कसरी बन्यो ‘प्लान्ट’ सुधाको सारथी?

काठमाडौँ – ललितपुरको झम्सिखेल चोकमा मास्क लगाएर बट्टाईका अन्डा बेच्दै थिइन्, ४५ वर्षीया सुधा मगर। ‘बट्टाईको अन्डासँगै फूल पनि बेच्छु’, पहिलेदेखि फूलको कारोबार गर्दै आएको उनले सुनाइन्।

चोकबाट औँलाले पर राखेको फूलको गाडी देखाउँदै सुधाले भनिन्, ‘गाडीमा इनडोर र आउटडोर प्लान्ट छन्। ती प्लान्ट रिजनेवल प्राइसमा बेच्ने गरेकी छु।’

यस्ता ‘प्लान्ट’ त जताततै पाइन्छन् यसमा चाहिँ के फरक छ र ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘धेरैलाई यस्तो लाग्न सक्छ तर यी ‘प्लान्ट’ आफैँले तयार पार्ने गरेकी छु।’ उनले प्लान्टका साथै गमला पनि तयार पार्ने गरेको बताइन् ।

उनले बनाएका गमला अरूभन्दा फरक हुने गरेको दाबी गरिन्। सुधाले स–साना ढुंगाबाट सुन्दर गमला तयार पार्ने गरेकी छन्। ती गमलामा ‘प्लान्ट’ सजाउँछिन्।

उनले गमलाका लागि सामग्री जुटाउन विभिन्न स्थानमा जाने गरेको बताइन्। उनी भन्छिन्, ‘गमला बनाउन स–साना ढुंगा खोज्छु, कहिले नदी तटमा त कहिले बाटोबाट जम्मा गर्छु।’ ढुंगा जम्मा गरेर सिमेन्टको सहायताले गमला तयार पार्ने गरेको उनले बताइन्।

सुधाले तयार गरेका गमलासँगै एक सय पचासदेखि २ हजार पाँच सय रुपैयाँसम्म प्लान्ट बिक्री हुने गर्छ। अधिकांश ग्राहक ललितपुरस्थित नख्खिपोटमा रहेको ‘इडन गार्डेन नेपाल’ मा आउने गरेको उनले सुनाइन्।

उनले प्लान्ट बेच्न थालेको पाँच वर्ष भयो। यही पेसाबाट उनको गुजारा चलेको छ। उनले अर्डरअनुसार गमला र प्लान्ट तयार पार्ने गरेको बताइन्।

घर, होटल, रेस्टुरेन्टका लागि पनि गमला र प्लान्ट चाहियो भन्दै ग्राहकको अर्डरअनुसार सामग्री तयार पारेको उनको अनुभव छ।

सुधाले उत्साहित हुँदै भनिन्, ‘भैंसेपाटीमा ३५ हजार रुपैयाँमा घरका लागि प्लान्ट र गमलाको अर्डर पाएकी थिएँ। उहाँहरूले मैले बनाएको सामग्री मन पराएर तारिफसमेत गर्नुभएको थियो।’

अहिले लकडाउका कारण अर्डर आउन छाडेको उनले बताइन्। अन्य व्यापार व्यवसायजस्तै कोरोना भाइरसका कारण उनको व्यवसाय पनि मारमा पर्‍यो। तैपनि, उनले आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन्। उनको गमला बनाउने, बिरुवा उमार्ने काम चलिरहेको छ।

भावुक हुँदै सुधाले भनिन्, ‘अरूका लागि केवल प्लान्ट होला तर मेरा लागि यो सबथोक हो। यसमा मेरो आत्मा जोडिएको छ। मेरो सुख दुःखको साथी हो यो।’

आफ्ना लागि व्यापार मात्र नभई बाँच्ने आधार भएको सुधा बताउँछिन्। ‘मलाई यी प्लान्टले नै नयाँ जीवन दिएको हो’, उनले भनिन्, ‘म ३ वर्ष डिप्रेसनमा जाँदा प्लान्ट नै मेरा साथी भए। म प्लान्टसँगै समय बिताउने, कुरा गर्ने गर्थें।’

आफन्तले साथ छाडे पनि ‘प्लान्ट’ ले साथ दिइरहेको उनी बताउँछिन्। उनका लागि प्लान्ट सारथि बनेको छ।

कसरी बन्यो ‘प्लान्ट’ सुधाको सारथी?

‘म १० महिनाको हुँदा बुबाले हामीलाई भारतको सिमला लैजानुभयो। त्यहीँ पढेँ, त्यहीँ हुर्कें’, सुधाले भनिन्। अहिले उनी ४५ वर्षकी भइन्।

आफू नेपाली भए पनि नेपाली भाषा र नेपालबारे केही जानकारी थिएन। आफूलाई हिन्दी र सिमलाको देहाती भाषा मात्र बोल्न आउने उनले बताइन्।

‘मेरा साथीहरूले (सिमलाका साथी) मलाई नेपालको बारेमा नराम्रो कुरा गरे’, उनले भनिन्, ‘उनीहरूले तेरो नेपालमा खान पाइँदैन रे, त्यसैले तिमी यहाँ आएको रे! सबै मागेर खान्छन्। गरिब छन्।’ यस्तो सुनेपछि आफूलाई धेरै नरमाइलो लागेको उनले बताइन्।

आमाबाबुले पनि उनलाई नेपालको बारेमा केही जानकारी गराएका रहेनछन्। उनले भनिन्, ‘साथीहरूको कुरा सुनेपछि नेपाल कस्तो होला? भन्ने उत्सुकता बढ्दै गयो। नेपालको बारेमा जानकारी लिने तीव्र इच्छा भयो।’

यसैबीच, उनको ट्रेकिङ गाइडसँग भेट भयो। जो नेपाली थिए। राम्रो अंग्रेजी बोल्ने र लवाइखवाइ पनि निकै राम्रो थियो। ट्रेकिङ गाइडको बोलीभाषा र लवाइखवाइले सुधा ती गाइडसँग नजिक भइन्। आफूलाई नेपाली पनि यति राम्रो हुन्छन् भन्ने विश्वास नलागेको उनी बताउँछिन्।

सुधाले अतीत सम्झिँदै भनिन्, ‘त्यो बेला उसको बोल्ने शैली, लवाइखवाइ निकै भिन्न देखेँ। राम्रो अंग्रेजी बोल्ने कस्तो स्मार्ट देखिने। सिमलाको देहाती एरिया भनेको त्यहाँको कन्जरभेटिभ सोच भएको थियो। तर, त्यो मान्छेलाई मैले अर्कै देखेँ। यता गाउँमा त्यस्तो हुँदैनथे।’

सुधा ट्रेकिङ गाइडको व्यक्तित्वबाट प्रभावित भइन्। विशेषगरी नेपाली पनि यति राम्रो भन्ने छापा उनको दिमागमा बस्यो र अझै नेपालबारे जान्ने उत्सुकता बढ्यो।

उनले नेपालका बारेमा ती गाइडसँग सोध्न थालिन्। र, साथीहरूले भनेका कुरा पनि सुनाइन्। तर, साथीहरूको भनाइ र ट्रेकिङ गाइडको भनाइमा उनले निकै ठूलो अन्तर पाइन्।

ट्रेनिङ्ग गाइडको भनाइ उद्धृत गर्दै सुधाले भनिन्, ‘होइन तिमीले सुनेको सबै गलत छ, त्यस्तो केही होइन। नेपाली कति एड्भान्स छन्। तिमी गाउँबाट आएका कारण तिम्रा साथीले त्यस्तो भनेका हुन्। तर, त्यस्तो केही होइन।’

सुधाले थपिन्, ‘उहाँसँग कुरा भएपछि मैले नेपाली र नेपालका बारेमा जे सुनेको थिएँ ठीक त्यसको उल्टो पाएँ। त्यसपछि हाम्रो राम्रो परिचय भयो। उसले नेपालका बारेमा धेरै कुरा सुनायो। म साह्रै जिज्ञासु भएँ।’

सुधा १८ वर्षको उमेरमा आफ्नो जिज्ञासा मेटाउन ट्रेकिङगाइडसँग नेपाल आइन्। सुरुमा पर्यटकीय नगरी पोखरा गइन्। त्यहाँको दृश्यले उनका साथीले भनेका हरेक कुरा गलत सावित गरिदिए।

सुधाले पहिलो पटक पोखरा देखेको दिन स्मरण गर्दै भनिन्, ‘ओ माई गड, मेरो कन्ट्री कस्तो राम्रो रहेछ। किन मेरा बुवाआमा इन्डिया गएका होलान्।’

सुधाले नेपाललाई स्वर्गसरह पाइन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशका नागरिक पनि त्यति नै सुन्दर लाग्यो उनलाई। उनले तिनै ट्रेकिङ गाइडसँग बिहे गरिन्।

उनको नेपाल–भारत आउने–जाने क्रम चलिरहेको थियो। दिन रमाइलोसँग बित्दै थिए। उनीहरूबीच छोरा–छोरी जन्मिए।
छोरी करिब दुई वर्ष र छोरा डेढ महिनाको हुँदा सुधाका श्रीमान् अमेरिका गए। त्यहाँ गएको केही समयसम्म त सुधालाई पैसा पठाउँदै थिए। त्यसपछि बोलचाल नै बन्द भयो। दुवैबीच सम्बन्ध चिसिँदै गयो।

‘श्रीमान्‌का परिवार माओवादीको डरले काठमाडौँ आए। त्यसपछि फेमिली इस्यु कति आए त्यसको लेखाजोखा नै छैन,’ उनले भनिन्, ‘उनीहरूले मलाई निकै टर्चर गरे, सहन नसकेर इन्डिया गएँ।’

सुधाले सिमलामै ‘टिचिङ’ गर्न थालिन्। यही पेसाबाट छोराछोरी पढाउने र खर्च जोहो गर्ने गर्थिन्।

उनले भनिन्, ‘नानीबाबु चण्डिगढमा पढिरहेकाले म पनि उतै गएँ र कल सेन्टरमा काम गर्न थालेँ। त्यहाँ पनि राम्रो व्यवस्था गरेको थिएँ। एक वर्ष नानीबाबुलाई होस्टलमा राखेँ ।आफ्नो राम्रो व्यवस्था भएपछि घर ल्याएँ।’

सुधाका श्रीमान्‌ले उनलाई लामो समयपछि ‘कल’ गरे। उनको बोलचाल फेरि सुरु भयो। ‘श्रीमान्ले अमेरिका आऊ या काठमाडौँ जाऊ त्यहीँ घर बनाउनुपर्छ भने,’ सुधाले भनिन्।

श्रीमान्‌को यस्तो कुराले सुधाको मनमा आशाको किरण पलायो। बालबच्चासहित सुधा काठमाडौँ आइन्। छोराछोरीलाई काठमाडौँकै राम्रो स्कुलमा भर्ना गरिन्। उनी क्रिस्चियनको एउटा संस्थामा काम गर्न थालिन्।

उनले फेरि पारिवारिक यातना खेप्नुपर्‍ यो। श्रीमान्‌को नाममा धापाखेलमा एक रोपनी ३ पैसा जमिन थियो।

‘जग्गा मेरो र बूढाको नाममा थियो। श्रीमान्‌को दिदीबहिनी र भिनाजुबीच जग्गा बेच्ने सल्लाह भएछ’, उनले भनिन्, ‘तर आफू यो कुराबाट बेखबर थिएँ। मसँग लालपुर्जा मगाए । विश्वाससाथ सिग्नेचर गरेर कुरियर गरेँ। फोटोकपी नन्दलाई दिएँ। उनीहरूले त जग्गाको बैना गरिसकेका रहेछन्। मलाई मालपोत कार्यालयमा बोलाए एक्कासि। गएँ । ७० लाखमा जग्गा बेचेछन्। मलाई पाँच लाख रुपैयाँ दिए।’

श्रीमान्‌ले गरेको विश्वासघातले सुधालाई निकै चोट दियो। सबै बिर्सेर अगाडि बढेकी सुधाले फेरि धोका खाइन्। सुधाले धोकाको चोट सहन नसकेर श्रीमान्‌सँग सम्बन्ध तोडिन्।

‘यो कुराले मलाई निकै नराम्रो लाग्यो। त्यसपछि मैले फोन गरेर भनेँ, तँ आजदेखि मेरो जिन्दगीबाट गइस्। म तँलाई आजाद गर्छु। तैँले मलाई यति ठूलो धोका दिइस्। म राम्रोसँग इन्डियामा बसेकै थिएँ। मलाई काठमाडौँ जाऊँ भन्दा कति धेरै प्रोमिस गरेका थियौ। केही पूरा गरेनौ। उल्टै मसँग चिटिङ गर्‍यौ हैन ? ठीक छ नो प्रोबलम । म तिमीलाई क्षमा गर्छु र मलाई पनि क्षमा देऊ। मैले पनि गल्ती गरेको हुँला’, उनले भनिन्।

त्यसपछि सुधा आफ्नो बाटो लागिन्। उनले प्राप्त गरेको ५ लाख रुपैयाँ र केही ऋण लिएर लमहीमा जग्गा किनिन्। त्यहाँ आफ्ना आमाबुबालाई राखिन्। र आफ्नो तरिकाले काम गरिरहेकी थिइन्।

यसैबीच, उनकी आमालाई पक्षघात भयो। जग्गा बन्धक राखेर साहुसँग १० लाख ऋण लिइन्, ६ महिनाको भाकामा। आमाको उपचार गरिन् तर निको भएन। साहुलाई प्रत्येक महिना ब्याज बुझाउने गरेको सुधाले सुनाइन्।

उनले भनिन्, ‘भाका नाघेका कारण साहुले जग्गा नै बेचिदियो। ‘मैले साहुसँग हारगुहार गरेँ। नबेच्नू भनेर। अरूसँग दुई लाख रुपैयाँ लोन निकालेर एड्भान्स ब्याज बुझाएँ, तैपनि साहुले मानेन। मेरो पछाडि कोही नभएको उसलाई थाहा थियो ऊ पोल्टिसियन थियो।’

साहुले घरजग्गा बेचेपछि सुधामा अर्को बज्रपात आइलाग्यो। उनलाई बाआमासँगै छोराछोरी पनि हेर्नु थियो। अन्य दिदीबहिनी भए पनि उनीहरूले सुधालाई सहयोग गरेनन्। श्रीमान्सँग हारगुहार गरिन् वास्तै गरेनन्।

कतैबाट सहयोग नपाएपछि घरभित्रै समय बिताउन थालिन्। दिन बित्दै गए। सुधा र उनका छोराछोरी घरबाट बाहिर निस्केनन्। ‘हामी ३ जना थियौँ। तर, एकअर्कासँग बोल्थेनौँ’, गला अवरुद्ध पार्दै सुधाले भनिन्, ‘के गरेँ, केही थाहा छैन, सम्झँदा पनि भक्कानो छुट्छ, सबै सपना लागिरा’छ।’

आफूलाई प्लान्ट त्यतिसाह्रो मन नपर्ने उनले बताइन्। भनिन्, ‘मलाई प्लान्ट त्यति मन नपर्ने। तर, मेरो घरभरि त्यो बेला प्लान्ट मात्र थिए। म प्लान्टसँग कुरा गर्थेँ। प्लान्टसँगै बस्ने रहेछु। मेरो डिप्रेसनको साथी बने प्लान्ट। प्लान्टकै कारण म जीवित रैछु।’ करिब ३ वर्ष आफू डिप्रेसनमा रहेको सुधाले बताइन्।

डिप्रेसनबाट कसरी बाहिर आइन् सुधा?

सुधाको एक जना विदेशी साथी थिए। उनले सुधाको छोरीलाई आफ्नो छोरी मानेका थिए। उनलाई भेट्न सुधाका साथी नेपाल आए। र, उनीलाई यस्तो हालतमा देखे।

त्यसपछि सुधाका साथीले घरको भाडा दुई लाख रुपैयाँ तिरे। त्यसपछि सुधा खुमलटारबाट अर्को ठाउँमा डेरा सरिन्। विस्तारै उनी डिप्रेसनबाट बाहिर आउन थालिन्।

‘सायद घरको भाडा तिर्न नसकेर डिप्रेसनमा गएको हुन सक्छु। साथीले रेन्ट तिरेपछि हामी अन्तै गयौँ’, सुधाले भनिन्। आफूमा पनि सुधार आउन थालेको उनले बताइन्।

सुधाका साथी फेरि नेपाल आए। र, सुधालाई भेटे। सुधाका साथीले आफूले नेपालमा कम्पनी खोलेको बताए। र, उनलाई पनि त्यहाँ जोडिन भने।

‘मेरो साथीले मेरो प्लान्ट देखेका थिए। उनले मलाई यसैलाई अगाडि बढाउन भने। मैले पनि उनको कम्पनीमा थप कुरा सिकेँ’, सुधाले भनिन्, ‘अरू युटुबमा हेरेर सिकेको हुँ।’ अहिले राम्रो भइरहेको उनले सुनाइन्।

‘थ्री ह्यान्ड फार्म’ मा सुधाले आफ्नो ‘प्लान्ट’ को काम सुरु गरिन्। जो उनका साथीको हो। फार्ममा सानो ठाउँमा उनी आफ्नो प्लान्टको काम गर्छिन् जसको भाडा महिनामा ४ हजार बुझाउँछिन्।

आफ्नो सहयोगका लागि सुधाले एक जना कर्मचारी राखेकी छन्। ती कर्मचारीलाई उनले काम पनि सिकाउने गर्छिन्।आफ्नो जीवनको करिब २७ वर्ष संर्घषमा बिते पनि अहिले राम्रो भइरहेको सुधाले बताइन्।

 

भदौ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्