तराईमा अत्यधिक वर्षा, वाणगंगामा तीन दिनमा ५३३.४ मिलिमिटर पर्‍यो पानी

लगातारको वर्षाले बुटवल क्षेत्र पनि प्रभावित भएको छ।

काठमाडौँ – पछिल्लो केही दिनयता देशभर नै पानी पर्नेक्रम जारी छ । अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम पानी परिरहेको छ, तर तराईका केही क्षेत्रमा भने अत्यधिक वर्षा भएको देखिएको छ ।

पूर्वदेखि पश्चिमसम्मका केही तराई क्षेत्रमा अत्यधिक वर्षा भएको र केही स्थानमा छोटो समयमा धेरै पानी परेको देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन दिनको वर्षाको तथ्यांक हेर्दा नवलपरासी, झापा र कपिलवस्तुसहितका क्षेत्रमा अत्यधिक वर्षा भएको विभागले जनाएको छ।

पछिल्लो तीन दिनमा कपिलवस्तुको वाणगंगामा सबैभन्दा धेरै ५३३.४ मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद डा. कडेलले जानकारी दिइन् । अगस्ट २६ को बिहानदेखि आइतबार बिहानसम्ममा नवलपरासीको बतासामा ४७६.८, सेमरीमा ४६०.८, परासीमा ३६२, डण्डामा ३२०.६, सिन्धुलीको सिन्धुली माढीमा ३०७, रुपन्देहीको सूर्यपुरामा २९९, भैरहवामा २७७ तथा नवलपरासीको दुम्कौलीमा २६८.८ मिलिमिटर पानी परेको छ।

यस्तै पछिल्लो एक हप्ता (२२ अगस्टको बिहान ८ः४५ देखि २९ अगस्ट बिहान ८ः४५ सम्म) सबैभन्दा धेरै पोखरा विमानस्थलको एडब्लुओएस केन्द्रमा ६२५.६ मिलिमिटर वर्षा भएको छ । यस्तै पोखरा विमानस्थलको अर्को केन्द्रमा ५७०.५, कपिलवस्तुको वाणगंगामा ५६२.२, नवलपरासकिो सेमरीमा ५२९.८, नवलपुरको डण्डामा ५१०.२ तथा नवलपरासीको परासीमा ४८० मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नवलपुरको दुम्कौलीमा ४७८.८, रुपन्देहीको भैरहवामा ४५४.८ तथा सिन्धुलीको सिन्धुली माढीमा ४२९.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

विभागले हरेक दिन २४ घण्टाको मौसमी गतिविधिको अनुगमन तथ्यांकसहित सार्वजनिक गर्ने गरेको छ । सो तथ्यांक अनुसार शनिबार बिहान ८ः४५ देखि आइतबार बिहान ८ः४५ सम्मको अवधिमा कपिलवस्तुको वाणगङ्गा क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । उक्त अवधिमा १० मिनेटको समयमा वाणगंगामा १५ मिलिलिटर वर्षा रेकर्ड गरिएको थियो। १ मिनेटमा १ मिलिलिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिने जल तथा मौसम विभाग अन्तर्गतको हावापानी विश्लेषण विभागकी सिनियर डिभिजनल मेटेरियोलोजिष्ट डा. इन्दिरा कडेलले जानकारी दिइन् ।

विभागका देशभर रहेका २३४ मध्ये २०५ केन्द्रमा वर्षा भएको छ । १०० मिलिलिटर भन्दा बढी वर्षा भएका दुई केन्द्रहरु पनि कपिलवस्तु आसपासका क्षेत्र नै रहेका छन् ।

यअसघि शुक्रबार बिहान ८ः४५ देखि शनिबार बिहान ८ः४५ को अवधिमा झापाको केचना क्षेत्रमा अत्यधिक वर्षा मापन भएको थियो । केचना केन्द्रमा सो अवधिमा १६५.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । सो अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएका केन्द्रहरु पनि झापा आसपासकै हुन् ।

यो वर्ष २४ घण्टाको अवधिमा अत्यधिक (अहिलेसम्म) वर्षा मापन नवलपरासी पूर्वमा भएको छ । गएको बिहीबार बिहान ८ः४५ देखि शुक्रबार बिहान ८ः४५ सम्मको अवधिमा नवलपरासी पूर्वको बतासा केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो वर्ष मापन भएको मध्ये अहिलेसम्मकै उच्च हो ।

त्यसदिन नवलपरासी पश्चिमको सेमरी केन्द्रमा ३८१, कपिलवस्तुको वाणगङ्गा केन्द्रमा ३५०.६, नवलपरासी पश्चिमको परासी केन्द्रमा ३०२, सिन्धुलीको सिन्धुली माढी केन्द्रमा २७५.२, नवपरासी पश्चिमको डण्डामा २७०.६, नवलपरासी पश्चिमको दुम्कौली क्षेत्रमा २२२, रुपन्देहीको भैरहवामा २२१.२ तथा रुपन्देहीको सूर्यपुरामा २०१.४ मिलिमिटर पानी परेको थियो ।

यस्तै धनुषाको चिसापानी बजारमा १९९.४, रुपन्देहीको भैरहवा विमानस्थलमा १६५.२, नवलपरासी पश्चिमको डेढ गाउँमा १६२.६ तथा चितवनको देवघाटमा १५५.५ मिलिमिटर पानी गरेको थियो ।

सो तथ्यांक अनुसार शनिबार बिहान ८ः४५ देखि आइतबार बिहान ८ः४५ सम्मको अवधिमा कपिलवस्तुको वाणगङ्गा क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । उक्त अवधिमा १० मिनेटको समयमा वाणगंगामा १५ मिलिलिटर वर्षा रेकर्ड गरिएको थियो। १ मिनेटमा १ मिलिलिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिने जल तथा मौसम विभाग अन्तर्गतको हावापानी विश्लेषण विभागकी सिनियर डिभिजनल मेटेरियोलोजिष्ट डा. इन्दिरा कडेलले जानकारी दिइन् । ।

यसरी विभागको अतथ्यांक हेर्दा अहिले गएको बिहीबारदेखि जारी झरीमा सबैभन्दा धेरै तराईका क्षेत्रमा पानी परेको छ । अहिले मनसुनी प्रणाली दक्षिणबाट उत्तर तिर सर्ने क्रममा रहेको तथा मनसुनी न्यून चापीय रेखा तराई भू–भाग नजिक रहेकाले तराईका क्षेत्रमा बढी वर्षा भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिएका छन् ।

छोटो समयमा एकैठाउँमा ठूलो पानी पर्दा हुने सम्भावित जोखिमको दायरा केही घण्टाको अन्तरालमा हुने भारी वर्षाको भन्दा फराकिलो हुन्छ । तराई क्षेत्रमा एकैछिनमा धेरै पानी पर्दा अप्रत्यासित रुपमा डुबान हुन सक्छ । यस्तै पहाडी क्षेत्रमा गेग्रानसहितको भलबाढी तथा पहिरोको जोखिम पनि निश्चित क्षेत्र केन्द्रित भएर छोटो अवधिमा पर्ने पानीका कारण हुने गर्छ ।

गएको बिहीबारदेखि शुक्रबार बिहानसम्मको अवधिमा बढी वर्षा भएको नवलपरासी पूर्वको बतासा केन्द्रमा १० मिनेटमा २१ मिलिमिटरसम्म वर्षा मापन भएको थियो । यस्ता एकैठाउँमा छोटो अवधिमा धेरै पानी पर्ने अर्थात आरिघोप्टे प्रकृतिका वर्षाका घटनाहरु पछिल्लो समय बढी देखिन थालेका छन् । यसले मौसमजन्य विपदको जोखिम थप बढाउने विज्ञहरुले बताउने गरेका छन्।

पछिल्लो समयमा देखिएका निश्चित ठाउँमा छोटो अवधिमा अति भारी वर्षा हुने घटनाहरुको विस्तृत कारण थाहा पाउन अध्ययनको खाँचो छ । तर विज्ञहरु यसलाई विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण देखिएको जलवायु परिवर्तनको असरका रुपमा पनि लिन्छ।

हालै सर्वाजनिक भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था आइपिसिसीको प्रतिवेदनमा उपलब्ध वैज्ञानिक प्रमाणहरुका आधारमा पछिल्लो समय देखिएका अत्यधिक वर्षा तथा अत्यधिक गर्मीका घटनाहरुमा मानवीय कारणले भएको जलवायु परिवर्तन कारक रहेको देखिएको उल्लेख छ।

नेपालका पछिल्ला घटनाहरुलाई पनि जलवायु परिवर्तनको दृष्टिबाट हेरेर अध्ययन गरिनु पर्ने र सो अनुसार काम गरिनु पर्नेमा जलवायु वैज्ञानिकहरुले दिने गरेका छन् ।

भदौ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्