कमेडी च्याम्पियन – बिक्की अग्रवालको कमेडी सन्तोष पन्तले किन बुझेनन्?

शनिबार राति प्रसारण भएको हाँस्यव्यंग्य कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन–२’ यतिखेर चर्चा अनि विवादको घेरामा छ।

दोस्रो सिजनको अन्तिम ३ छनौट हुने ३४ औँ अध्यायमा सिक्किमबाट प्रतियोगितामा सहभागी भएका बिक्की अग्रवालको प्रस्तुति अनि निर्णायक सन्तोष पन्तको टिप्पणी विवादको विषयवस्तु हो।

युट्युबमा ट्रेन्डिङ १ मा पुगेको यो अध्यायमा आएका धेरै जसो कमेन्टमा बिक्की अग्रवालको समर्थन र निर्णायक सन्तोष पन्तको टिप्पणीको आलोचना भएको छ।

अपलोड भएदेखि समाचार बनाउँदासम्म यो अध्यायलाई ११ लाख भन्दा धेरैपल्ट हेरिएको छ भने १० हजार भन्दा धेरै कमेन्टहरु आइसकेका छन्। धेरै कमेन्टमा दर्शकले बिक्की अग्रवालको समर्थन र पन्तको आलोचना गरेका छन्।

कमेडी च्याम्पियनको यो अध्यायमा यस्ता प्रतिक्रिया किन आए? पहिला घटनाबारे बुझौँ,

३४ औँ अध्याय।

कार्यक्रम प्रस्तोता मेक्सम गौडेलले भन्छन्, ‘अब जो कमेडियन हाम्रो स्टेजमा उहाँले प्रस्तुत गर्न लागेको विषयवस्तु चाहिँ कमेडी च्याम्पियनको सेटमा पहिलोपल्ट हो। सामान्यतया: कुनै पनि कमेडियन स्टेजमा आएर बोलेरै हँसाउनु हुन्छ। तर आज जो कमेडिन यो स्टेजमा आएर हँसाउँदै हुनुहुन्छ, उहाँ नबोलेरै हँसाउँदै हुनुहुन्छ। यसलाई हामी ‘पेन्टोमाइम’ पनि भन्छौँ।’

प्रस्तोताले पुन दोहोर्‍याउँछन्, ‘यो हाम्रो लागि नयाँ अनुभव हुन्छ, कमेडी च्याम्पियनको सेटमा अहिलेसम्म यस्तो भएकै थिएन।’

कमेडियनको नाम बोलाउनु अगाडि कार्यक्र प्रस्तोता रिमा विश्वकर्माले सोध्छिन्, ‘कमेडी च्याम्पियन सिजन २ को सेटमा नयाँनयाँ प्रयोग गर्ने को हो त ?’

जवाफ निर्णायक (जज) हरु मध्ये ऋचा शर्मा र वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले दिन्छन्, ‘बिक्की बाहेक को होला र !’

प्रस्तोता रिमाले आवाजमा दम लगाएर बिक्कीको नाम अगाडि उपनाम पनि थपिदिन्छिन्, ‘विकिपिडिया अफ कमेडी च्याम्पियन सिजन २!’

त्यसपछि स्क्रिनमा आइपुग्छन्, बिक्की अग्रवाल आफ्नो प्रस्तुतिको साथमा।

साढे ६ मिनेटको उनको प्रस्तुतिको बीचबीचमा मनोज गजुरेल र ऋचा शर्मा उत्साही भावमा कुनैकुनै बेला प्रतिक्रिया जनाइरहेका हुन्छन्, छेउछेउमा बसेका निर्णायक अग्रज कलाकार सन्तोष पन्त र प्रदीप भट्टराईको भाव शून्य मुद्रा प्रस्तुति अवधिभर रहिरहन्छ। प्रस्तुति सकिएपछि पन्त बाहेकका अरु जजहरुले उठेर प्रस्तुतिको सम्मान गर्छन्।

प्रस्तोता विश्कर्माले अग्रवालले गरेको प्रयोगको लागि पुन: ताली बजाइदिन अनुरोध गर्छिन्। माहोल सम्मानपूर्ण वातावरणमा बगिरहेको हुन्छ।

त्यसपछि प्रस्तोता बिक्कीले आफूले फाइनलमा पुग्ने भन्दा पनि नयाँ के प्रस्तुत गर्न सक्छु भन्नेमा जोड दिएको बताउँछन्। उनले भने, ‘मैले अहिलेसम्म नभएको के प्रस्तुति दिन सक्छु भनेर तयारी गरेको थिएँ।’

त्यसपछि बिक्कीले आफूले गरेको ‘एक्ट’ को बारेमा प्रस्टाउँछन्, ‘प्यान्टोमाइम नबोलिकन गर्ने प्रस्तुति हो। यो कमेडीको एउटा फर्म हो, मलाई कसरी यसलाई प्रयोग गर्ने भन्ने मात्रै थियो, मेरो दिमागमा। त्यसैले मलाई केही थाहा छैन कस्तो भयो।’

रिमाले थप्छिन्, ‘तपाईँको मेहनत र सिर्जनशीलताको जजहरु र दर्शकबाट उचित मूल्याकंन हुनेछ भन्नेमा म पक्का छु।’

त्यसपछि फेरि बज्छ तालीको गडगडाहट।

जजहरुको कमेन्ट

पहिला प्रदीप भट्टराई,

‘बिक्कीले ‘माइम’ गर्दैछ भन्ने थाहा पाउँदा डर लागेको थियो। यो अवस्थामा आएर यो रिक्स लिनु जायज छ ? मैले कति चलचित्र बन्नुपर्ने समयभन्दा अगाडि बन्दा पाउनुपर्ने अडियन्स नपाएको, लगानी नउठाएको, निर्माताले कलालाई माया गर्ने दर्शकको लागि भन्दै बनाएको चलचित्र डुबेको देखेको छु,’ उनले भने, ‘मलाई तपाईँमाथि अहिले पनि डर छ तर तपाईको आँटको सम्मान गर्छु। तपाईँले कमेडी च्याम्पियनको मञ्चको पूर्ण उपयोग गर्नुभयो।’

उनले बिक्कीलाई यो प्रस्तुतिले खाडलमा पनि पुर्‍याउन सक्ने भन्दै थपे, ‘तपाईँको प्रस्तुति कमेडीको एक जनरा भएपनि यसको कमर्सियल भ्यालु विश्वमा नै अझ नेपाल जस्तो देशमा कति छ भन्ने कुरा रिजल्टले देखाउला तर तपाईको आँटलाई सलाम छ।’

भट्टराईले बिक्कीले कमेडी च्याम्पियनको स्टेजमा नयाँ मेनु पस्केको र दर्शकको थाहा नभएपनि आफूलाई निकै स्वादिलो लागेको बताउँदै शुभकामना दिए।

ऋचा शर्माले आफू भावनात्मक भएको जनाइन्।

उनले माइम प्रस्तुतिसँग आफू साक्षात्कार हुँदाको अनुभव सुनाइन्। उनले यूरोपमा अभिनय पढ्न जाँदा पढेकी रहिछन्। उनले थाहा पाएको माइम भावनात्मक प्रस्तुति थियो, जसमा हात र शरीर अनि अनुहारको हाउभाउले अभिव्यक्ति प्रकट गर्छ। बिक्कीले स्क्रिनमा त्यस्तै गरे।

प्रदीप भट्टराईको विचारमा सहमति जनाउँदै उनले भनिन्, ‘नेपालमा यो व्यावसायिक छैन। यसको नतिजा जे पनि हुन सक्छ।’

उनले पनि बिक्कीको हाँस्य व्यंग्यमा प्रयोगहरु गर्ने शिल्पको व्याख्या गरिन् र आउने धेरै सिजनको लागि उदाहरण हुने बताइन्। उनले बिक्कीका लागि लागि भोट अपिल गरिन्।

‘जतिले माइम बुझ्नु भएको, कलालाई माया गर्ने, थिएटरको यो पाटो थाहा हुनेले बिक्कीलाई भोट गरेर टप ३ मा पुर्‍याउन मद्दत गर्नका लागि अनुरोध गर्छु।’

मनोज

गजुरेलले बिक्कीको प्रस्तुतिमा कुनै पनि असन्तुष्टि जनाएनन्।

‘हाँस्य व्यंग्यमा नयाँ चाहियो भन्छौँ तर गर्छौँ त्यही क्यारिकेचर, स्ट्याण्डअप, व्यंग्य अनि रोस्ट। तर संसारमा चलेको यो माइम एक्टिङ तपाईँले यो प्लेटफर्ममा प्रयोग गर्नुभएको छ। नयाँ टेस्ट भएकाले के के जस्तो लागे पनि तपाईको पछिल्ला प्रस्तुति र प्रयोगहरुले पनि तपाईलाई यथेष्ट भोट आउनुपर्छ,’ गजुरेलले भने, ‘मैले थुप्रै विदेशीले यो प्रयोग गरेको देखेको छु, जो आफू रोइरहेका हुन्छन्, अरुलाई हँसाईरहेका हुन्छन्। यो हामीले गरिरहने कमेडीभन्दा उच्च कोटिको कमेडी हो। तपाईँ टप ३ मा पुग्नुपर्छ।’

त्यसपछि पालो आउँछ, सन्तोष पन्तको।

उनले नयाँ प्रयोगका लागि बधाई दिन्छन्। त्यसपछि उनलाई बिक्कीको प्रस्तुति मन नपरेका कारणहरु खुलाउँछन्।

‘हरेक ठाउँको आफ्नो आफ्नो स्वाद हुन्छ, हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइल एकदमै फरक छ। उनीहरु साना साना कुखुराले पिच्च गर्‍यो भने पनि हाँस्छन् तर हाम्रोमा हाँस्दैनन् ,’ उनी प्रस्ट्याउन थाल्छन्, ‘जसरी हाम्रो खानाको स्वादको छुट्टै पहिचान छ नि, दाल भात, तरकारी, गुन्द्रुक, गोलभेँडाको अचार। उनीहरुको फरक छ। उनीहरुसँग हाम्रो कमेडीको स्वाद मिल्दैन।’

पन्तले यो प्रयोग बिक्कीको लागि केही गाह्रो भए पनि प्रयोग गरेकोमा बधाई दिए।

‘हाम्रो समाजले यो कुरालाई त्यत्ति बुझ्दैनन्, मैले त बुझिन!’ सानो स्वरमा कड्किए, ‘कमेडीको सेटमा फिलोसफी भयो। तिमीले प्रस्तुति त देखायौ तर हाँसो उठेन। कोही हाँसे त यहाँ?’

उनि माइमबारे जानकार भएको प्रसंग जोड्छन्, ‘कमल हसनले एउटा चलचित्रमा यो प्रयोग गरेका थिए, राम्रो थियो त्यो। तर मेरो विचारमा हाम्रो आफ्नै टेस्ट छ त्यसैलाई बढी प्रयोग गर।’

त्यसपछि माहोल थोरै भावनात्मक हुन्छ,

बिक्की सन्तोष पन्तको टिप्पणीपछि प्रतिक्रिया दिन्छन्।

उनले अघिल्लो दिन रातिसम्म पनि स्ट्याण्डअप गर्ने कि प्यान्टोमाइम गर्ने भन्नेमा दुविधा भइरहेको र अन्त्यमा माइम गर्ने निर्णय गरेको सुनाउँछन्। यतिभन्दा उनलाई अफ्ठेरो परेको भिडियो हेर्दै गर्दा बुझ्न सकिन्छ। उनले सम्भावित नतिजा आँकलन गर्छन् र भन्छन्, ‘चाहे जे सुकै होस् मलाई अलिकति पनि पछुतो छैन।’

अतिथिका रुपमा पुगेका कलाकार किरण केसीले उनको तारिफ गर्छन् र अनुभव सुनाउँछन्। ‘२०३२ सालमा नवयुग भन्ने गीतिनाटकमा ४५ मिनेटसम्म माइम गरेको थिए, दर्शकले मनपराउनु भएन तर त्यो बेलाको गोरखापत्रले आधा पेज मेरो प्रस्तुतिको बारेमा छापेको थियो।’

केसीले केही प्रस्तुति र प्रयोग ऐतिहासिक हुने बताए। अन्त्यमा उनले थपे, ‘हँसाउनेले कहिलेकाहिँ रुवाउँछ पनि।’

यो क्रम अझै रोकिँदैन,

निर्णायक प्रदीप बिक्कीको विचलन अनुमान गर्छन् र त्यसलाई रोक्न सान्त्वना मिश्रित आवाजमा भन्छन्, ‘क्रिकेटर पारस खड्का व्याटिङ राम्रो नभएको दिन बलिङ चल्दिरा हुन्छ। बिक्कीले व्याटिङ नगरेपनि विपक्षीको विकेट बलिङबाट मज्जाले झार्दिराको छ।’

प्रदीप भट्टराई बोल्दाबोल्दै बिक्की अग्रवाल स्टेज पछाडि छिर्छन्। एकछिनपछि त्यहाँ बिक्की भावुक भएको भिडियो देखिन्छ । निर्णायकहरु मनोज गजुरेल र ऋचा घिमिरे उनलाई सम्झाउन पुग्छन्। त्यसपछि कार्यक्रममा ब्रेक।

सन्तोस पन्तले बुझेनन् ‘पेन्टोमाइम’

नेपाली कलाकारिता क्षेत्रका अग्रज कलाकार हुन् सन्तोष पन्त। अहिले २५ वर्ष कटेका युवापुस्ता उनको चर्चित हाँस्य टेलिचलचित्र ‘हिजो आजका कुरा’ हरेर हुर्किएका हुन्। उमेरले ६० कटेका पन्त कमेडी च्याम्पियनको पहिलो र दोस्रो दुवै सिजनमा निर्णायक बनेका छन्। तर ३४ औँ अध्यायमा बिक्की अग्रवालमाथि गरेको टिप्पणी दर्शकलाई बिझायो।

निर्णायकको कुर्सीमा बसेर पन्तले बिक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ बुझिन भन्दै प्रतिक्रिया दिए। उनले ‘पेन्टोमाइम एक्ट’ लाई ‘बलिउड अभिनेता ‘कमल हसन’ ले एउटा चलचित्रमा निभाएको भूमिकामा’ खुम्चाइदिए।

त्यसपछि उनले नेपाली हाँस्य व्यंग्य कलालाई भौगोलिक रुपमा सीमित गरिदिए, नेपाली खानाको स्वादको उदाहरण दिएर। ‘जसरी हाम्रो खानाको स्वादको छुट्टै पहिचान छ नि, दाल भात, तरकारी, गुन्द्रुक, गोलभेडाको अचार। उनीहरुको फरक छ। उनीहरुसँग हाम्रो कमेडीको स्वाद मिल्दैन।’

पन्तको विचार अनुसार चल्ने हो भने नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्नु, नेपाली कलाकार अन्य बलिउड, हलिउड जाने विषयमा पनि ब्रेक लाग्छ। किनकि कलालाई निश्चित दायरामा खुम्चाउनु भन्नुको अर्थ कलाकार पनि खुम्चनु हो।

कलाकारिताको दायरा कहिले पनि निश्चित हुँदैन। कलाकारहरुले समय, परिवेश अनुसार नयाँ नयाँ ढंगलाई अपनाउँदै, आफूलाई ढाल्दै लैजानुपर्छ तबमात्र उसको अस्तित्व रहन्छ। हामी एक्काइसौँ शताब्दीमा पनि १९ औँ शताब्दीको मूल्य मान्यता मात्रै हुनुपर्छ भन्यौँ भने कत्तिको सुहाउला ? हामीले भइरहेको तौर तरिकालाई मात्र अङ्गाल्ने, नयाँ प्रविधि, विधाहरु प्रयोग नै नगर्ने त?

हो, पन्तले भनेजस्तै आफ्ना दर्शक कस्ता छन् भन्ने बुझेर प्रस्तुति दिनुपर्छ। तर दर्शकलाई नयाँ विधा र नयाँ तरिकासँग हँसाउने प्रयत्नलाई ‘यहाँको समाजसँग मिल्दै मिल्दैन’ भनेर ‘कुखुराको चल्लाले प्याच्च गर्दा’ भनेर तर्क गर्न कति युक्तिसम्मत छ ?

आफ्नो भनाइलाई ढाक्न उनले लगाएको तर्क हाँस्यास्पद छ, ‘हाम्रो समाजले यो कुरालाई त्यत्ति बुझ्दैनन्, मैले त बुझिन ! कमेडीको सेटमा फिलोसफी भयो। तिमीले प्रस्तुति त देखायौँ तर हाँसो उठेन। कोही हाँसे त यहाँ ?’

आफूले  नबुझेको भएर अरु कसैले बुझेनन् भन्नु ठीक हो कि बेठीक पन्त आफैँले सोच्लान् । तर एउटा निर्णायकको कुर्सीमा बसेर हाँस्यव्यंग्यकै खिल्ली उडाएको उनलाई पटक्कै सुहाएको छैन। त्यसमाथि उनको अगाडि अग्रज हाँस्यव्यंग्यको ट्याग लागेको छ।

हो सबै कुराको ज्ञान सबैलाई हुँदैन, तर रियालिटी शोको सेड्युल पन्तलाई पक्कै थाहा थियो होला। प्रतिस्पर्धीहरुले कुन विधामा प्रस्तुति दिँदैछन् त्यसको बारेमा थोरै ज्ञान लिएको भए उनले अभिव्यक्ति पक्कै दिने थिएनन होला। किनकि सिक्न कहिले पनि ढिला हुँदैन।

समय परिस्थिति बदलिएसँगै सबैले आफूलाई ‘अपग्रेड’ गर्दै लैजानु सामान्य प्रक्रिया हो।

बिक्की अग्रवाल – सिक्किमबाट नेपालका कमेडी च्याम्पियनमै सहभागी हुनका लागि आएका उनले कमेडी च्याम्पियनको अरु अन्यायमा पनि कमेडीका अन्यको प्रयोग गरेका छन्। उनमा हाँस्यव्यग्य सम्बन्धी ज्ञान नभएको भए सेमिफाइनसम्मको यात्रा उनले तय गर्न सक्दैनथे होला। यो सिजनको फिजिकल अडिसनमा १८० प्रतिस्पर्धिमध्येमा कमेडी च्याम्पियन सिजन २ को ‘गोल्डन कि विनर’ उनी हुने थिएनन्।

के हो पेन्टोमाइम ?

‘पेन्टोमाइम’ बेलायतबाट शुरु भएको सांगीतिक हाँस्यव्यंगको एउटा विधा हो। यसको शुरुवात १६ औँ शताब्दीमा भएको पाइन्छ। प्रस्तोताले बोलेर भन्दा अनुहार, हात र पूरा शरीरको हाउभाउ प्रस्तुत गरेर देखाइने यो विद्या पारिवारिक मनोरञ्जनको प्रायोजनको लागि बनेको थियो ।

पछि क्रिसमस र नयाँ वर्षको अवशरको समयमा देखाइने यो विद्याले पछिल्लो समय बेलायत लगायत अरु देशमा पनि प्रयोग हुन थालेको छ।

भदौ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्