एसईईपछाडि संगीत र बाध्यवादनमा पनि छ उच्च शिक्षाको अवसर

काठमाडौँ – एसईई पास भएका नानीबाबुले संगीत सिक्न चाहनुभएको छ? त्यसका लागि संगीत विद्यालयको खोजीमा हुनुहुन्छ? त्यसो हो भने पिंगलास्थान गौशालामा रहेको नेपाल संगीत विद्यालय जान सक्नुहुनेछ। त्यहाँ प्लस टुका लागि संगीतमा नयाँ भर्ना खुलेको छ जुन यस वर्षदेखि नै सुरु गरिएको नेपाल संगीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीले जानकारी दिए।

उनका अनुसार पहिले ९ देखि १२ सम्म संगीतको प्राविधिक धारको संगीत पढाइ हुन्थ्याे। ‘९ देखि नै राख्दा अभिभावक पनि अलि हिच्किचाउने र विद्यार्थी पनि ९–१० सम्म सबै विषय पढेर ११–१२ मा गएर विषय छनोट गर्न इच्छा गर्ने’, उनले भने, ‘विद्यार्थीको चासोले गर्दा ९ देखि १२ भन्दा ११–१२ मा विद्यार्थी बढी भएकाले यस वर्षदेखि ११–१२ सुरु गर्‍यौँ।’

प्राविधिक धार भन्नाले नेपाल सरकारले शिक्षा मन्त्रालय शिक्षा विभागअन्तर्गत केही प्राविधिक विषय ९–१२ को करिकुलममा समावेश गरेको छ। यसमा विशुद्ध प्राविधिक विषय मात्र हुन्छ।

यसमा ‘एकेडेमिक डिग्री’ नभई टेक्निकल एग्रीकल्चर, संगीतलगायत विषय चलिरहेको उनले बताए।

सो ‘करिकुलम’ राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत रहेको उनले बताए। आफूहरूले ‘करिकुलम’मा चलचित्रलाई पनि जोडेर प्रतिवेदन तयार गरेको उनले बताए। ‘चलचित्रमा पनि करिकुलम बनाएर हामीले प्रतिवेदन पेस गरेका थियौँ’, उनले भने, ‘तर शिक्षामन्त्री नभएका कारणले पास हुन सकेन। बोर्ड परिषद्को अध्यक्ष शिक्षामन्त्री हुने रै’छ। त्यो वेटिङमा छ। हाम्रो योजना त चलचित्र, संगीत र नृत्यमा प्लस टुमा पढाइ गर्ने भन्ने थियो।’ शिक्षा मन्त्रीको नियुक्तिसँगै सो काम पनि हुने उनले बताए।

उनले संगीतमा रुचि राख्ने र यसैमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि संगीत क्षेत्रमा राम्रो भविष्य रहेको बताए।

हाल विद्यार्थी र अभिभावकले नै यस क्षेत्रमा चासो बढाइरहेको उनको भनाइ छ। यस्तै, संगीतमा २ वटा विषय ‘मेजर’ रहेको उनले जानकारी दिए। ‘गायन र वाद्यवादन मेजर विषय हुन्’, उनले भने, ‘संगीत भनेपछि धेरैले गायनमात्र बुझ्नुहुन्छ। यो वाद्यवादन भने अलि ओझेलमा पर्छ तर व्यावसायिक हिसाबले हेर्दा गायनमा सफल हुँदा भन्दा पनि यो वाद्यवादनमा आयआर्जन गर्न अलि सजिलो छ। वाद्यवादन बजाउनका लागि कन्सर्ट, रेकर्डिङ स्टुडियो, म्युजिक इन्स्ट्रुमेन्ट बजाउन थुप्रै रिसोर्सेस कन्ज्युम हुने भएकाले यसमा सफल हन्छ।’

यी कुराले गर्दा पनि अभिभावकलाई संगीततर्फ आकर्षित गर्न सकिने उनले बताए। विद्यार्थीको रुचिलाई अहिलेका अभिवाकले धेरै बुझ्ने गरेको पनि उनले बताए।

अहिले स्कुल ‘लेबल’ देखि नै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा नाच्न, गाउन, बजाउन सिकाइन्छ। त्यसका लागि स्कुलले छुट्टै शिक्षकको व्यवस्था गरेको उनले बताए। ‘अहिले काठमाडौँका महँगा नाम चलेका स्कुलले त्यहाँ पढिरहेका बच्चालाई अथवा उपत्यकाबाहिरका सामान्य स्कुलले पनि म्युजिकल इन्स्ट्रुमेल एक्स्ट्रा एक्टिभिटिज करिकुलममा डान्स टिचर, म्युजिक टिचर राखेका कारण बच्चाको इन्ट्रेस्ट भइरहेको हुन्छ’, उनले भने।

तविद्यार्थीका लागि ‘एकेडेमिक’ संस्था पर्याप्त नरहेको उनले बताए। काठमाडौँ उपत्यकामा औँलामा अटाउने संस्था भए पनि उपत्यकाबाहिर भने संगीत सिकाउने संस्था नरहेको उनले बताए।

उपत्यका बाहिरबाट पनि बाध्य भएर काठमाडौँमै संगीत सिक्न आउनुपर्ने बाध्यता रहेको उनले बताए। ‘ठ्याक्कै संगीतलाई लिड गर्न हामीसँग एकेडेमिक इन्स्टिच्युसन एकदमै कम्ती छन्’, उनले भने।

आफूहरूको उद्देश्य संगीतमा विशिष्ट क्षमता भएका र यसैमा भविष्य बनाउन चाहेकालाई सही मार्गदर्शन गर्ने उनले बताए।

‘हाम्रो उद्देश्य के हो भने संगीतमै करियर बनाउँछु र संगीतमा विशिष्ट क्षमता भएका विद्यार्थीलाई किन साइन्स र म्यानेजमेन्ट नै पढाउने, साइन्स म्यानेजमेन्ट पढेका सबै डाक्टर म्यानेजर भएका छैनन्। इन्जिनियर चार्टट एकाउन्टेन्ट भएका छैनन्’, उनले भने, ‘विद्यार्थीको इन्ट्रेस्टअनुसार हामीले पढाउन सक्यौँ भने साहित्य, कला, संगीत, सञ्चारमा राम्रो गर्न सक्छन्।’

आफूहरूले आमसञ्चार र मनोविज्ञान ‘अप्सनल’ राखेको र उनीहरूले पढ्न चाहे पढ्न सक्ने बताए।

‘अंग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषय हुन्। विद्यार्थीले पढ्नै पर्छ’, उनले भने, ‘गायन–वाद्यवादन, कलाको इतिहास र मनोविज्ञान अथवा आमसञ्चारमा एउटा पढ्नुपर्छ। तर, गायन र वाद्यवादन पढ्नै प र्‍यो। किनभने दुवै पढ्यो भने दुवै बुझ्न सजिलो हुन्छ। गाउने मान्छेले एक अर्कोलाई बुझ्नका लागि दुवै पढ्नै पर्छ।’

उक्त कोर्स दुई वर्षको हुने उनले बताए। विद्यार्थीले सो २ वर्षमा संगीतबारे धेरै कुरा सिक्ने उनले दाबी गरे। ‘अहिले जति संगीत क्षेत्रमा काम गरिरहनुभएको छ। म सबै त भन्दिनँ तर अधिकांशले व्यक्तिगत अनुभव र त्यसप्रतिको लगावले गर्दा सिकेर काम गरिरहनुभएको छ। एकेडेमिक डिग्री लिएर काम गरेका कम छन्’, उनले भने, ‘अहिले इन्डस्ट्रीमा भइरहेकाहरू १० औँ १५औँ वर्ष लगाएर सिकेको कुरा बच्चाहरूले एकेडिमिकल्ली लागेमा उनीहरूले यहाँ दुई वर्षमा सिक्छन्। एउटा गायन भयो अर्को वाद्यवादनबाहेक हामीले के गर्छौं भने आफ्नै रेकर्डिङ स्टुडियो भएकाले अरेन्जमेन्ट र रेकर्डिङको काम पनि सिकाउँछौँ।’

कलेजका प्रिन्सिपल शिशिर उप्रेती।

उनले थपे, ‘एउटा संगीतमा कम्प्लिट प्याकेज के हो त ? एउटा गीत बन्नका लागि के चाहिन्छ ? पहिले रचनाकारले गीत लेख्छ त्यसपछि संगीतकारले कम्पोज गर्छ, अनि अरेन्ज गरिन्छ, त्यसमा डमी साउन्ड हालिन्छ, त्यसलाई स्टुडियोमा रेकर्ड गराइन्छ, रेकर्डिङ गराइसकेपछि पोस्ट रेकर्डिङको काम मिक्सिङ हुन्छ, यो सबै प्रोसेस विद्यार्थीले वर्षमा सिक्छन्। एकेडेमिकमा नगरेकालाई यो गर्न वर्षौं लाग्छ। दुई वर्षमा विद्यार्थीले यति कुरा सिकेर जान्छ र ऊ व्यावसायिक रूपमा पनि प्रतिस्पर्धी बन्छ।’

दुई वर्षको कोर्सका लागि एक वर्षको करिब ३५ हजार रुपैयाँ लाग्ने उनले बताए। यसमा भर्ना, परीक्षा शुल्क नलाग्ने पनि उनले जानकारी दिए।

‘हामीले कोभिडका कारण भर्ना शुल्क लिएका छैनाैँ। परीक्षामा लाग्ने वार्षिक शुल्क पनि हटाएका छौँ’, उनले भने, ‘हामीले मासिक ३ हजार रुपैयाँ लिएर पढाउनेछाैँ। जति महिना चल्छ एकेडेमिक सेसनको मासिक ३ हजार लिन्छौँ। अहिले तत्कालका लागि अनलाइन कक्षा सञ्चालन गर्छौँ। पछि अवस्था हेरेर भौतिक कक्षा सञ्चालन गर्छौँ।’

सो शुल्क शिक्षक तथा वाद्यवादनको सामग्रीका लागि चाहिने भएकाले लिनुपरेको उनले बताए। अहिले अनलाइनबाटै भर्ना भइरहेको पनि उनले जानकारी दिए।

भदौ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्