अफगानिस्तान संकट

काबुल विमानस्थलमा फेरि आतंककारी आक्रमणको सम्भावना प्रवलः अमेरिका

काबुलबाट उद्धारको क्रम अन्तिम चरणमा पुगेको छ । यो विमानमा रहेकाहरु इटाली पुगेका छन् र इटाली जाने यो अन्तिम विमान थियो । तस्बिर : रोयटर्स

काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएका छन् ।

आफ्ना सैन्य कमाण्डहरुले आइतबारसम्ममा फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन् ।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ ।

तर बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन् ।

गएको बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको थियो ।

जवाफमा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।

खोरसान प्रान्तमा आइएस–के अखडालाई निशाना बनाइएको आक्रमणमा सो समूहका दुई उच्च सदस्य मारिएको अमेरिकाले बताएको छ ।

मारिनेहरु काबुल विमास्थल आक्रमणका योजनाकार रहेको अमेरिकी सैनिकको भनाई छ ।

बाइडेनले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सो हवाई आक्रमण अन्तिम होइन । हामी क्रुर आक्रमणमा संलग्नहरुको खोजी गर्ने छौँ र उनीहरुलाई त्यसको परिणाम भोग्न बाध्य पार्ने छौँ।’

गएको बिहीबार भएको आक्रमणमा ज्यान गुमाउने १३ मध्ये एक अमेरिकी सैनिक, निकोल गी । २३ वर्षकी उनी काबुल विमानस्थलमा उद्धार अभियानमा खटिएकी थिइन् । तस्बिर : अमेरिकी रक्षा मन्त्रालय

अफगानिस्तानमा रहेका मध्ये आइएस–के सबैभन्दा अतिवादी र हिंस्रक बिद्रोही समूह हो । सो समूहको तालिबानसँग गम्भीर मतभेद रहेको छ । अमेरिकासँग भएको शान्ति सम्झौताका लागि तालिबानले युद्ध मैदान छोडेको आरोप आइएस–के को छ ।

तालिबानले अमेरिकाले गरेको हावाई आक्रमणको निन्दा गरेको छ । समाचार संस्था रोयटर्ससँग तालिबानका एक प्रवक्ताले अमेरिकाले हवाई आक्रमण पूर्व आफूहरुसँग सल्लाह लिनु पर्नेमा नलिएको बताएका छन् ।

अमेरिकाले काबुल विमानस्थलबाट आफ्ना सैनिक फिर्ता पठाउने क्रम सुरु गरेको छ । अहिले विमानस्थलमा अमेरिकी सैनिकको संख्या चार हजारमा झरेको छ । गएको हप्ता यो संख्या पाँच हजार ८०० थियो ।

तालिबानले विमानस्थल आसपासमा थप चेकजाँच गरिरहेका छन् । उनीहरुले अधिकांश अफगानीहरुलाई विमानस्थल जान नदिएको समाचार संस्था एपीले जनाएको छ ।

अगस्ट १५ मा अफगानिस्तान तालिबानको नियन्त्रणमा गएयता काबुल विमानस्थलबाट विदेशी तथा अफगानी गरि एक लाख १० हजार भन्दा धेरै मानिसको उद्धार भएको छ ।

भदौ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्