श्रद्धाञ्जली

जेबी टुहुरेको नामै काफी थियो

वि.सं. २०४२ सालमा जनवादी गायक जे.बी. टुहुरे जब धरान आउने खबर आयो, महेन्द्र क्याम्पस परिसरमा अनौठो किसिमको माहोल बन्यो।

टुहुरेलाई सुन्नकै लागि प्रतीक्षा गरेर धेरै विद्यार्थी भेला भए। फरक भाषा, संस्कार र भूगोलबाट आएका विद्यार्थीहरुमा विचार भने समान थियो, जसले जे.बी. टुहुरेको अभियानलाई समर्थन गर्थ्यो ।

त्यहीँ जम्मा भएकामध्ये एक थिए, खगेन्द्र राई । हालका जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष, त्यो बेलाका हिमायती सांस्कृतिक समूहका सदस्य। उनीसँग गीतार बजाउने सिप थियो, त्यसैले मञ्चमा प्रस्तुति दिएका टुहुरेलाई हेर्ने समूहमा हैन, टुहुरेकै आडमा रहेर बाध्यबाधन गर्ने अवसर पाए उनले।

‘गजबको माहोल थियो त्यो, रेडियोमा सुनेको मान्छेलाई आँखा अगाडि देख्नु हाम्रो लागि ठूलो कुरा थियो,’ राई टुहुरेसँगको पहिलो भेट हौसिँदै सम्झन्छन्, ‘कस्तो मिठो आवाज, जति गाए पनि नथाक्ने। उहाँको प्रस्तुतिको शैलीले दर्शकलाई उहाँसँगै एकढिक्का बनाउँथ्यो ।’

त्यसपछिका दिनहरु राई र टुहुरे अगल नरही बिताए। टुहुरेको मेची महाकाली अभियानका हिस्सा राई पनि भए। टुहुरे गाउँदै हिँडे, राई बजाउँदै। जनसांस्कृतिक महासंघ नेपालसँगको आवद्धताले टुहुरेको अन्तिम क्षणसम्म पनि राईको साथ नटुट्ने वातावरण बनाइदियो। राईसँग टुहुरेको व्यक्तिगत जीवनका साथै साँस्कृतिक कार्यक्रम गर्दा, महासंघ सञ्चालन गर्दाखेरिका अनेकौँ सम्झनाहरु जकडिएको छ, जसलाई उनी मौका पाउँदा पोखिहाल्छन्।

राईका ती दिनहरु सम्झनामा मात्रै सीमित हुनेछ। नेपालका ७५ जिल्ला चिहार्दै गाउँगाउँ चेतनाको विगुल फुक्दै आम नागरिकको मनमा बसेका टुहुरे २०७८ साल भदौ १० गते यो संसारबाट बिदा भएका छन्, सदाका लागि।

मोरङ्गमा वि.सं. २००१ सालमा जन्मिएका टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो। संगीत क्षेत्रमा आएपछि उनले ‘उपनाम’ थपे। उनले राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत व्यवस्था, प्रजातन्त्र पुन बहाली अनि त्यसपछिको लोकतन्त्र र गणतन्त्रात्मक शासनसम्म खेप खेपमा भोगेका छन्।

उनलाई नजिकबाट जान्नेहरुका अनुसार सानैमा अभिभावक गुमाएका उनले पछि आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे। कति पढेको छ भन्दा ‘साढे ५’ भन्ने टुहुरेमा सामाजिक भेदभाव र विसंगति विरुद्ध बोल्नुपर्ने चेत भने प्रचूर थियो। किनकी उनको बालापन बितेको ठाउँमा पञ्चहरुले अनायासै नागरिकलाई खेद्थे, दुःख दिन्थे। ‘त्यो अन्यायलाई देख्दा खेरी टुहुरे र उनका साथीहरुले ‘धामीगीत’ र्‍यापजस्तो गरी गाउँथे रे’, राई भन्छन्, ‘आफै निमुखा भएर आफ्नै आवाज थियो। उनी जस्ता निमुखा धेरै थिए, त्यसैले उनको आवाज धेरैको आवाज बन्यो।’

त्यो बेलामा शासन व्यवस्था विरुद्ध बोल्नु भनेको सरकारको दुस्मन हुनु थियो, कडा व्यवस्थाका बावजुद उनी मेचीदेखि महाकालीसम्म गाउँगाउँ, ठाउँठाउँ डुले र समाजमा स्थापित कुरीति र कू–व्यवस्थाको बारेमा जनचेतना फैलाए। प्रहरी, प्रशासन आइपुग्नु भन्दा अगाडि नै कार्यक्रम सक्काए अनि भूमिगत भए।

कला जनचेतनाको सशक्त माध्यम हो भनेर स्थापित गर्ने गतिलो उदाहरण हुन् जे.बी. टुहुरे। उनले गाएका ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी बनेर’ गीत जनचेतनाको ‘स्लोगन’ जसरी स्थापित भयो। महिलालाई दास जसरी व्यवहार गर्ने त्यो समयमा उनले महिला समानताको आवाज उठाए।

यी बाहेकका उनले स्वर र संगीत भरेका गीतहरु विकल ज्ञवाली, वम देवान, विक्रम सब्बा, लब प्रधान, परशु धेनले लेखेका छन्। ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरु, शहीदको रात लगायतका गीत गाएका टुहुरे नागरिकका नाइके कलाकार भए। उनको गायकी, जसले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरुद्ध आवाज उठाउन प्ररित गर्थ्यो। त्यसैले उनी अजर अमर गायक बने।

साँझ ५ बजेतिर पशुपति आर्यघाट परिषरमा उनको अन्तिम विदाई हुँदै थियो। उनी अब रहेनन् भन्ने चिसो अनुभूति राई लगायत टुहुरेको संगतमा परेका धेरै व्यक्तित्वहरु पोख्दै थिए।

आधा शताब्दीदेखि नेपाली समाजमा सामाजिक विसंगति, शोषण, भेदभाव, महिलाहरुमाथि हुने उत्पीडनका विरुद्ध, अफ्ठेरोमा परेकाहरुको सहजताको लागि, सामाजिक जागरणको लागि उनले गीत गाए। उनको सक्रिय समयमा यसरी सामाजिक जागरण फैलाउनु सरकार विरोधी काम थियो। त्यसैले पञ्चायत शासकको आँखा छलीछली गाउँदै हिँड्ने साहस टुहुरेले गरेका थिए।

उनको नाम यति फैलिएको थियो कि विराटनगरमामा थोरै जुलुस निस्कियो भने जे.बी. र उनका साथी लव प्रधानलाई प्रहरीले समातेर लगिहाल्थ्यो। त्यो बेला विद्यार्थीलाई उद्धेलित बनाउने काम उनीहरुले गर्छन् भन्ने छाप परेको थियो। त्यो समयमा जे.बी. नेकपा मालेका समर्थक थिए।

पञ्चायतमा मञ्जुल, रामेश, लगायत जनवादी गायकहरुसँग मिलेर टोल–टोल चहार्ने टुहुरेलाई २०३६ सालको जनमत संग्रहले थोरै सहज अवस्था बनाइदिएको थियो। त्यसपछिका समयमा पनि देशका कुनाकाप्चामा उनले आफ्नो अभियान प्रहरीसँग भागाभाग गरी पूरा गरिछाडे। मिल्दा आफूजस्तै साथीहरुसँग नमिल्दा जो भेटिन्छ उहीलाई लिएर उनले गाउँगाउँमा चेतना फैलाइरहे।

खगेन्द्र राईलाई थाहा हुँदा टुहुरे साथीभाइ जम्मा हुन नपाउँदा आफू गाउँथे, छोरालाई बजाउन लगाउँथे र छोरीहरुलाई नाच्न लगाउँथे। श्रीमतीले श्रीमानको अभियानलाई कहिले पनि रोकिनन्।

संगीतको साधक टुहुरेको योगदानलाई अबको पिँढीसम्म जिउँदो राख्ने चुनौती छ । यसले पिरोल्छ राई र उनका सहकर्मीहरुलाई । उनीहरु टुहुरेको योगदानलाई माटोमा मिल्न दिन चाहदैनन्। किनकि टुहुरेले आफ्नो संगतमा रहने सबैलाई कहिले पनि हार मान्न सिकाएका छैनन् ।

जबसम्म उनले आँटेको पुग्दैनथ्यो उनी प्रयास गरिरहन्थे। उनका गीत र प्रस्तुतिमा रगत उमाल्ने, क्रान्तिका शक्तिहरु समावेश हुन्थे। तर उनको स्वाभाव नौनी जस्तो। टुहुरेसँग लामो समय संगत गरेका संगीतकर्मी आभास भन्छन्, ‘जनवादी गायनको सुरुवाती समयका गायक हुन्, जसले अन्तिम समयसम्म त्यही काम गरे। आवाजबिहीनहरुको लागि आवाज उठाउने उनको स्वर, असमानताको लागि उनको स्वर कहिले सानो भएन। उनी जनताको प्रिय कलाकार थिए। मिठो बोल्ने र आफ्नो विचारमा स्पष्ट मान्छे हो उहाँ। मलाई कहिले कुनै स्वाभव खड्केन।’

विचारप्रधान गीत गाउने टुहुरे नेपालको व्यवस्था परिवर्तनमा पनि खुशी थिए। कम्युनिष्ट सोच धारामा अभिव्यक्ति राख्ने टुहुरेलाई पछिल्लो समय भएका राजनीतिक परिवर्तनले भने बिथोलेको थियो।

कम्युनिष्ट जुट्नुको शक्ति र फुट्दाको प्रभाव पहिला पनि देखेका उनलाई दुःख गरेर ल्याएको लोकतन्त्र, गणतन्त्रको चिन्ता थियो। आफ्नो ठाउँबाट गर्न सकिने हर प्रयास उनले गरिनैरहे।

मुलुकमा दलहरु माथि लगाईएको प्रतिबन्धका बेलादेखि जनवादी गीत गाउँदै आएका टुहुरे तत्कालीन संविधानसभाका सदस्य पनि थिए। उनलाई सांस्कृतिक संस्थानको अध्यक्षका रुपमा पनि नियुक्त गरिएको थियो। उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी सांस्कृतिक संघका संरक्षक पनि थिए।

उनी अब कसैको अभिभाकत्व गर्ने छैनन्, आफूले उठाएको जनजागरणको भारी जीवनसँगै बिसाएर गएका छन्। उनको अन्तिम क्षणमा धेरै आम शुभचिन्तकसहित नेकपा एमालेका नेता तथा पूर्व मन्त्री प्रदीप ज्ञावली, पूर्व शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, वर्षमान पुन, वरिष्ठ नेता माधव कुमार नेपाल लगायत श्रद्धाञ्जलिका हात हल्लाउन पुगेका थिए ।

गाउँगाउँ डुली झक्झकाउँदै हिड्ने टुहुरे अब सम्झनामा नै सीमित रहिरहेनछन्।

संगीतकर्मी आभासले उनको चीर–यात्रापछि भने, ‘विचारको अनुभूतिलाई बुलन्द गर्ने राष्ट्रव्यापी रुपमा चिनिएको आवाज आजदेखि अवरुद्ध भएको छ।’

हार्दिक श्रद्धाञ्जलि !!!

तस्बिर साैजन्य : खगेन्द्र राई

भदौ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्