनावारी रोकिसकेपछि जब मेनोपज स्टार्ट हुन्छ, त्यो उमेरमा महिला र पुरुष दुवैलाई हृदयाघात हुने सम्भावना एकनाश हुन्छ। त्यसैले हामीले त्यो रुपमा उमेरको हिसाबमा बुझ्नुपर्ने हुन्छ।

५) यसको समाधान कसरी गर्न सकिन्छ?

— हृदयाघात हुन लाग्यो भनेर थाहा पाउन गाह्रो हुन्छ। तर के कुरा हामीले अनुमान गर्न सक्छौँ भने रिस्क मूल्यांकन हुन्छ, भनेको कुनै व्यक्तिलाई हृदयाघात हुने सम्भावना कति छ त? एकदम धेरै सम्भावना भएका मान्छेहरुलाई खतरा धेरै भयो, एकदम थोरै सम्भावना भएका व्यक्तिलाई कम भयो।

त्यसैले खतरा धेरै छ कि थोरै छ पत्ता लगाउनलाई हामीले के गर्नुपर्छ भने एउटा कुरा त वंशमा हृदयाघात कसैलाई भएको छ की छैन। आफ्नो वंशमा कम उमेरमै हृदयाघात भएर कसैको मृत्यु भएको छ अथवा कसैलाई हृदयाघात भएर उपचार गरिएको छ भने त्यो एउटा पोइन्ट भयो।
अर्को कुनै व्यक्तिले चुरोट, सुर्ती सेवन गर्नुहुन्छ त्यो पनि एकदम ठूलो कारक भयो। ब्लड प्रेसर भएकाहरु जसलाई मधुमेहको रोग छ, जसलाई कोलेस्ट्रोल छ, जो व्यक्ति मोटो छ, जसलाई धेरै ठूलो मानसिक तनाव छ। यस्तो खालको कारक तत्वहरु यदि कुनै व्यक्तिलाई छ भने उसलाई हृदयाघात हुने सम्भावना एकदम धेरै हुन्छ। त्यस्ता व्यक्तिको एकाएक छाती दुख्यो भने हृदयाघात भयो की भनेर हामीले एकदमै शंका गर्नुपर्ने हुन्छ।

र अर्को कुरा हृदयाघातलाई मानिसले आकस्मिक रुपमा हार्ट अट्याक भयो भन्छन् तर वास्तवमा त्यो आकस्मिक रुपमा हुने रोग होइन।
यसको जग पहिलेदेखि नै बसिराख्या हुन्छ। जग भनेको के हो भन्दाखेरि मुटुको रक्तनलीभित्र कोलेस्ट्रोल जमेर त्यो साँघुरो हुने, त्यो साँघुरो हुने क्रमचाहिँ पहिलेदेखि नै भइराख्या हुन्छ।

जसलाई प्रेसर छ, डायबेटिज छ, उनीहरुको चाहिँ त्यो भित्र—भित्र जमिरहेको हुन्छ, जब त्यो जमेको एकदमै धेरै ६० प्रतिशत भन्दा बढी रक्तनली साँघुरो भएपछि मात्रै मान्छेलाई लक्षण देखिन्छ।

ठूलो तनाबको बेलामा, अनि धेरै चिल्लो, नुनिलो, हेभि खाना खाएको बेलामा अर्थात एकदमै धेरै परिश्रम गरेको बेलामा मानिसहरुलाई एकाएक हृदयाघात हुन सक्छ।अर्को कुरा पनि हामीले के बुझ्नु पर्छ भन्दाखेरि मान्छेलाई केही लक्षण छैन भनेपनि वर्ष—वर्षमा एकपल्ट स्वास्थ परीक्षण गर्नु, जाँच्न पर्छ भनेर हामीले भन्छौँ।

हृदयाघात हुने पूर्वाधारहरु बनिसकेको अवस्था हामीले जाँचेर थाहा पाउन सक्छौँ। रगतमा कोलेष्ट्रोल हेर्ने, सुगर हेर्ने, ब्लड प्रेसर नाप्ने गरेर।
मान्छेको उमेर कति छ, चुरोट खान्छ की खाँदैन, ब्लड प्रेसर कति छ, सुगर कति छ, कोलेष्ट्रोल कति छ, यो सबै कुरा हेरेर उसलाई हृदयाघात हुने खतरा कतिको छ जोखिम कतिको छ, पत्ता लगाउन सकिन्छ।

धेरै जोखिम भएको व्यक्ति छ भने उपचारमा राम्रोसँग बस्नु पर्यो। थोरै जोखिम भएको व्यक्ति हो भने ऊ सावधान त हुनैपर्‍यो। जीवनशैलीलाई सुधार्नुपर्‍यो र अहिले डराइहाल्न परेन, त्यसैले हृदयाघातको जोखिम पत्ता लगाउने तरिका छ, त्यो जोखिम पत्ता लगाउनको लागि मुटुरोग विशेषज्ञसँग गएर स्वास्थ्य परीक्षण गराउनु पर्छ।

भदौ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्